बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिशुहरूलाई खोप किन आवस्यक छ ?

शिशुहरूलाई खोप किन आवस्यक छ ?


  • कृष्ण कुमार सैजु
  • असार २६ २०७७, शुक्रबार

बिभिन्न कालखण्ड र घटनाक्रमलाई हेर्ने हो भने खोपको खोज र बिकास हुनुभन्दा पहिले संसार निकै खतरनाक, भयाभह र अति असुरक्षित थियो । त्यसबेला अनेकौं रोगले लाखौं लाख मान्छेहरूको मृत्यु हुने गरेको तथ्यांकहरू प्रशस्तै भेटिन्छ ।
खोप चिकित्सा विज्ञानको एक प्रभावकारी उपलब्धी हो । भविष्यमा लाग्न सक्ने कुनैपनि किसिमको संभावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले हामीलाई भविष्यमा हुनसक्ने संभावित रोगको खतराबाट सुरक्षित गराउँछ । त्यसैले शारीरिक स्वास्थ्यको आधारभूत अति आवस्यक बिषय हो, खोप ।
खोपले शरीरमा त्यस्तो प्रतिरोधी क्षमताको विकास गर्छ, जसले गर्दा कतिपय संभावित रोग लाग्न सक्दैन । खोप भनेको खासगरी सुईको माध्यामबाट सम्बन्धित रोगका मृत वा कमजोर व्यक्टेरिया मानिसको शरीरमा प्रवेश गराइन्छ । रोग प्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्नश्वेत रक्तकोषलाई सक्रिय पारिन्छ ।
यसरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि सानै उमेरमा खोप दिने गरिन्छ । यसले उनीहरुलाई आजीवन कतिपय रोगबाट बचाउँछ । खासगरी बालबालिकालाई स्वस्थ्य राख्न, अपाङ्गताबाट बचाउन, गंभिर रोग लाग्न नदिन खोपहरुको निर्धारित निश्चित मात्रा पुरा गर्नुपर्छ ।
कसरी सुरु भयो खोप ?
खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे । दशौँ शताब्दीमा चिनियाँहरूले पहिलो पटक एक प्रकारको खोप पत्ता लगाए । ‘भ्यारियोलेसन’ भनिने प्रक्रियाअन्तर्गत स्वस्थ मानिसहरूलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस् ।
आठौं शताब्दीपश्चात ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ‘काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे निकै अध्ययन गरे । बिफर अत्यन्त संक्रामक रोग थियो जसले एक तिहाई बिरामीको ज्यानै लिन्थ्यो । बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर बाँच्नुपथ्र्याे ।
कुन रोगविरुद्ध खोप ?
भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकर, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सफ्लाइटिस, निमोनिया, दादुरा–रुवेला, रोटा भईरसजस्ता रोगबाट बच्न सानै उमेरमा खोप दिइन्छ । यसैगरी १२ महिनामा जापानिज इन्सफ्लाइटिस र १५ महिनामा दादुरा–रुवेलाको दोस्रो डोज पनि दिइन्छ । जबकी खोपको विकास हुनुपूर्व वा खोपको प्रयोगअघि यी रोगबाट कैयौं बालबालिकाको मृत्यु हुन्थ्यो, अंगभंग हुन्थे । बच्चा जन्मिएको एक बर्षभित्र अहिले यी रोगविरुद्ध खोप दिने गरिन्छ । यी खोपबाट संभावित खतरा टार्न सकिन्छ ।
गर्भवतीलाई पनि
गर्भमा रहेको बच्चासँग गर्भवती महिलाको स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले बच्चा गर्भमा रहेकै बेला गर्भवती महिलालाई पनि केही खोप दिइन्छ । गर्भवतीलाई खासगरी धनुष्टांकार र भ्यागुते रोगविरुद्ध खोप दिइन्छ ।
यसकारण आवश्यक छ खोप
बच्चा जन्मिएपछि दम्पतीले खोप लगाउने कुरामा बेवास्ता गर्नुहुँदैन । एक बर्षभित्र विभिन्न रोग विरुद्धको खोप लगाउनुपर्छ । यसरी खोप लगाएपछि के हुन्छ त ?
