बागलुङ, २ साउन– असार ३१ गते बुधवार रातको १२ बजेसम्म स्थानीय पालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखाका कर्मचारी र प्राविधिकहरु फाइल मिलाउँदै थिए ।
काम भएका र नभएकासमेत फाइलमा कागजात मिलाएर चेक काट्ने काम भैरहेको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयले रातको १२ बजेपछि काटेको चेक सटही नहुने प्रावधान बनाएकोले काम गरेका र नगरेका योजनाको फरफारक मिलाउने काम भयो । रातारात काम गर्दा पनि विकास बजेटको ८५ प्रतिशत मात्रै खर्च भएको छ भने कामहरु अलपत्रै परेका छन् ।
नेताहरुको चाहनामा बजेट परेका र काम पुरा नभएका फाइल फरफारक गर्न दवाब बढीनै थियो । दुइ दिनअघि बागलुङ नगरपालिकामा भएका केही घटना पनि कामै नगरी भुक्तानी दिने वा नदिनेसँग सम्बन्धित थिए । ठेकेदारहरु आफ्नो योजनाको बजेट जसरी पनि भुक्तानी हुनुपर्ने दाउमा थिए । कर्मचारी र प्राविधिकले मूल्यांकन गरे अनुसारको भुक्तानी दिने प्रयासमा थिए । डर, धम्की, आश्वासन र लोभ देखाउने प्रकृतिका धेरै क्रियाकलाप मसान्तमा देखिन्छन् । ढोरपाटन नगरपालिकाका एक जना इन्जिनियर रंगेहात एक लाख रुपैयाँ घुससहित पोखरामा पक्राउ परे । रंगेहात नभएका धेरै काण्ड मसान्तमा सम्पन्न भएका छन् । तर यतिधेरै काण्ड र रातारात चेक काटेर पनि जिल्लाको बिकास बजेट खर्च भएको छैन ।
पूर्वाधार तर्फको बिकास बजेटदेखि चालु शिर्षकमा आएर पनि सामाजिक सचेतना जगाउनेदेखि लक्षित वर्गको लागि खर्च हुने बजेट पनि सदुपयोग भएन । ‘लकडाउनको कारण धेरै बजेटहरु परिचालन नभएको पनि देखियो, अन्तिममा कार्यक्रम बनाउन नसक्दा फ्रिज भयो’ कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद शर्माले भने, ‘पूर्वाधार निर्माणकै बजेट पनि सोचेजति खर्च भएको छैन ।’
आर्थिक बर्ष २०७६÷०७७ मा कोरोना भाइरसको संक्रमण, लकडाउन र बिषम परिस्थिति कारण भएपनि अघिल्ला बर्षसमेत खर्च गर्न सक्ने क्षमता बिकास नभएको उनले बताए ।
उपभोक्ता समितिमार्फत काम गरिएका स्थानीय तहका अधिकांस योजनासमेत समयमा नसकिने अबस्था सिर्जना भए । ग्रामीण सडक, खानेपानी, सिंचाइजस्ता अत्याबस्यक क्रियाकलाप पनि असार मसान्तमा मात्रै सम्पन्न गर्न खोज्दा रातको बाह्र बजेसम्म पनि बजेट र कागजात मिलाउन हम्मे भएको भेटियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको तथ्यांक अनुसार आब २०७६÷०७७ मा चालुतर्फ ९१ दशमलब ११ प्रतिशत र पूँजिगततर्फ ८५ दशमलब ६७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । संघिय बजेटमार्फत चालुतर्फ ६ अर्ब ४ करोड ५७ लाखमध्ये ५ अर्ब ५८ करोड ७६ लाख ५४ हजार बजेट खर्च भएको छ । प्रदेश तर्फको ६० करोड बजेटमा ४७ करोड ४५ लाख मात्रै खर्च भएको हो ।
पूँजिगततर्फ संघिय बजेटको १ अर्ब ५३ करोड ५८ लाख बजेटमा १ अर्ब १ करोड १७ लाख मात्रै खर्च भएको हो । उक्त बजेट ६५ दशमलब ८८ प्रतिशत हो । त्यस्तै प्रदेश बजेटबाट १ अर्ब ४५ करोड ८० लाख बजेटमा १ अर्ब १९ करोड १६ लाख मात्रै खर्च भएको हो । यो पनि ८१ दशमलब ७३ प्रतिशत मात्रै हो ।
जिल्लाका ठूला विकासे बजेटमध्ये सदरमुकाम आसपासमै धेरै अलपत्र परेका छन् । सदरमुकामकै ढल निकास तथा चोक सुधार कार्यक्रमको काम अलपत्र अबस्थामा छ । ‘कामले ४० देखि ५० प्रतिशत प्रगती मात्रै गरेको देखिन्छ, असार मसान्त सकियो’ स्थानीय एक उपभोक्ताले भने, ‘समयमा काम नसक्ने प्रवृत्तिले बर्षेनी सास्ती भैरहेको छ ।’
सडक डिभिजनले गरिरहेका ढल निकास लगायतका कामपनि अलपत्रै छन् । बहुबर्षे योजना अनुसार सुरु भएका कामको भने निरन्तरता र भुक्तानी हुने भएकोले सकिने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । नगरपालिकाले थालेका कामको भने कसरी भुक्तानी मिलाउने हुन् वा काम सफा बनाउने त्यो अन्यौलता देखिएको उनले टिप्पणी गरे ।
नगरपालिकाले पनि कतिपय बजेट र कार्यक्रम बहुबर्षेमा लगानी गरेकोले म्याद थपिने र काम सम्पन्न हुने बताएको छ । ‘नगरभित्रको चोक सुधार र ढल निकासको काम कार्यादेश दिएर पनि गर्छौ’ बागलुङ नगरपालिकाका वडा नं. २ का अध्यक्ष जीवन आचार्यले भने, ‘अलपत्र छाड्दा बजारबासीमा झन समस्या उत्पन्न हुने भएकोले मूल्यांकन अनुसारको भुक्तानी नभई सबै काम सकेर भुक्तानीको व्यवस्थापन गर्न भनेको छु ।’
दुइ सातामा नाली निर्माण भैसक्ने उनले बताए । २० लाख रुपैयाँमा हल्लनचोकदेखि ट्राफिकचोक सम्मको नाली निर्माणको काम भैरहेको हो । समयमा नसकिएपछि काम अलपत्र छ ।





