सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चन्द्र ढकालको प्यानलसहितको उम्मेदवारी घोषणा

चन्द्र ढकालको प्यानलसहितको उम्मेदवारी घोषणा


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०७७, बुधबार

पोखरा, ३१ असार– बागलुङमा जन्मेका सफल व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यसअघि गृहजिल्ला बागलुङबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका ढकालले आउँदो साउन २६ र २७ गते काठमाडौंमा हुने महासंघको साधारणसभाको लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
उनको प्यानलमा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघईले उम्मेदवारी दिनेछन् । यता, ढकालसँग हालका अर्का उपाध्यक्ष किशोर प्रधान मैदानमा उत्रदैछन् । उनको पनि प्यानल नै हुनेछ । स्रोतका अनुसार प्रधानको प्यानलमा जिल्ला(नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षका लागि शौरभ ज्योतिले उम्मेदवारी दिने चर्चा छ । अञ्जन पोखरेली घराना लक्ष्मी हाउसका निर्देशक हुन् । अर्को टिममा भए पनि अञ्जनलाई गण्डकीबाट भने राम्रै सहयोग प्राप्त हुने अपेक्षा रहेको छ । यद्यपि, भोलिको नेतृत्ववमा जाने व्यक्तित्व भएकाले उनले कडा प्रतिष्पर्धाको सामना गर्नुपर्ने स्रोतले बतायो ।
उम्मेदवारी घोषणा गर्दै ढकालले आफ्नो टीम अनुभव र विश्वासले भरिएको तथा टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति रहेको जिकिर गरेका छन् । उनले दुःख परेको बेला सबै व्यवसायीलाई सघाउने प्रतिवद्धता पनि जनाएका छन् ।
यता, उम्मेदवारी घोषणा गरे पनि ढकालले केन्द्रीय समितिमा आफ्नो प्यानलबाट को–को राख्ने भन्ने सार्वजनिक गरेका छैनन् । ढकालले यो चुनावमा विजय प्राप्त गरे उनी गण्डकीबाट नेपालको निजी क्षेत्रको नेतृत्वदायी भूमिकामा पुग्ने दोस्रो व्यक्ति हुनेछन् । यसअघि पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले महासंघको नेतृत्व सम्हालिसकेका छन् । महासंघको नेतृत्वको लागि पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आजाद श्रेष्ठले उम्मेदवारी दिए पनि उनले सफलता प्राप्त गर्न सकेनन् । आईएमई ग्रुपका संस्थापक तथा सफल व्यवसायी चन्द्र ढकाललाई यसअघि नै उनको गृहजिल्ला बागलुङले सघाउने घोषणा गरिसकेको छ । बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्तुकुमार श्रेष्ठले ढकालको जितले बागलुङको मात्र नभएर सिंगो गण्डकीको इज्जत बढ्ने भएकाले उनलाई जिताउनुपर्ने तर्क गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले पनि आउँदो चुनावमा ढकाललाई सघाउने निर्णय गरिसकेको छ । गण्डकीले गएको फागुन ७ गते प्रदेशमा रहेका १२ वटा उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागितामा सो निर्णय गरेको हो । गण्डकीका गण्डकीबाट १५ जिल्ला तथा नगर उद्योग वाणिज्य संघले महासंघमा मतदान गर्नेछन् । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भोटको ठूलो महत्व रहन्छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले खसेको भोटको ५० प्रतिशत भारवहन गर्छन् भने बाँकी ३०एसोसियट र २० प्रतिशत भारवहन क्षमता बस्तुगतको रहन्छ । नेपालमा हाल ११२ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, ९९ सयवटा बस्तुगत र करिब १ हजार एसोसियट सदस्य छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशतर्फको केन्द्रीय सदस्यको लागि लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरे पनि उनले कुन प्यानललाई सघाउने भन्ने निर्णय गरेका छैनन् । यता, प्रदेशबाट खुल्ला प्रदेश केन्द्रीय सदस्यको लागि बागलुङका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठले पनि उम्मेदवारी दिँदैछन् । खुल्ला केन्द्रीय सदस्यहरुमा स्याङ्जाका शोभाकान्त पौडेल, म्याग्दीका कुविरकुमार श्रेष्ठ, र नवलपुरका अमृतप्रसाद भट्टचनले पनि उम्मेदवार दिने चर्चा छ । अर्का एकजनाले पनि खुल्ला सदस्यमा चासो देखाएका छन् । यता, बलियो देखिएका चन्द्र ढकाललाई केन्द्रीय सदस्यको प्यानल बनाउन भने गाह्रो पर्ने देखिएको छ । ४ जना पदाधिकारीसहित १८ सदस्यीय प्यानलको लागि अहिले ५४ जनाभन्दा बढीले दावी गरेका छन् ।‘उहाँलाई पनि केन्द्रीय सदस्यको प्यानल बनाउन गाह्रो छ’, स्रोतले भन्यो,‘ त्यसैले केन्द्रीय सदस्यमा उहाँलाई सघाउनेहरु बीच नै प्रतिष्पर्धा हुनसक्छ ।’
लगातार चुनाव
केन्द्रको चुनावलगत्तै प्रादेशिक संरचनामा रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको चुनाव हुनेछ । महासंघ गण्डकीको अध्यक्षमा वर्तमान अध्यक्ष संजिवबहादुर कोइरालाले दोहो¥याउने भएका छन् । यता, लगत्तै गण्डकी प्रदेशको राजधानी पोखराको पोखरा उद्योग वाणिज्य संघको पनि चुनाव हुँदैछ । चुनावी वर्ष भएकाले नै हुनुपर्छ, पोखरा उद्योग वाणिज्य संघको असार २६ गतेको बैठकबाट मात्रै १५७ जना नयाँ सदस्य थपिएका छन् । संघमा हाल ३१ सय ७३ सदस्य रहेका छन् । लकडाउनका कारण नविकरणमा समस्या परे पनि चुनावी वर्ष भएकाले हाल सदस्य रहेका अधिकांशले नविकरण गरिसकेको संघको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->