आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

यो बिरासत प्रधानमन्त्री ओलीको हो

यो बिरासत प्रधानमन्त्री ओलीको हो


  • दुर्गा भण्डारी
  • असार १८ २०७७, बिहिबार

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै उहाँबिरुद्ध षडन्त्र शुरु भएको हो । नेकपाभित्रका भूतपूर्व प्रधानमन्त्री क्लबका सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल प्रम हुन लालायित बामदेव गौतम र नारायणकाजी श्रेष्ठहरु यो बेला प्रधानमन्त्री हटाउने अभियानमा खुलेर लागेका छन् । यति बेलामा प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको भारतको गोटी बन्नु हो । बिना कुनै कारण सत्ताको लालसाले प्रधानमन्त्रीको राजीनामा माग गरिएको कुरा आम नेकपाका नेता, कार्यकर्ता मतदाताले बुझिसकेका छन् । भूपू प्रम क्लवका सदस्यहरुले कहिल्यै धर्यता देखाएन । प्रधानमन्त्री बनेको भोलिपल्टबाटै षडयन्त्र गर्न थालेका हुन् । पार्टीभित्रै गुट चलाएर बसेका यी नेताहरुको, प्रधानमन्त्री केपी ओलीलाई हटाएर आफु प्रधानमन्त्री बन्ने एक मात्रै स्वार्थ हो । सरकारले राम्रो काम गरेन भनेर नियोजित रुपमा हल्ला मात्रै चलाईएको हो । त्यस्ता समाचारमा कुनै सत्यता देखिदैन न त कुनै तथ्य सरकारको काम कारवाहीसंग मेल नै खान्छ । यसरी आफ्नै सरकारबिरद्ध बदनाम गराउने षडयन्त्र गरिएको छ केवल सत्ता प्राप्तीका लागि । फरक फरक पार्टी हुँदा त यसलाई स्वभाबिक मान्न सकिन्थ्यो होला । तर एउटै पार्टीभित्र बसेर घर प्वाल पार्ने मुसा प्रबृत्ति अपनाएका छन् । नेतृत्वको यस्तो हर्कत कतापी क्षम्य हुन सक्दैन । अन्तत ः यसको परिणाम भोग्नै पर्छ यी नेताहरुले भविश्यमा । बर्तमान प्रधानमन्त्रीलाई अपमानित गर्ने खेल खेल्ने झुण्डलाई (केहि हनुमानबाहेक) आम नेता कार्यकर्ता र मतदाताले माफी दिने छैनन् ।
अघिल्लोपटक २०७२ साल असोज २५ गते प्रधानमन्त्री बन्नु हुँदा केपी शर्मा ओली मुलुकका लागि दुरगामी महत्वको काम गर्नुभएको थियो । भारतको नाकाबन्दीबिरुद्ध डटेर सामाना गर्नुभयो । भारतसंग झुक्दै नझुकी नेपालको शिर उचो राख्नु भयो । नाकाबन्दी पनि बिनाकारण एकाएक खुल्ला भयो । त्यो बेलामा उहाँबाट बर्षौ बर्षदेखि रहदै आएको परनिर्भरता तोड्ने काम भयो । जस्ले दुरगामी महत्व राख्छ । अहिले सम्म प्रधानमन्त्रीको हैसियतमा कसैले पनि मुलुकको हितमा गर्न नसकेको काम प्रधानमन्त्री ओलीले गर्नुभएको छ । केपी शर्मा ओलीजस्तो ब्यक्ति प्रधानमन्त्रीको रुपमा यो देशले आगामी दिनमा पनि सम्भवत पाउने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको बिगत र बर्तमान नियाल्दा स्पष्ट छ । उहाँमा सत्ताको कुनै मोह लोभ लाससा छैन । केवल आगामी पिढीका लागि भबिश्य दुख नहोस भनेर मुलुकको समृद्धि र सुखी नेपाली बनाउने मात्रै लालसा छ उहाँमा । अघिल्लो पटक पनि प्रधानमन्त्री हुदा केपी शर्मा ओलीको लोकप्रियता बढेको थियो । सुबिधाजनक बहुमत प्राप्त गर्न नसकेको कारणले सरकार ढालियो । त्यहि लोप्रियताको बलमा प्रधानमन्त्री ओलीले २०७४ सालको चुनाव हाक्नुभयो र अभूतपूर्व सफलता हासिल भयो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जनताले ५ बर्ष सरकार चलाउने जिम्मेवारी दिएका छन् । यो जिम्मेवारी कसैले बिचैमा खोस्न पाउने छैन । यो सरकारको ५ बर्षे कार्यकाल सुचारु गर्न नेपाली मतदाताले केपी ओलीलाई जिम्मेवारी सुम्पेका हुन् । यो बिरासत केपी ओलीको हो । केपी ओलीले आफ्नै बलबुता र नेतृत्वमा यो सफलता हासिल गरेकोे हो । यदि तत्कालिन एमालेले केपी ओलीको नेतृत्व नपाएको भए उहि मिलिजुली सरकार, उहि नौ महिने कार्यकालमा चित्त बुझाउनु पर्ने अवस्था हुने थियो ।
६ वटै प्रदेश सरकारहरु नेकपाका छन् ओलीकै बलबुतामा बनेका हुन् । केपी ओलीले मुलुकमा राजनैतिक स्थिरता कायम गर्न खोज्नु भएको प्रयासलाई नेकपाकै पटके प्रधामन्त्री बनिसकेकाहरुले देखिसहेनन् । दुईपटक या एक÷एकपटक प्रधानमन्त्री बनिसकेका नेताहरु फेरी पनि प्रधानमन्त्रीको स्वाद चाख्न तम्तयार छन् । त्यहि भएर षडयन्त्र गरेका छन् यो कुरा कमसेकम नेकपाका बिबेकशिल कार्यकर्ताले बुझ्न जरुरी छ । सरकारको काम र देशप्रतिको मायाले होईन प्रधानमन्त्री बन्न पाइन भन्ने कुण्ठा मात्रै जागेको हो । बिगतमा पनि हेरियो आफ्नो पालामा कुन नेताले के उल्लेख गर्न लायक काम गरे ? कुन औचित्यको आधारमा पुन प्रधानमन्त्री बन्नु पर्ने त्यसको पुष्टी गर्न जरुरी छैन र ? एउटै अनुहार त्यै पनि कसैको कठपुतलीको रुपमा प्रधानमन्त्री हुन खोज्ने प्रबृत्तिलाई मतदाताले पनि रुचाएका छैनन् । नेकपाको सचिवालय र स्थायी समितिमा आम कार्यकर्ताको भोटबाट भन्दा नेताका हनुमान, अबिबेकी र स्वार्थीहरुको केहि झुण्डको बोलबाला बढ्दै गएको छ । जस्ले समाजिक संजाल र संचारमाध्यममा आफु मन्त्री बन्न नपाएको झोंकमा प्रधानमन्त्रीको चर्को बिरोध गर्ने गरेका छन् । सरकारले गरेका राम्रा कामको समेत प्रसंसा गर्न कन्जुस्याई गर्दछन् । मानौ नेकपाको सरकार होईन छैन जस्तै गरी बिरोधै बिरोध गरेको देखिन्छ । उनीहरुको प्रस्तुती हेर्दा लाग्छ उनीहरु प्रतिपक्षी दलका हुन् । नेकपाभित्रैबाट प्रधानमन्त्री र मन्त्रीहरुलाई कहिले के निहुँमा, कहिले के निहुँमा, हुँदै नभएको काण्ड बनाएर नियोजित रुपमा मिडियामार्फत फसाउने खेल खेलिरहेका छन् । जुन हदै सम्मको घृणित कार्य हो । थोरै पनि पार्टी धर्म निर्वाह गरेको देखिदैन ।
उमेरले डाँडो काटेका भूतपूर्व प्रधानमन्त्री क्लवका सदस्यहरुले सरकारको राजिनामा मागको औचित्य पुष्टी गर्न सक्नु पर्छ । उहि पुरानो अनुहार, उहि शैली पटक पटक प्रधानमन्त्री बन्नु पर्ने अवस्था हो भने जनतामा पनि निरास आउँछ । नयाँ पुस्ताले पालो पाउने अवस्था पनि रहदैन । नयाँ पुस्ताका नेताहरुले अब सोच्नु पर्ने अवस्था आयो कि कोहि एक ब्यक्तिलाई पटक पटक प्रधानमन्त्री बनाउन किन