पर्वत, २० असार– शनिवार बिहान ६ जिल्लाका नयाँ १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या १ हजार ७९ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेका छन् ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको बरेङ गाउँपालिकाका १ जना पुरुष र ढोरपाटन नगरपालिकाका १ जना पुरुष गरी २ जना, म्याग्दीको रघुगंगा गाउँपालिकाका २ जना पुरुष र मङ्गला गाउँपालिकाका १ जना पुरुष गरी ३ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जना पुरुष तथा तनहुँको भिमाद नगरपालिकाका १ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २ जना पुरुषमा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकाका ५ जना पुरुष र २ जना महिला गरी ७ जनामा सङ्क्रमण प्रमाणित भएको छ ।
सम्बन्धित जिल्लाका क्वारेन्टाइनहरुमा बसिरहेका उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको डा. शर्माले बताएका छन् । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रही मृत्यु भएकाहरूको सङ्ख्या ३ पुगेको छ । शनिवार बिहान ५ बजे गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। यसअगाडि स्याङजाका २ पुरुषको मृत्यु भइसकेको छ ।





