बागलुङ, २७ असार– सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आगामी आर्थिक बर्ष २०७७/०७८ १६ वटा सेवा केन्द्रमार्फत शेयर सदस्यमैत्री कारोवार गर्ने लक्षसहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी बर्ष सहकारीले एक्सेस ब्राण्डको मापदण्ड अनुसारको सेवा दिने नीति पनि लिएको छ । यो नीतिले आन्तरिक र बाहिरी रुपमा प्रतिष्पर्धि बन्ने बताइएको छ । ब्राण्डका लागि ८६ वटा सूचक बनाउने र सबल रुपमा पालना गराउने रहेको छ ।
आगामी बर्ष संस्थागत पूँजि र शेयर पूँजिलाई ४० प्रतिशत बृद्धि गर्ने लक्ष राखिएको छ । सहकारीले महंगो व्याज लिन्छन् भन्ने मान्यता हटाउन ११ प्रतिशत व्याजदरमै बिपन्न लक्षित ऋण दिने र केही बर्षभित्रै एक अंकको व्याज मात्र लिने तयारी गरिएको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
संस्थाका सचिव जयराम भारीले सहकारीको नीति कार्यक्रम प्रस्तुत गर्दै आर्थिक बर्षको अन्त्यसम्ममा १४ हजार शेयर सदस्य र कुल सम्पत्ति २ अर्ब ५ करोड पु¥याउने लक्ष राखिएको छ । हाल १ अर्ब ५ करोड सम्पत्ति परिचालनमा रहेको बताइएको छ ।
आगामी बर्ष दशवटै स्थानीय पालिकामा सहकारीको सेवा केन्द्र स्थापना हुने बताइएको छ । त्यस्तै सबै सेवा केन्द्रबाट रेमिट्यान्स कारोवार पनि संचालन गर्ने बताइएको छ । सदस्यको सन्तुष्टी जाँच गर्न हरेक बर्ष १० प्रतिशत शेयर सदस्यको सन्तुष्टी सर्भे गर्ने लक्ष राखिएको छ । हाल सहकारीमा १० हजार शेयर सदस्य संख्या पुगेको छ । दुई दर्जन साना सहकारीहरु मर्ज गर्ने तयारीसमेत सिवाइसीले गरेको छ ।
शनिवारदेखि सहकारीले एटिएम सेवा पनि थालेको छ । एटिएमबाहेक एसएमएस सेवा, क्युआर कोडमार्फत भुक्तानी सेवा पनि यसअघिनै थालिसकेको थियो ।
सहकारीले ऋणको प्रकारलाई बिभाजन गरेको छ । जस अनुसार औद्योगिक ऋण ८ प्रतिशत, व्यपार तथा व्यवसाय ऋण २५ प्रतिशत, कृषि ऋण ३० प्रतिशत, शैक्षिक ऋण ४ प्रतिशत तथा सम्पत्ति खरिद र मर्मत ऋणमा २० प्रतिशत बिनियोजन गरिने बताइएको छ । त्यसबाहेक युवा स्वरोजगार, लघुउद्यम ऋण, कर्मचारी सहुलियत ऋण समेत राखिएको छ । सिवाईसीमा असार मसान्तसम्म २० करोड शेयर पूँजि रहेकोमा आगामी बर्ष २४ करोड पु¥याउने लक्षसहित ३ अर्ब ५ करोडको अनुमानित कारोवारको तथ्यांक प्रस्तुत गरिएको थियो ।
नीति तथा कार्यक्रम र एटिएम सेवा उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले नेपाल सरकार सहित प्रदेश सरकार र स्थानीय तहहरुले सहकारीको पूँजि परिचालन गरेर देशको अर्थतन्त्र सबल बनाउने तहमा नसोचेको बताए । बैदेशिक ऋण लिन सक्ने सरकारले आन्तरिक ऋणमा बिश्वास नगर्दा अर्थतन्त्र कमजोर भएको उनको टिप्पणी थियो ।
सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, प्रमुक कार्यकारी अधिकृत कवि न्यौपानेको संचालन र सहसचिव सुबास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक हुमा जिसी, उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, सहकारी संघका जिल्ला अध्यक्ष दिपक गौतम, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, सल्लाहकार देवबहादुर श्रेष्ठ र पार्वती आचार्यले बोलेका थिए ।





