सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको सत्ता संघर्षको विवाद लम्बिदै गएको छ । यस्तै बिवाद गएको मंसिर महिनामा पनि उत्पन्न भएको थियो । नेकपाका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री बन्नका लागि गर्नुभएको सत्ता हत्याउने प्रयास असफल भएको थियो त्यो बेला । त्यसपछि मंसिर ४ गते पार्टीको सचिवालय बैठकले पाँच बर्षका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष चलाउन केपी शर्मा ओली र पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने निर्णय भएको थियो । आफुले गरेको निर्णयबिपरित गएर अहिले नेताहरुले पार्टी र सरकारलाई धरापमा पार्ने काम गरेका छन् । बहुमतको नाममा नेकपाका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाउन ‘कु’ गरिरहेका छन् । नेताले खल्तीबाट आएका स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा गर्न माग गरेका छन् । जुन बिषय स्थायी समिति बैठकको एजेण्डा नै थिएन । जब की पार्टीलाई दुईतिहाई बहुमत प्राप्त दलको हैसियतमा पु¥याउने काम उनै ओलीबाट भएको घामजस्तै छर्लङ छ । अहिले प्रधानमन्त्रीको राजिनामा माग्नु भनेको कुनै सैद्धान्तिक मतभेद र सरकारको कार्यक्षमता खराब भएर होईन केवल आफु प्रधानमन्त्री हुने रहरले मात्रै हो । सरकारले राष्ट्रियताका पक्षमा गरेका कामहरुलाई आगामी आम निर्वाचनमा लैजाने प्रसस्तै एजेण्डा हुन्थ्यो । तर नेकपाका नेताहरुमा दिर्घकालिन सोच देखिएन । सरकारले राष्ट्रियताका सवालमा गरेका कामहरुमा अहिले जो कोहीले पनि भन्न सक्छ यो बेलामा सरकार गिराउने खेल आफ्नै पार्टीबाट खेल्नु भनेको चरम भारतिय हस्तक्षेप हो । यो हस्तक्षेप नेकपाका कार्यकर्ताले सहन सक्दैनन् । भारतिय हस्तक्षेपबिरुद्ध नेकपाका कार्यकर्ता मोर्चाबन्दी गर्नेछन् । अब नेकपाका कार्यकर्ताले कोहि भारतिय दलाललाई नेताको रुपमा स्विकार्नु पर्ने आवश्यक्ता छैन । बास्तवमा अहिले यो अवस्थामा सरकारबिरुद्ध षडयन्त्र गर्ने नेताहरुलाई कत्ति पनि अफ्ठेरो महसुस किन नभएको होला ? भारतले नेपाली भूमिमा दिनैपिच्छे अतिक्रमण गरेको ग¥यौ छ । तर पनि कोहि नेताले बोल्ने आँट गर्दैनन् उल्टै नक्सा जारी गरेबापत र नागरिकता बिधेयक ल्याएबापत यो खेल खेलिएको छ ।
शुरुदेखिनै सरकारको कार्यक्षमतामिथी प्रश्न उठाउने र आफ्नै सरकारको बद्नाम गर्ने प्रयास गर्दै आएको बिभिन्न घटनाक्रमहरुले देखाउँछ । नेकपाका कार्यकारीलगायतका नेताहरुले सरकारलाई बद्नाम गराउन नियोजित रुपमै मिडियामा काल्पनिक घटना जोडेर प्रोपोगाण्डा फैलाउने सम्मका काम गरेको देखिएको छ । समाचारमा आएका बिषयबस्तुलाई आधार मानेर छरपष्ट रुपमा नेकपाका केहि नेताले आफ्नो सत्तास्वार्थ पुर्ति गर्न, कार्यकर्तालाई भड्काउने र गुटबन्दी गर्ने कामसमेत गर्दै आएका छन् । त्यसको ज्वलन्त उदाहारण बैठकस्थल छोडेर नेताको घर घरमा ब्यक्तिपिच्छेका बैठक संचालन गर्नु, कहिले खुमलटारमा, कहिले भैसेपाटी, कहिले कोटेश्वर र डल्लुमा बैठक संचालन गरेको देखिएको छ । पार्टी एकता पुरा गरेर एकताको महाधिबेशन नहुन्जेल दुई अध्यक्षले सहमति र सहकार्यका आधारमा पार्टी संचालन गर्ने भनिएको थियो । तर अहिले पार्टी एकतालाई टुङगोमा नपु¥याउँदै, सत्ताको भोकका कारण स्वार्थसंग जोडेर भाँड्ने प्रयास गरेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बिषम परिस्थीतिमा पनि कोरोना नियन्त्रणमा गरेको प्रयासलाई अन्तराष्ट्रिय समुदायले समेत उत्कृष्ट भनिरहेका बेला आफ्नै पार्टीका केहि नेताहरुले सरकारको कार्यक्षमता नराम्रो खराब भयो भनेर नराम्रो कामको सबै दोष प्रधानमन्त्रीलाई लगाउँदै आएको छन् । पार्टीको कार्यकारी अध्यक्ष भएपछि पार्टीलाई क्रियाशिल बनाउने, कोरोना नियन्त्रणबारे जनचेतना जगाउने काममा कार्यकर्तालाई सक्रिय बनाउने मौका प्रसस्तै थियो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग । तर उहाँले पार्टीभित्र रचनात्मक काम गर्न छोडेर कार्यकर्तालाई तलदेखि माथिसम्म कित्ताकाट गर्ने काम गर्नुभयो । कोठे बैठक र प्रधानमन्त्री ओलीबिरुद्धको सडयन्त्रमा नै तल्लीन हुनुभयो उहाँ । आफुले लगानी गरेका मिडियामा सरकारबिरुद्ध गलत अफवाहहरु फैलाउने काममा लाग्नुभयो । पूर्वमाओवादी कार्यकर्ताको मात्रै नेतृत्व गर्नुभयो र प्रधानमन्त्रीबिरुद्ध मिडिया र सामाजिक संजालमा जथाभावी लेखाउनुभयो । यी गलत कामको जिम्मेवारी उहाँले पनि लिनुपर्छ ।
