आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोरोना भाइरस र ज्येष्ठ नागरिक

कोरोना भाइरस र ज्येष्ठ नागरिक


  • उपमा चापागाँई
  • असार २८ २०७७, आइतबार

गत वर्षको डिसेम्बर अन्त्यमा एउटा अनौठो रोगले विश्वनै आक्रान्त बन्यो । यसको दलदलमा विश्वनै रुमलिएको छ, यतिखेर । यो कोरोना नामको संक्रामक रोगले प्राय : मुलुकहरु पिडीत बने । सबै क्षेत्रहरुमा डामाडोल नै भयो । सामाजिक, आर्थिक, सांस्कृतिक, पारिवारिक र मनोवैज्ञानिक रुपमा सबैलाई पिडीत बनाएको छ । यस्ले नछोएको कुनै पनि क्षेत्र छैन् । बालबालिका, यूवा र पाका सबै विचलित नै छन् । समाजका ज्येष्ठ नागरिक पनि कोरोनाको त्रासबाट अछुतो रहन सकेका छैनन् । कम चर्चा गरिएको यस पाटोमा पनि थोरै मनन् गरौं न त ।
आगोसरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले धेरैको ज्यान नै लिइसकेको छ । डिसेम्बर ३१ देखि हालसम्म यस महामारी रोगले करिब डेड करोडभन्दा बढी संक्रमित भइसकेका छन् । करिब ५ लाख पचास हजारभन्दा बढीको मृत्यृ भएको छ भने करोड हाराहारीमा पूर्ण निको भइसकेका पनि छन्, Worldometer का अनुसार । विश्वभर फैलिरहेको यस महामारीले मानिसहरुलाई शारीरिक रुपले कमजोर त बनायो नै, रोग लागेका र नलागेका दुवैमा मानसिक र मनोवैज्ञानिक समस्याहरु सँगसँगै निम्त्यायो । कोरोना भाइरसको संक्रमणबाट स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म कोही पनि अछुतो छैनन् । विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालका र समाचारमा चीन र इटालीमा निकै दर्दनाक अवस्था देखाइएको थियो । इटालीमा कोरोना भाइरसका कारण बढी मात्रामा ज्येष्ठ नागरिकहरुको मृत्यु भएको कुरा पनि सार्वजनिक भयो । यस समाचारका कारण विश्वभर कोरोना भाइरसले वृद्धवृद्धा, दीर्घरोगी र शारीरिक रुपले कमजोर व्यक्तिलाई छिट्टै संक्रमित बनाउँछ र संक्रमित व्यक्तिको छिटै मृत्यु भइहाल्छ रे भन्ने हल्ला फैलियो । यसै कारण विश्वभरका वृद्धवृद्धा दीर्घरोगी र शारीरिक रुपले कमजोर व्यक्तिहरुमा डर त्रासमा परे । जसका कारण उहाँहरुको मानसिक एवंम् मनोवैज्ञानिक स्वास्थ्यमा निकै ठूलो असर पुगेको छ । त्यसैगरी नेपालमा पनि अहिले कोरोना भाइरसको प्रकोप दिनानुदिन बढिरहेको अवस्थामा यस्तो समस्याले निकै जरा गाडीरहने सम्भावना छ ।
विश्वका विकासोन्मुख देशहरु हाइटी, होन्डुरसजस्तै नेपालको अर्थतन्त्र पनि वैदेशिक रोजगारबाट भित्रिने रेमिटेन्समा भर पर्दछ । नेपाल राष्ट्र बैँकको प्रतिवेदन अनुसार नेपालले आर्थिक वर्ष २०१८÷१९ मा करिब ७.८ विलियन अमेरिकी डलर रेमिटेन्सको रुपमा प्राप्त गरेको छ । वर्षेनी यसरी रेमिटेन्समा वृद्धि गराउनमा दिनानुदिन हाम्रो देशबाट रोजगार एवंम् उच्च शिक्षा हासिल गर्नका लागि विदेशिने युवाहरुको ठूलो भूमिका छ । त्यसपछि गाउँघर तिर रहन्छन् त केबल ससाना बालबालिका महिला र वृद्धवृद्धाहरू । यो अवस्था हुनुमा नेपालीहरूको विदेशिने परम्पराले निकै टेवा पुर्याएको छ साथै अहिलेको यो विकराल समस्या र परिस्थिति सिर्जना भएको छ । आफ्नो गाँउघर रित्ताएर, आफ्ना वृद्ध आमाबुवालाई एक्ल्याएर गएका प्रत्येक नेपालीहरु यस महामारीको बेला आफ्ना आमाबुवा तथा सम्पूर्ण परिवारलाई सहयोग, सूरक्षा गर्नबाट बन्चित भएका छन् । त्यसैले, यो विकराल परिस्थितिले वृद्ध आमाबुवामा कुनै मानसिक एवंम् मनोवैज्ञानिक समस्या नल्याउला भन्न सकिन्छ त ?
