
बागलुङ, २० असार– करोडौंको संरचना जोखिममा छन् । संस्कृत पाठशालामा पनि जतिबेला पनि पहिरो खस्ने खतरा छ । तल्लो तहमा दर्जनबढी घरमा पनि उत्तिकै जोखिम छ ।
बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेमा रहेको मुक्तिनाथ बेदविद्याश्रम, शालिग्राम संग्राहलय र तिरुपति बालाजीको मन्दिर रहेको स्थानमा खसेको पहिरोले एक अर्ब बढीको लगानी जोखिममा छ, जुनसुकै बेला थप दुर्घटनाको खतरा पनि रहेको छ । डोजर लगाएकै स्थानमा निरन्तर पहिरो खस्दा यहाँको अर्बौको सम्पत्ति जोखिममा परेको हो ।
तिरुपति चोक देखि मालिका जाने सडकको प्रवेशद्वारमै पहिरो खस्दा शालिग्राम संग्राहलय, मुक्तिनाथ बेदविद्याश्रम र तिरुपति बालाजीको मन्दिर समेत जोखिममा परेको हो । पहिरोले एक अर्वबढीको लगानी जोखिममा पारेको स्थानीय चन्द्रकान्त पौडेलले बताए । यो सडकले तिरुपति चोकबाट वडा नं. ५ को कार्यालय सम्म जोड्छ । तर यस अघिनै उक्त वडा सम्म जोड्ने दुइ सडक छन् । बागलुङ नगरपालिकाको चक्रपथले पनि वडा नं. ६ को धारापानी र वडा नं. ५ को मालिका जोडेको छ । उक्त सडक स्तरउन्नतीमा झण्डै एक करोड खर्च भएकोमा चालु बर्ष प्रदेश सरकारको लगानीमा फेरी रणनीतिक सडकको शिर्षक पनि यहीं पारिएको हो । यो सडकमा ४२ करोड बजेट छ । तर डोजर लगाइसकेपछि पर्खाल नबनाइदिएकोले मन्दिर, बिद्यालय र अन्य संरचना जोखिममा परेको बिद्याश्रमका संस्थापक ऋषिप्रपन्नाचार्यले बताए । ‘यहाँको पहिरोले एकअर्व बढीको भौतिक क्षति र मानवीय क्षति पनि निम्तन सक्छ’ उनले भने, ‘अझै संरक्षणको काम थाल्न सके जोगाउन सकिन्छ ।’ रणनीतिक सडक बनाउँदा संग्राहलय, बिद्याश्रम र मन्दिर छेउबाटै डोजर लगाएर खनिएको थियो । गत माघमै सडक खनेपनि पर्खाल भने लगाइएको थिएन । चक्रपथ प्रयोग गरेर माथिल्लो भागबाट सडक निर्माण गरेको भए उक्त क्षति नहुने स्थानीयले बताए ।
‘पहिरोले मन्दिर, बिद्यालय र बस्ती जोखिममा परेको भन्दै पटक पटक ठेकेदार र प्रशासनमा खवर गरेका थियौं, अझै सुनुवाई भएको छैन’ स्थानीय उपभोक्ता जयलाल सापकोटाले भने, ‘केही स्थानमा गाउ“ले मिलेर पर्खाल लगाएकोले माटो बग्न रोकिएको छ । ठेकेदार कंपनी काठमाण्डौ कन्स्ट्रक्सनका साइट इन्चार्ज रबिन चपाईले मजदुर नपाएर समयमा रोकथान गर्न नसकेको बताए । ‘लकडाउनले तीन महिना सम्म मजदुर पाएनौं, अहिले पनि सडकमा काम गर्ने तयारी मुलका मजदुर छैनन्, यहा“का मजदुरले मेसिनरी वालमा काम गर्न सकेका छैनन्’ उनले भने, ‘पहिरो नियन्त्रणका लागि एकलाख खर्चेर पर्खाल लगाउने काम थाल्दैछौं ।’
यो ट्रयाक खोल्दा मालिका पुग्नकालागि मात्रै तीन वटा सडकमा लगानी भैसकेको छ । सडकका लागि खर्चेको रकम भन्दा मर्मत र पहिरो नियन्त्रणमा बढी खर्च हुन्छ । सडक निर्माणको जिम्मा लिएको काठमाण्डौ कन्स्ट्रक्सनले लकडाउनपछि काम रोकेको छ । जोखिमको स्थानमा पर्खाल लगाइदिन पटक पटक भनेर पनि सुनुवाई नभएको बिद्याश्रमकी प्रअ शान्ति ज्ञवालीले बताइन् । यहाँ झण्डै २० जिल्लाका १ सय ५० बटुकले संस्कृत भाषा र व्याकरण सहितको माध्यामिक शिक्षा पढी रहेका छन् ।
सडक बनाउने क्रममा डिपिआर नबनाउने चलनले पनि पूर्वाधारहरु जोखिममा पर्ने गरेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले बताए । ‘कतिपय स्थानमा सडक राम्रै बनेका छन्, बिभागले अपनत्व लिएपछि पनि काम गर्न सजिलो भएको छ’ सडक डिभिजनका प्रमुख रामेश्वर लम्सालले भने, ‘कतिपयमा मापदण्ड पुग्दैन, अनि भएका नाली पनि भत्काएर चौडा पार्नु पर्छ ।’ उक्त सडकपनि डिभिजनको समन्वय अभावमा बनेकोले जोखिम बढेको उनले बताए ।
ग्रामीण सडकहरु ४ देखि ६ मीटरका मात्रै चौडाका ट्रयाक खोलेर बनाइन्छ । आसपासको संरचनाबारे चासो नराखी बजेट बिनियोजन भएपछि जोखिम बढेको स्थानमा मर्मत पनि नहुने गरेको लम्सालले बताए । बिभागले जिम्मा लिएर काम गर्ने सडक भने कम्तिमा ८ देखि १० मीटर चौडा र अन्य असर बारे डिपिआर बनाउने गरेको उनले जानकारी दिए । क्षेत्रीय चक्रपथ भन्दै तिरुपति चोकदेखि मालिका, संसारकोट हु“दै काठेखोलाका अधिकांस वडाबाट सडक निर्माण गरिनेछ । यो सडकलाई गण्डकी प्रदेश सरकारले लगानी गर्नेछ ।