नेकपा अध्यक्ष दाहालको जस्तो चरित्रले आम कार्यकर्तालाई नेतृत्व लिन सक्दैन । उहाँलाई अझैं पनि लाग्दोहोला म माओवादी केन्द्रको मात्रै अध्यक्ष हुम् । २०७२ साल असोजमा बनेको एमाले नेतृत्वको सरकार लोकप्रिय बन्दै गएको थियो । तर आफु प्रधानमन्त्री हुनका लागि नेपाली कांग्रेससंग सहकार्य गरेर ९ महिना नपुग्दै एमालेको सरकार ढालेर अस्थिरता निम्त्याउने काम गरियो । अहिले फेरी रडाको मच्चाउने काम भएको छ । यसरी प्रधानमन्त्रीलाई पटक पटक हटाउने षडयन्त्र सार्वजनिक हुनु भनेको अन्तत ः देश अस्थिरतातर्फ धकेल्नु नै हो । यस्तो कार्यले मुलुकभित्रको कुनै पनि संयन्त्रले ठिक ढंगले काम गर्न नसक्ने अवस्था आउँछ । सरकार जहिले पनि प्रतिरक्षाकै अवस्थामा रहनुपर्ने भएको छ । नेताहरु बिच भएको अति गोप्य बार्ताहरु आफु अनुकुल हुनेगरि सार्वजनिक गर्ने र एक नेताबिरुद्ध अर्को नेतालाई प्रयोग गर्ने यसरी जुधाएर खाने प्रबृति कहिनेसम्म चल्छ ? पूर्व माओवादी केन्द्रभित्रका सबै नेताहरुलाई फालेर आफु मात्रै नेता हुने र डाडुपन्यौ सबै आफ्नो हातमा लिएजस्तो सजिलो पनि छैन । नेकपाभित्रको बिवाद दिर्घकालिन रुपमा समाधान गर्ने र पार्टीको भबिश्य राम्रो बनाउने हो भने नेताहरुले यसपटकका लागि लोभलालच त्याग्नु पर्छ । अहिलेका लागि नेकपाभित्र नेपाल–प्रचण्ड गुटको शक्ति ठूलो देखिए पनि पार्टीभित्र र बाहिर बलियो जनआधार केपी ओलीकै पक्षमा छ । नेताहरु बिचको तुस समाप्त पार्न छिट्टै पार्टीको महाधिबेशनमा जाँदा राम्रो हुनेछ । बिनाकारण, जबरजस्ती अध्यक्ष र प्रधानमन्त्री पद छोड्नु पर्छ भन्नु पार्टीलाई दुर्घटनातर्फ लैजाने बाटो हो । निर्वाचित नभएका स्थायी समिति सदस्यहरुको आड लिएर बढीमा सय जति नेता कार्यकर्ताले आठ लाखभन्दा बढी पार्टी सदस्यको भावना र सपनामाथि खेलवाड गर्न पाउँदैनन् । यदि पार्टीलाई सकुशल राख्ने हो भने केहि बर्षपछि ठूलै पार्टीको प्रधानमन्त्री बन्छु भन्ने सोच राख्नु प¥यो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएदेखि नै पार्टीभित्रबाटै केहि नेताहरुको झुण्डले सुनियोजित रुपमा बिभिन्न काण्डहरु रच्दै बदनाम गराउँदै आएका छन् । अहिले पनि नेकपाका केहि चालवाज नेताहरु जो आ–आफ्नै ब्यक्तिगत स्वार्थमा लिप्त छन् । उनीहरुबीच एकअर्कामा बोली र ब्यवहारमा बिश्वास पनि छैन । कसैको प्रधानमन्त्री बन्ने स्वार्थ, कसैको मन्त्री बन्ने, कसैको केन्द्रिय राजनीतिमा हाबी हुने, कोहीको क्षेत्रिय राजनीति त कसैको स्थानीय, शंकै शंका छ । नेताहरुले पार्टीभित्रको दुई बराबर एकको शक्ती सन्तुलनलाई नजरअन्दाज गर्ने काम गर्नु हुँदैन । मिलाउने बहानामा एक पक्षिय रुपमा पेल्ने काम भयोभने आम कार्यकर्ता र जनताले देखाईदिनेछन् । त्यो बेलामा नेकपा पर्वत भईसेको पार्टी पुन ः मुसिका भव भन्ने कथाजस्तो नहोला । त्यसकारण पार्टीका नेता कार्यकर्ताहरुमा मुद्दाको आधारमा राम्रो र नराम्रो कामको मुल्याङन गर्ने गरौं । स्वार्थ र पदको क्षणिक खेल त्यागेर दिर्घकालिन एजेन्डा बनाएर जनताको पक्षमा काम गर्न वातावरण बनाऔं । सरकारले गरेका राम्रा कामहरुको अपनत्व लिदै सरकारलाई अझैं राम्रो गर्न रचनात्मक सहयोग गर्ने हो भने भबिश्यमा पनि सरकार चलाउन सकिन्छ । ‘तात्त–तात्तै खाउ’ भन्ने गरियो भने जलेर मर्न सकिन्छ । जुन दुर्घटनाको जिम्मा दाहाल– नेपाल पक्षले लिनुपर्ने हुन्छ । भोली जनतामा जाँदा पनि कुन मुख र कुन एजेण्डा लिएर जाने बेलैमा सोच्नु प¥यो ।





