बागलुङ, २१ असार– बागलुङका होटल व्यवसायीहरुले कोरोना भाईरसका कारण भैरहेको लकडाउनले व्यवसायमा परेको प्रभाव मुल्यांकन गरि राहतका कार्यक्रम ल्याउन माग गरेका छन् । लकडाउनका कारण सबैभन्दा बढी होटल व्यवसाय प्रभावित भएको भन्दै उनीहरुले तत्काल राहतका कार्यक्रम ल्याउन माग गरेका हुन् ।
लकडाउनले व्यवसायीहरु समेत पलायन हुँदै गएको स्थितिमा व्यवसायीहरुले संक्रमणकाल सम्मको कर तथा राजस्व छुटसहितका राहतको माग गरेका हुन् । आईतबार प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले सरकारले आफ्ना समस्या नदेखेको उल्लेख गरेका छन् ।
देशभर रहेका ८० हजार होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुलाई धरासायी हुनबाट बचाउन पटक पटक अग्रह गरेपनि सरकारले बेवास्ता गरेको होटल व्यवसायी महासंघ नेपालको आरोप छ । घरभाडा छुट, कर्जामा व्याजको छुट, ऋण भुक्तानी अबधि थप, होटल क्वारेन्टाईन प्रयोग गर्न पाउने व्यवस्था लगायतका १४ बुँदे मागसहितको ज्ञापन पत्र व्यवसायीहरुले प्रशासनलाई बुझाएका छन् । उनीहरुले अरु व्यवसाय जस्तो संक्रमण सकिएपछि तत्काल सञ्चालनमा आउन सक्ने व्यवसाय होटल नभएकाले छुट्टै खालको राहतको अवश्यक हुने समेत ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
होटल व्यवयासायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले सरकारले नयाँ आर्थिक बर्षको नीति कार्यक्रम र बजेटले समेत आफ्ना मागहरु सम्बोधन नगरेकाले व्यवसायीहरु समस्यामा परेको बताए । बागलुङ होटल तथा रेष्टुँरेण्ट व्यवसायी संघको नेतृत्वमा ज्ञापनपत्र बुझाउन पुगेको प्रतिनिधि समुहलाई प्रमुख जिल्ला अधिकारीले उपल्लो निकायमा खवर पठाउने आश्वासन दिए ।
बागलुङका होटल व्यवसायी सञ्जय श्रेष्ठले व्यवसायीले तिर्ने कर र कर्जाको व्याज भुक्तानीमा सबैभन्दा ठुलो समस्या रहेको बताए । व्यवसाय सञ्चालनका लागि गरिएको लगानी डुव्ने अवस्थामा रहेको भन्दै उनले अरु व्यवसायको जस्तो जिन्सी बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत होटल व्यवसायमा नहुने उनको भनाई थियो ।