भ¥याङ बन्ने । के त्यो आँट गर्न सक्ने युवा नेताहरु नेकपाभित्र छैनन् र ? सरकरले नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो, बजेट प्रस्तुत ग¥यो, सबैभन्दा पहिला बिरोध गर्ने नेकपाकै केहि सांसदहरुले गर्दछन् । आफ्नै सरकारका पालामा हस्ताक्षर गरेको एमसिसि प्रोजेक्ट ल्याएर देश बिकास गर्न पनि दिदैनन् । आफ्नै पार्टीका समकक्षीहरुले बिपक्षीको अगाडी ससदमा प्रधानमन्त्रीको उछित्तो काँढ्छन् । प्रधानमन्त्रीलाई हरेक काम गर्न नदिन शुरु मै तेजोवध गर्ने काम नेकपाभित्र कै अध्यक्ष पुष्प कमल दहाल र बरिष्ठ नेता माधव कुमार नेपालबाट हुन्छ । सत्ताका लागि यति हदै सम्मको डाहा र तिक्तता किन ? के बरिष्ठ नेता माधव नेपाल दुई÷दुई ठाउँबाट हारेर लम्सार परेका बेला कागताली परेर प्रधानमन्त्री बनेका बेलामा, केपी ओलीले नै बचाउ गर्नु भएको होईन र ? त्यो बेलामा पुष्पकमल दहाल प्रचण्डले दिनदिनै माधव नेपाल सरकारबिरुद्ध सडक संर्घष गरेका बेला चट्टानझै उभिएर सरकारको प्रतिरक्षा गर्ने यिनै केपी ओली हैनन र ? कसैको कठपुतली बन्नुको पनि हद हुन्छ । आज उचाल्छन् भोली आफ्नो मतलव पुरा भएपछि पर्छाछन् त्यो बेला उहि पुरानो साथी चाहिदैन र ? अझ भनौ भने अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने खेल भारतीय बिचौलियाहरुको होभन्दा अतिसयोक्ति नहोला । एकपछि अर्को गर्दै श्रृखलाबद्ध रुपमा यो सरकारबाट नेपालको हितमा काम हुँदै आएको छ ।
नेपाल सरकारको कामले भारतलाई नराम्रोसंग झड्का लागेको छ । भारतले, नेपालले यस्तो गर्छ भनेर सोचेको पनि थिएन होला । बिगतमा भारतको निर्देशनमा सरकारहरु चल्ने गर्दर्थे । यो सरकारले प्रधानमन्त्रीको नेतृत्वमा विगत १४६ बर्ष नेपालले भोगचलन गरेको, तर ५८ बर्षदेखि अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको राजनीतिक र प्रशासनिक नक्सा जारी भयो । दोस्रो, नागरिकता सम्बन्धी बिधेयकमा बैवाहिक अंगिकृतले ७ बर्षपछि मात्र नागरिकता पाउन सक्नेलगायतका कानुनी व्यवस्था ग¥यो । यो प्रावधानले बास्तवमा कुन तराईबासी नेपालीको अहित गर्छ र ? सरकार सदन र सडक सबैतिर भारतिय नेपालीहरुको कति धेरै चलपहल बढेको रहेछ भन्ने कुरा उनीहरुको हुंकार र गतिबिधीले पुष्टी गरेको छ । आफ्नै पार्टीभित्रका भारत परस्त नेताहरुले प्रधानमन्त्रीको बिरोध र भारतको दलाली गरिरहेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्नुका पछाडी प्रधानमन्त्रीलाई लगाईएको अरोप पुष्टी गर्नु जरुरी छ । कोहि ब्यक्तिको सनक र स्वार्थका लागि भारतियको इसारामा सरकार परिर्वतनको खेल हुन सक्दैन । नेतृत्वबाटै भएको यस्तो घृणित षडयन्त्रबिरुद्ध बिबेकशिल कार्यकर्ताको कदापी साथ रहनु हुदैन । नेपाल र नेपालीको हितमा सोच्ने हो भने पदका लोभी क्षमताबिहिन र षडयन्त्रकारी कठपुतली नेताहरुको अभिष्ट पुरा हुन दिनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->