बागलुङ, २१ असार– एक बर्षभित्रै सुबिधा सम्पन्न बसपार्क निर्माण गर्ने भन्दै नगरबिकास कोषसँग डेढ बर्ष पहिला ऋण सम्झौता गरेर प्रकृया थालेको बागलुङ नगरपालिकाले बसपार्क निर्माणको लागि पुनः म्याद थप गरेको छ । पछिल्लो पटक थपिएको छ महिनाको म्याद सकिएको दुई महिनापछि शुक्रबार बसेको कार्यपालिकाको बैठकले थप ६ महिनाका लागि म्याद थपको हो ।
गत मंसिरमा काम सक्नेगरी निर्माणको जिम्मेबारी पाएको निर्माण कम्पनीले समयमा काम नसकेका कारण २०७७ बैशाख १५ गते सम्मका लागि पछिल्लो पटक म्याद थप भएको थियो । लकडाउन लगायतका कारण देखाएर निर्माणको काम नसकेपछि पुनः आगामी कार्तिक सम्मको लागि म्याद थप भएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
जग्गा खरिद गरेको १६ वर्षसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम दुई वर्षअघि मात्रै सुरु भएको थियो । सुरु भएको एक बर्षमै सर्वसाधारणका लागि सुविधा सम्पन्न बसपार्क दिने नगरपालिकाले प्रतिबद्धता जनाएको थियो । वडा नं. ४ उपल्लाचौरमा निर्माणाधिन बसपार्क तोकिएको समयमा नबनेपछि गत भदौमा बागलुङ नगरपालिकाले रकम र म्याद थपेर बसपार्क निर्माण थालेको थियो । बसपार्क बनाउन ऋण दिएको नगर विकास कोषले ६ महिना म्याद थपेर बसपार्क बनाउने बाटो खोलिदिएपछि नगरपालिकले ठेकेदार कम्पनीलाई काम गर्न लगाएको हो । थपिएको म्यादमा ठेकेदार कम्पनीले काम सक्ने प्रतिबद्धता जनाएपछि बाँकी रहेका कामहरुले पूर्णता पाउने नगरपालिकाका इञ्जिनियर मनोज शर्माले बताए ।
विस्तृत परियोजना प्रस्तावअनुसार भवन बनाउँदा जमिनको अवस्थाका बिषयमा अध्ययननै नगरी स्टमेट भएको भन्दै यसअघिको म्याद थप्नु पूर्व नगरपालिकाले नै केही समय काम रोकेको थियो । बसपार्क निर्माणका लागि कुल १० करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँको लागत लाग्ने बताइएको छ । बसपार्क निर्माणका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीलाई जिम्मा दिइएको छ ।
बसपार्कका लागि नगर विकास कोषले ९ करोड ४ लाख ३९ हजार दुई सय ९० रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट ७५ लाख ३६ हजार छ सय सात रुपैयाँ ऋण तथा नगरपालिकाको समपूरक कोषवापतको रकम २५ लाख १२ हजार २ सय २ रुपैयाँ हुने गरी सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
केएफडब्लुले १० लाख, नेपाल सरकारले १८ लाख ८९ हजार ७ सय ३० रुपैयाँ उपलव्ध गराउने छ । नगरपालिकाको समपूरक कोषबापतको रकम १३ लाख ९ हजार ६ सय ७० रुपैयाँ हुनेछ । नगरपालिकाले ऋण रकम १० करोड ४ लाख ८८ हजार १ सय रुपैयाँ लिनेछ । अनुदानवापत ४१ लाख ९९ हजार ४ सय रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
निर्माणाधिन बसपार्क धौलागिरिकै आधुनिक र सुविधा सम्पन्न हुनेछ । बसपार्कसँगै टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायतको संरचना निर्माणको चरणमा छन् । संरचनाहरुमध्ये भवनको रंगरोगन तथा बाहिरी संरचना निर्माण र पार्क व्यवस्थापनको काम बाँकी रहेको शर्माले बताए । ‘भौतिक प्रगति ७० प्रतिशत भएको छ, बाँकी थपिएको समयमा काम सकिनेमा विश्वस्त छौं’ शर्माले भने ‘आर्थिक बर्ष अन्त्यको समय भएकाले बित्तिय प्रगतिको नतिजा आउने चरणमा रहेको छ ।’
आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ । पछिल्लो समय सवारी साधनको संख्या बढ्दै गएपछि पार्किङ साँघुरो भएको छ । जीप व्यवसायीले भने बानपा–२ मा भाडामा जग्गा लिएर सवारी पार्क गर्दै आएका छन् ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदैं आएको थियो । बसपार्क निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराएका जग्गाधनीलाई समेत नगरपालिकाले सम्झौता अनुसारका संरचना निर्माण गरेर एकिकृत गरेको जग्गा फिर्ता दिन सकेको छैन । बसपार्कका लागि साढे १७ रोपनी जग्गा पर्याप्त भए पनि ५९ रोपनी जग्गा एकिकृत गरेर बाँकी जग्गा दातालाई दिने सहमति थियो ।