अवश्य पनि, अहिलेको यस महामारीका कारण मानसिक एवंम् मनोवैज्ञानिक समस्यामा पर्नेहरुमा बढी मात्रामा बालबालिका, वृद्धवृद्धा र महिला नै छन् । यसको अर्थ यो होइन कि युवाहरुमा त्यसको असर परेको छैन्, अवश्य परेको छ । तर अहिले प्राय ः युवाहरु खाली समयमा घरमै बसेर इन्टरनेटको माध्यमबाट विभिन्न रचनात्मक र सिर्जनशील कार्यमा लागिरहेका छन् । साथै कतिपय त अहिले बदलिएको जीवनशैलीमा ढलिसकेका छन् । त्यसैगरी बालबालिकामा पनि यस महामारीले र महामारीको कारण बद्लिएको जीवनयापनबाट निकै असर परिरहेको छ । तैपनि यस समस्याबाट बालबालिकालाई बचाउनका लागि उनीहरुको परिवार र विद्यालयले पनि बालबालिकालाई घरभित्रै गर्न सकिने विभिन्न रमाइला, सिपमूलक र सिर्जनशील कार्यहरु गर्न उत्प्रेरणा दिएका छन् । अहिले बद्लिएको जीवनशैलीका कारण महिला हिंसा पनि बढेको छ । यस समस्यालाई समाधान गर्नका लागि सामाजिक र सरकारी तवरबाट काम भइरहेका छन् । विभिन्न चेतनामूलक रेडियो कार्यक्रम, हटलाइन नम्बर उपलब्ध गराउने गरिएको छ । यसैगरी वृद्धवृद्धामा पनि यस महामारी, महामारीले पुर्याएको क्षति र महामारीको कारण बद्लिएको जीवनयापनका कारण लेअवश्य पनि कैयौं मानसिक एवंम् मनोवैज्ञानिक समस्या देखा परेको छ । तर, वृद्धवृद्धामा सिर्जना भएको यस समस्याबाट उहाँहरुलाई जोगाउनका लागि कतै कोहीबाट पहल भएको छ त ? सिधा कुरो के भने परिवारका पाका सदस्यको बारेमा कमै ध्यान गएको दखिन्छ ।
मेरो विचारमा कोरोना भाइरसको यस महामारीले सिर्जना गरेको विभिन्न सामाजिक समस्याहरुमध्ये नेपालमा सबैभन्दा ओझेलमा परेको समस्या वृद्ध र अशक्त आमाबुवाहरुले भोग्नु परेको मानसिक एवंम् मनोवैज्ञानिक तनाव नै हो । नेपालमा जति पनि वृद्धवृद्धा हुनुहुन्छ उहाँहरु प्राय : दीर्घरोगी र शारिरिक रुपले अशत्त हुनुहुन्छ । साथै, प्राय : वृद्धवृद्धाहरु अशिक्षित पनि हुनुहुन्छ । त्यसैकारण उहाँहरु धेरैलाई त मोबाइल र इन्टरनेटको सही प्रयोग गर्न पनि आउँदैन । कतिपय ज्येष्ठ नागरिकहरुले चाँहि टेलिभिजनमा र थोरै मात्रामा फेसबुक–युट्यूबजस्ता सामाजिक सन्जाल प्रयोग गरी सूचना समाचार हेर्न÷सुन्न जान्नुभएको छ । तर यसरी दिनँहुको विग्रँदो परिस्थिति, मानवीय क्षति, बढ्दो अनिश्चितता र महामारीको उग्ररुप दर्साउने समाचारहरुले भने उहाँहरुमा थप डर त्रास सिर्जना भएको छ । साथै कतिपय टेलिभिजनका र सामाजिक सन्जालका समाचारहरुले झुटो अफवाह फैलाएका कारण पनि उहाँहरुमा मानसिक एवंम् मनोवैज्ञानिक तनाव बढिरहेको छ । आफूबाट टाढा भएका परिवारका सदस्यका झझल्कोले पनि सताउँदो हो । अर्कोतिर उहाँहरु प्राय : दीर्घरोगी र शारिरिक रुपले अशक्त भएकै कारण उहाँहरु कुनै शारिरिक कार्यमा संलग्न भई समय ब्यतित गर्न सक्नुहुन्न । यसले गर्दा उहाँहरुसँग खानपिन र थोरै मात्रामा घरायसी कामबाहेक गर्नका लागि अन्य कार्यको विकल्प रहँदैन । अनि उहाँहरु खाली समयमा अहिलेको परिस्थितिले ल्याएको नकारात्मक परिणाम सोच्नलाई बाध्य हुनुहुन्छ ।
