फाईल फोटो
पर्वत, २८ असार– वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड अवरुद्ध भएको छ । जिल्लाको कुस्मा नगरपालिका ८ चुवाको भीरमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए । बाटो अवरुद्ध भएपछि पर्वत, बागलुङ र म्याग्दीका लागि छुटेका सवारीहरू चुवाकै भीरमा रोकिएका छन् भने पोखराका लागि छुटेका सवारीहरू पर्वत सदरमुकाम कुस्मा र चुवामा रोकिएका छन् । आइतबार बिहानै खसेको पहिरो पन्छाएर तत्कालका लागि एकतर्फी रूपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए । पोखरा, पर्वत, बागलुङ र म्याग्दीबाट मुस्ताङ आउजाउ गर्ने सवारीहरू भने शुक्रवार बिहानबाट नै आउजाउ गर्न सकेका छैनन् । म्याग्दीको रघुगंगा नदीले पुल नै बगाएपछि मुस्ताङ जाने बाटो अवरुद्ध नै रहेको छ ।