बच्चा जन्मिएपछि खोप तालिकाअनुसार तोकिको समयमा, तोकिएका सबै खोपहरु लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्नेक्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दार, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबारे जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।
निशुल्क उपलब्ध
यहाँ उल्लेखित खोपहरु लगाउनका लागि कुनै शुल्क तिर्नुपर्दैन । नेपाल सरकारले निशुल्क रुपमा ति खोप उलब्ध गराउँछन् ।
कहाँ लगाउने ?
कुनैपनि खोप लगाउनका लागि आफुलाई पायक पर्ने स्वास्थ्य संस्थामा गए हुन्छ । स्वास्थ्य संस्थाले कतिपय खोप लगाउनुअघि त्यसकोमिति तय गरेको हुन्छ । त्यसैले कुन दिन उक्त खोप लगाइने हो, सोबारे चासो रखी जानकारी लिराख्नुपर्छ । उपयुक्त समयमा नै खोप लगाउनुपर्छ ।
कुन खोप कहिले ?
वि.सि.जी
यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोगविरुद्ध काम गर्छ ।
डि.पि.टी– हेप/बि–हिब
यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बि बाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
पोलियो
पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।
एफआइपीभी
यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखलाबिरुद्ध काम गर्छ ।
पि.सी.भी.
यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस रनिमोनियाबाट बचाउँछ ।
दादुरा–रुबेला
यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
जे.ई
यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।
टी.डी.
यो खोप गर्भवती महिलालाई दिइन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।
के छन् खोपका खतरा ?
जब जनसंख्याको ठूलो हिस्साले खोप प्रयोग गर्छ तब त्यसले रोग फैलन रोकिदिन्छ र प्रतिरोधी क्षमता नभएका वा खोप नलगाएकाहरूलाई समेत जोगाउँछ । यसलाई समुदायगत सुरक्षाकवच वा हर्ड इम्युनिटी भनिन्छ । तर, जब यसो हुन पाउँदैन तब पूरै जनसंख्या खतरामा पर्छ । हर्ड इम्युनिटी हासिल गर्न कति जनसंख्याले खोप लगाएको हुनुपर्छ भन्ने आँकडा रोगैपिच्छे फरक छ । दादुराको लागि यो ९५ प्रतिशत छभने पोलियोको लागि ८० प्रतिशत छ ।
गत वर्ष अमेरिकाको ब्रुकलिनमा कट्टर यहुदी समुदायले खोप तथा अटिज्मबीच सम्बन्ध रहेको गलत जानकारीसहितका पर्चा बाँडे र धेरैजस्तो यहुदीहरूले खोप लगाउन नकारे अहिले सोही समुदाय अमेरिकामा १ दशकभित्रकै सबैभन्दा ठूलो दादुराको प्रकोपको फैलिएको केन्द्रको रूपमा छ ।
इङ्ल्यान्डका सबैभन्दा वरिष्ठ चिकित्सकले सामाजिक सञ्जालमा व्याप्त रहेको खोपको गलत सूचनाले धेरै मानिस मूर्ख बनिरहेको भन्दै गतवर्ष चेतावनी दिएका थिए । डब्लुएचओका अनुसार, केही वर्ष यता विश्वभरि खोप लगाएका बालबालिकाको संख्या ८५ प्रतिशतमा स्थिर रहेको छ । डब्लुएचओले भनेको छ– खोपले हरेक वर्ष संसारभरि २० देखि ३० लाख ज्यान जोगाउँदै आएको छ ।
खोपका विरुद्ध सबैभन्दा ठूलो चुनौती तथा तिनको सबैभन्दा कम प्रयोगदर द्वन्द्व तथा कमजोर स्वास्थ्य उपचार प्रणाली उपलब्ध भएका देशहरूमा छ । ती देशको उदाहरणमा अफगानिस्तान, एंगोला तथा प्रजातान्त्रिक गणतन्त्र कंगो पर्छन् । तर, विकसित मुलुकहरूको हकमा घट्दै गएको गम्भीरतालाई डब्लुएचओले प्रमुख समस्या मानेको छ, अर्थात् मानिसहरूले ती रोगले कति हानि गर्न सक्छन् भन्ने बिर्सन थालेका छन् र खोपप्रति चासो नरहेका कारण डब्लुएचओ चिन्तित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->