बागलुङ, १९ असार– गण्डकी प्रदशेमा सहकारीको फरक पहिचान बनाउन सफल बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबारका लागि डिजिटल प्रणाली शुरु गरेको छ ।
प्रविधिमैत्री सेवा र सदस्यको सुविधाको लागि मोवाइल एप्समार्फत आर्थिक कारोबार गर्न सदस्यलाई सहज हुने बिश्वासका बिहिबारबाट क्युआर कोड सेवा सुरु गरेको हो ।
साकोसको वार्षिक योजना तथा बजेट तर्जुमा गोष्ठीको अवसरमा संचालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पहिलो पटक सहकारीका सचिव जयराम भारी, सदस्य दिपा पौडेल, विष्णुराज पन्त, लेखा समिति सदस्य हरि शर्मालाई क्वुआर कोड वितरण गरेका थिए ।
चेकबुक, र रकम बोकेर हिड्नु पर्ने समस्या अन्त्य गर्न सहकारीले समयको माग अनुसार डिजिटल सेवा सुरु गरेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले बताए । एप्सबाट सबै किसिमको भुक्तानी गर्नका लागि सहज हुने बिश्वास गरिएको छ । साथै, मोबाइल वैकिङमार्फत ब्यालेन्स पठाउन, टेलिफोन, बिजुली तिर्न समेत यो एप्सको मदतले सहज हुने सहकारीका सचिव जयराम भारीले बताए ।
क्यासलेस कारोबारमा प्रोत्साहन गर्ने उदेश्यले संस्थाले निर्माण गरेको ‘क्युआर कोड’ बितरण गर्दै त्यसमार्फत भुक्तानी गर्न सदस्यलाई प्रेरित गर्ने सहकारीको योजना सहकारीका कार्यकारी अधिकृत कवि न्यौपानेले बताए ।





