बागलुङ, २० असार– बागलुङका दुई सहकारीले एकिकरण प्रक्रिया थालेका छन् । शनिबार अन्तराष्ट्रिय सरकारी दिवसको अवसर पारेर एकता सहकारी संस्था लि. र कार्यक्षेत्रमा महिला साकोसले एकिकरणको प्रक्रिया थाल्ने घोषणा गरेका हुन् ।
शनिबार एक कार्यक्रमका बिच एकिकरण प्रक्रियाको थालनी गर्ने सम्झौता पत्रमा दुई सहकारीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । सञ्चालक समितिका बैठकहरुको निर्णयका आधारमा दुई सहकारी एकैठाउँ भैसकेको भएपनि कानुनी प्रक्रिया पुरा गरेर संयुक्त साधारणसभा गर्नेगरि प्रकृया थालिएको हो ।
एकिकृत सहकारीको नाम एकता सहकारी रहने छ ।
कोभिड–१९ प्रभावका कारण देशको अर्थतन्त्रमा परेको असरको भागिदार सहकारीहरु पनि हुने भएकाले सञ्चालन खर्च कटौती र शेयर सदस्यहरुलाई गोलबद्ध गर्नका लागि सहकारीहरुको एकिकरण थालिएको एकता सहकारीका सचिव महेशचन्द्र प्रधानले बताए । जिल्लामा ठुलो कारोवार गर्ने सहकारीमध्येको एकता र कार्यक्षेत्रमा महिला सहकारीको एकिकरणले सहकारी एकिकरणमा सकारात्मक सन्देश दिएको घोषणा कार्यक्रमका सहभागिले बताए ।

एकिकरण प्रक्रिया घोषणा सभामा बोल्दै एकता सहकारी संस्थाका संरक्षक सल्लाहकार देव बहादुर श्रेष्ठले सहकारीहरुले ल्याएको एकताको सन्देश सकारात्मक भएको बताए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संकटसँग जुध्न तयार हुनुपर्ने अवस्थामा रहेका सहकारी बीचको एकिकरणले थप सशक्त बनाउने बताए ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले एकता र कार्यक्षेत्रमा महिला सहकारीले दिएको सन्देश जिल्लाभरकै सहकारीका लागि अनुशरण योग्य रहेको बताए ।
एकिकरणसँगै सहकारीको शेयर पूँजी ८ करोड ३ लाख ७२ हजार ८ सय पुगेको छ । सहकारीको कुल सम्पत्ति ३८ करोड ७१ लाख ३८ हजार ५ सय ६३ पुगेको सहकारीका प्रबन्धक दिपक राजभण्डारीले बताए ।
एकता सहकारीका अध्यक्ष ध्रुवप्रसाद शर्मा र कार्यक्षेत्रमा महिला साकोसका अध्यक्ष प्रमिला राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महेशचन्द्र प्रधान र सञ्चालन शान्ति ज्ञवालीले गरेका थिए ।