मुख्यत : कोरोना भाइरस महामारीले ल्याएको अहिलेको यो विकराल परिस्थितिमा आफ्ना सन्तान र आफन्तहरु घरबाट टाढा विभिन्न देशहरुमा डर त्रासयुत्त जीवनयापन गरिरहेको कुराले पनि वृद्ध आमाबुवालाई बढी चिन्तित बनाएको छ । उनीहरुले रोजगारी गुमाउँदाको पीडा पनि छदैछ । बेरोजगार भएमा कतिको त घरको चूलो नै पनि बन्द नै हुन्छ । कति विदेशिएका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ भने कतिले त ज्यानै पनि गुमाउनु भएको छ । यसरी आफ्नो बुढेसकालको सहारा आफूबाट खोसिएर जाँदाको पिडा असहनीय छ । यस पिडाले उहाँहरुमा निकै ठूलो मानसिक एवंम् मनोवैज्ञानिक असर पूगेको छ । त्यसैगरी, धेरैजसो भारत र अन्य देशबाट आउनुभएका नेपालीहरु हाल क्वारेनटाइनमा बस्नुभएको छ । क्वारेन्टाइनमा बसेका आफ्ना सन्तान र आफन्तहरुको स्वास्थ्यको चिन्ता पनि वृद्ध आमाबुवालाई परेको छ । अर्कोतर्फ, नेपालमै आफ्ना सन्तान र आफन्तहरुसँग बस्दै आउनुभएका वृद्ध आमाबुवालाई पनि छुट्टै किसिमको समस्या परेको देखिन्छ ।
Generation gap ले गर्दा उहाँहरुको कुरा अहिलेका पिढीले नबुझ्ने र उहाँहरुका कुरालाई नजरअन्दाज गरिदिने जस्तो समस्या उत्पन्न भएको छ । तर उहाँहरुलाई यतिबेला नै आफ्ना सन्तान र आफन्तहरुको साथ सहयोग चाहिएको हुन्छ । उहाँहरुलाई यतिबेला सकारात्मक परामर्श र ढाडसको खाँचो हुन्छ । त्यसैले दिनानुदिन विकराल बनिरहेको परिस्थितिसंग लड्नका लागि उहाँहरुको कुरा र समस्या सुनिदिनु र बुझीदिनु अत्यन्तै जरुरी छ । उहाँहरुलाई यकिन दिलाउनुपर्छ कि– यो महामारी सँधैका लागि रहँदैन, यसको अन्त्य हुने दिन पनि आँउछ । सम्पूर्ण नेपालीहरु सजक भई यस महामारीलाई हराउनका लागि सामाजिक दूरी कायम गरी काम गर्नुपर्छ र वृद्धवृद्धाहरुलाई पनि उत्प्रेरित गर्नुपर्छ ।
हामी सबैको घरमा वृद्ध आमाबुवाहरु हुनुहुन्छ । उहाँहरुलाई हामी सन्तान, नातीनातिना वा अन्य कोही आफन्त नै भएपनि उहाँहरुलाई जसरी जहाँबाट मिल्छ साथ सहयोग प्रदान गरौँ । वृद्ध आमाबुवाहरुको मनोदशा बुझौँ । उहाँहरुको कुरा सुनिदिऔँ । गलत समाचार सुन्न र विश्वास गर्नबाट बचाऔँ । सकारात्मक सोचतर्फ प्रेरित गराऔँ । उहाँहरुलाई सहयोग गर्नका लागि सरकारलाई कुर्नुपर्दैन तपाई हाम्रो सानो पहलले नै उहाँहरुको समस्या समाधान हुन्छ । यसरी नै सम्पूर्ण नेपाली यूवाहरु आफू सन्तान र सच्चा नेपाली नागरिक हुनुको दायित्व निभाऔँ ।
(चापागाँई महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, वि. एस्सी. हर्टिकल्चर, छैठौं सेमेष्टरमा अध्ययनरत छन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->