बागलुङ, १ साउन– ढोरपाटन सालझण्डी सडक राष्ट्रिय योजनामा सूचिकृत योजना हो । झण्डै दशबर्षदेखि यो सडकमा करोडौं बजेट विनियोजन गरेर निर्मााणको काम भैरहेको छ ।
तर आर्थिक बर्ष २०७६/०७७ मा यो सडकको बुर्तिवाङ ढोरपाटन खण्डमा स्थानीय साझेदारी पूर्वाधार बिकास कार्यक्रमको ५० लाख पनि लगानी भएको छ । यतिधेरै लगानी भैरहेपनि यहाँ अझै सवारी साधन चल्ने अबस्था छैन ।
दोहोरो बजेट खर्चेपनि असार लागेदेखिनै यहाँ जिप पनि चल्न सकेका छैनन् । मर्मत गर्ने भनेर खर्चिएको ५० लाखको कामै नदेखिएको स्थानीयले आरोप लगाउन थालेका छन् । उनीहरुले बर्षातमा पिठ्युँमा खाद्यान्न बोक्न बाध्य भएको भन्दै नेताहरुले पैसा खाएको आरोप पनि लगाए । ढोरपाटन नगरपालिका वडा नं. ७ का यामबहादुर कायतले जीर्ण सडकको कारण अत्याबस्यक सामाग्री पिठ्युमा बोक्न बाध्य भएको सुनाए ।
बुर्तिवाङदेखि ढोरपाटनतर्फको ३६ किमी सडकमा लकडाउनदेखि सवारी चलेका थिएन् । असार १ गतेपछि आंशिक लकडाउन खुलेकोले अत्याबस्यक सामाग्री ढुवानी गर्न खोजेका उनले जिप नचलेपछि पिठ्युमै बोक्न बाध्य भएका हुन् । खेतला खोजेर चामललगायतको सामान बोकाएर घर ल्याएको उनले गुनासो गरे । ‘ढोरपाटन सालझण्डी राजमार्ग’को ट्रयाक छेउमा घर भएपनि बोबाङ र ढोरपाटन क्षेत्रका मानिसले ३६ किमी सडक पैदलै हिड्न बाध्य भएका छन् । जेठ पहिलो सातादेखिनै लगातारको झरीले यो सडकमा पहिरो खसेका छन् । केही घुम्तीमा जिप पनि चल्न नसक्ने अवस्था छ ।
दशकदेखि बर्षेनी करोडौं रकम विनियोजन भैरहेको ढोरपाटन सालझण्डी सडकको सुधार नभएपछि स्थानीयले दुःख पाएका हुन् । यो सास्ती वडा नं. ६ अधिकारीचौरका चन्द्रबहादुर घर्तीले पनि भोगेका छन् । ‘घुम्तीमा मोटरसाइकल पनि घुम्न सक्दैन, के काम भयो होला ?’ घर्तीले भने, ‘आयोजनाको करोडौ बजेटबाहेक चालु बर्ष सांसदले ५० लाखको कोष पनि लगाएका थिए रे ।’ आफ्नै वडाभित्र खर्च भएपनि उपभोक्ता समिति गठन भएको, सडक निर्माण तथा मर्मत गरेको देख्न नपाएको उनले टिप्पणी गरे ।
चालु बर्ष यो सडकमा स्थानीय साझेदारी पूर्वाधार बिकास कार्यक्रमको ५० लाख लगानी भएको छ । बागलुङ क्षेत्र नं. २ का सांसद देबेन्द्र पौडेलको अध्यक्षतामा बस्ने पूर्वाधार समितिले यो सडककालागि रकम बिनियोजन गरेको थियो । असार १५ गते ५० लाख रुपँयाको काम सकिएको घोषणा गरियो । त्यसबाट ४९ हजार रुपैयाँ बचेको भन्दै कोरोना कोषमा पठाइएको छ । तर ४९ लाख ५१ हजार रुपैयाले गरेको काम देखाउन उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर भण्डारीले समेत सक्दैनन् ।
‘अहिले त झरीले, धेरै पहिरो खस्यो, बाटो चलेको छैन’ भण्डारीले भने, ‘अझै १ करोड खर्चेमात्रै यो सडक राम्रो मर्मत हुन्छ ।’ भण्डारी वडा नं. १ का अध्यक्ष हुन् । तर उनले वडा नं. ६ को सडकको उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका थिए । वडा तहमा भेला गरेर समिति गठन गर्नुपर्नेमा उनले उपभोक्तालाई थाहै नदिएको आरोप लागेको छ । उक्त बजेट यहाँकै अर्नाकोट र घैयाखानी जाने सडकमा उक्त बजेट लगाएको भए स्थानीयले बाह्रै महिना चल्ने बनाउने बताए ।
भण्डारीले भने सालझण्डी सडक आयोजनाले काम नगरेपछि सांसद कोष खर्चेर मर्मत गरेको दाबी गरे । ‘झरी नपर्दासम्म दैनिक जिप चलेका थिए, अहिले रोकियो’ भण्डारीले भने, ‘अब आयोजनालाई बनाउन भन्छौं ।’ आयोजनाले चालु बर्षका लागि यो सडकमा १५ करोड बजेट खर्चेको थियो । उक्त बजेट गुल्मी र अर्घाखाँचीतर्पm खर्च भएको भण्डारीले बताए ।
ढोरपाटन सालझण्डी सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले रकम अभावमा काम ढिलाई भएको दाबी गरे । ‘दुइसय किमी सडकमा बर्षेनी १५ देखि २० करोड बजेट आउ“छ, कता मात्रै खर्चने ?’ मरासिनीले भने, ‘यो बजेटले भत्केका स्थानमा मर्मत गर्दैमा ठिक्कै छ ।’ बागलुङ खण्डमा चालु बर्ष २ करोड खर्चेको उनले बताए । उक्त बजेटले अप्ठ्यारो स्थानमा पर्खाल बनाएको उनले दाबी गरे । बिनियोजित बजेटबाट अर्घाखाँचीतर्फ बढी खर्च भएको उनले स्विकारे ।
‘आयोजनाको तर्फबाट ३ अर्ब ९८ करोडको बजेट माग भएकोमा विनियोजन नभएर काम नभएको हो’ उनले भने, ‘नेपालका सांसदहरु आँफै नीति बनाउन र बजेट विनियोजन गर्न ढिला गर्छन्, अनि प्राविधिकले काम गरेन पनि भन्छन् ।’ बजेट विनियोजन भएमा एकैबर्षमा सडक ग्राभेल गरिदिने उनले दाबी गरे ।
हिउँदमा पनि सामान्य मर्मतसमेत नगरिदिंदा सडक चिप्लो र ग्रेड नमिलेकोले दुर्घटनाको खतरा बढी छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा अत्याधिक जोखिम भएकोले ढोरपाटन जाँदा पैदलै हिडेको वडा नं. ९ का भद्रमणी बिकले बताए । साँघुरो ट्रयाक, उकालो र चिप्लोले धेरै सवारी दुर्घटनामा परेको जिप चालक खगेन्द्र बिश्वकर्माको गुनासो छ ।
‘बर्षातमा पानी पर्दा र हिउँदमा हिमपात हुँदा ढोरपाटन जानै सकिंदैन’ विश्वकर्माले भने, ‘बचाएर सवारी चलाउनै नसकिने बाटो छ ।’ ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले सडकको अबस्थाबारे आयोजनामा चाँसो राख्दापनि ढिलाई भएकोले सांसद कोष लगाएको बताए । एउटै सडकमा दोहोरो लगानीबारे उनले प्रतिक्रिया दिएनन् ।





