बागलुङ, १८ असार– जिल्लाको गलकोट नगरपालिकाले बिहिबार आगामी आर्थिक बर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गरेको छ । सातौं नगरसभाको दोस्रो बैठकमा उप–प्रमुख रेणुका काउचाले ६२ करोड ४६ लाख ८१ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
जिल्लाका अन्य स्थानीय तहले असार १० गतेनै बजेट सार्वजनिक गरेको भएपनि गलकोट र तमानखोला गाउँपालिकाको बजेट आउन बाँकी थियो । कोरोना भाईरसको नियन्त्रण तथा रोकथाम, कृषिमा आधुनिकीकरण, शैक्षिक सुधार र आयआर्जनसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राखेको बजेटले गलकोटको फोहोर व्यवस्थापन र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै बजेटको व्यवस्था गरेको छ ।
संघ र प्रदेश सरकारका बिभिन्न शिर्षकका अनुदानमा आधारित बजेटमा आन्तरिक स्रोत ३ करोड ८० लाख रुपैयाँ परिचालन हुने उल्लेख छ । चालु आर्थिक बर्षका कार्यक्रमहरुलाई निरन्तरता दिएको बजेटले कोरोना भाइरस (कोभिड–१९) सँग जोडिएर स्वास्थ्य संस्थाहरुको पूर्वाधार तथा क्षमता विकासमा जोड दिएको छ ।





