सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रधानमन्त्री रोजगार कार्यक्रम : सडकमा लगानी

प्रधानमन्त्री रोजगार कार्यक्रम : सडकमा लगानी


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७७, बिहिबार

बागलुङ, २५ असार– प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाले सूचिकृत ३ सय १ जना बेरोजगार युवालाई रोजगार दिएको छ ।
अस्थायी रुपमा दिइएको रोजगार कार्यक्रममार्फत ५ देखि २० दिनसम्मको रोजगारी पाएका हुन् । वडा वडामा आवस्यकता महसुस गरिएका बिकास निर्माणको काममा सूचिकृत बेरोजगारलाई रोजगारी दिइएको रोजगार अधिकृत सबिता शर्माले बताइन् । अधिकांस वडामा सडक तथा पैदलबाटो निर्माणमा लगाइएको छ ।
नगरपालिकाको वडा नं. १ मा बालबिकास स्कुलदेखि गणेशस्थान घुम्ती सम्मको गोरेटो बाटो निर्माण भएको छ । त्यसका लागि ३४ जनाले ९ दिनसम्म काम गरेका थिए । वडा नं. २ मा शेराडिलदेखि सतिढुंगाहुँदै निरहे जाने पैदलबाटो निर्माण गरेका छन् । उक्त बाटो निर्माणमा १७ जनाले १६ दिनसम्म काम गरेका थिए ।
वडा नं. ३ मा १६ जना युवाले ११ दिनसम्मको काम गरेर रात्माटादेखि तातोपानी मुलपानी सम्मको सडक स्तरोन्नती गरेका छन् । वडा नं. ४ मा ३२ युवाले १० दिन काम गरेर दारेगौंडादेखि ढोडेनी पैदलमार्ग निर्माण गरेका छन् । वडा नं. ५ ले ग्रामीण सडक निर्माण गरेको छ भने वडा नं. ६ ले खानेपानी आयोजनाको मर्मत गरेको छ । वडा नं. ५ मा १६ जनाले २० दिन र वडा नं. ६ मा ६६ जनाले ५ दिन काम गरेका थिए ।
वडा नं. ७ ले हर्राचौरदेखि ढिकीचौरसम्मको गोरेटो बाटो निर्माणमा १६ जनाले १५ दिन काम गरेका थिए भने वडा नं. ८ मा ओखलढुंगा वडा कार्यालयदेखि बौडेचौर पैदलमार्ग बिस्तार गरिएको छ । त्यसका लागि १९ जनाले १६ दिनसम्म काम गरेका थिए । वडा नं. ९ ले कार्यक्रम स्विकृत नगरेपछि कुनैपनि काम नभएको बताइएको छ । वडा नं. १० ले भने रिठेखोलादेखि चौतारेडाँडाहुँदै संग्राहलय सम्मको बाटो निर्माण गरेर १५ जना युवालाई १५ दिन रोजगारी दिएको हो ।
वडा नं. ११ ले महाविद्याजन माबि रायडाँडाको पर्खाल र प्रवेशद्वार निर्माण गरेर १५ जनालाई १० दिन रोजगारी दिइएको बताइएको छ । वडा नं. १२ ले कालीगण्डकी दुग्ध उत्पादक सहकारी टाकुरीदेखि डाँडाखेतसम्मको घोडेटो बाटो निर्माण भएको छ । त्यसका लागि २० जनाले १६ दिन काम गरेका थिए ।
वडा नं. १३ ले पानीट्यांकी पैयुँपाटा ससुराली कोसेखर्च पहरे गोरेटो बाटो निर्माण गरिएको छ । यहाँ २१ जनाले १५ दिन काम गरेका थिए । वडा नं. १४ ले बरलुङदेखि करिडोर जोड्ने सडक मर्मत गरेर १४ जनालाई १९ दिन रोजगारी दिएको हो । नगरले सूचिकृत गरेको २ हजार ३ सय ४३ जना बेरोजगारमध्येबाट चालु बर्ष ३ सय १ जनाले रोजगारी पाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कार्यकर्ता पाल्न रकम दुरुपयोग भयो भन्ने टिप्पणी भैरहेको बेला बागलुङमा भने देखिने गरी काम भएको समेत शर्माले जानकारी दिइन् । ती क्रियाकलापको अनुगमन पछि भुक्तानी दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->