बागलुङ, १७ असार– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत जेठ २ गते दुर्घटनामा ज्यान गुमाएका बागलुङ नगरपालिका वडा नम्बर १ रुद्रेपिपलका आशिष खत्रीको परिवारलाई अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘गो फण्डले’ आर्थिक सहयोग गरेको छ । संस्थाले उनको परिवारलाई १५ लाख १२ हजार १२५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । अमेरिकालगायत बिभिन्न देशमा रहेका नेपालीहरुले स्वस्फुर्त रुपमा उक्त कोषमा जम्मा गरेको रकम बागलुङ नगरपालिकामार्फत खत्रीको परिवारलाई हस्तान्तरण गरिएको छ ।
बागलुङ समाज अमेरिकाले ‘गो फण्ड’ नामक संस्थाको स्थापना गरेर सहयोग रकम संकलन गरेको थियो । बुधबार रुद्रेपिपलस्थित खत्री निवासमा पुगेर बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उक्त रकमको चेक परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए । आशिषका बुबा रामबहादुर खत्री र परिवारका अन्य सदस्यहरु समेतको उपस्थितीमा चेक हस्तान्तरण गरिएको थियो । यसअघि पनि अमेरिकामा रहेका रामरेखाबासी तथा अन्य संघ संस्थाहरुले समेत खत्री परिवारलाई आर्थिक सहयोग गरेका थिए ।





