बागलुङ (बुर्तिवाङ), २० असार– बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ का १ सय १३ जना युवालाई गाउँपालिकाले रोजागारी दिएको छ । बेरोजगार युवाहरुलाई कम्तिमा एक बर्षमा एक सय दिन रोजगारी दिने सरकारको नीति अनुसार युवाहरुलाई रोजगारी दिईएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत स्थानीय पूर्वाधार निर्माणका काममा युवाहरु परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । बेरोजगारको सूचीमा रहेका युवाहरुमध्ये पहिरो चरणमा १ सय १३ जनालाई काम दिईएको वडा अध्यक्ष हर्कमान घर्तिले बताए ।
लासाखुदेखि सम्पु र गम्पुसम्म पुग्ने गोरेटो बाटो निर्माण गरेर युवाहरु रोजगारीमा जोडिएका हुन् । गोरेटो बाटो रहेको बस्तीमा जाने सडक बर्षात्को समयमा चिप्लो र जोखिमयुक्त हुने भएकाले बेरोजगार युवाहरुलाई काममा खटाईएको हो । उक्त कामका लागि ४ लाख रुपैयाँ खर्च भएको छ । विपन्न वर्ग, बेरोजगार युवा, महिला, दलित, आदिवासी जनजातिलगायत लक्षित वर्गलाई समावेशिताको आधारमा काममा लगाइएको वडा अध्यक्ष घर्तिले जानकारी दिए ।





