पर्वत, ३ साउन – क्वारेन्टाईनको बसाइँमा गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर फर्किएका यहाँका एक पुरुषको मृत्यु भएको छ । स्थानीय तहले बनाएको सामुदायिक क्वारेन्टाईनमा बस्दै आएका पैयुँ गाउँपालिका वडा नं. ६ मा घर भएका ती पुरुष शुक्रवार अचानक ढलेका थिए । तत्कालै उनको उपचारको लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । चिकित्सकले राती ११ बजेर ५५ मिनेट जाँदा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
भारतबाट असार १६ गते पर्वत सदरमुकाम कुस्मा बजारको पुलिङ क्वारेन्टाईनमा आइपुगेका उनको असार २३ गते आएको स्वाब परीक्षणको रिपोर्टमा सङ्क्रमण नरहेको पुष्टि भएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई असार २४ गते कुस्माको क्वारेन्टाईनबाट स्थानीय तहको सामुदायिक क्वारेन्टाईनमा पठाइएको थियो । पहिलो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भए पनि उनमा कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन स्वाब सङ्कलन गरेर फेरि पनि परीक्षण गर्न लागिएको छ । यता पर्वत अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. शिशिर देवकोटाले ती व्यक्तिको बारेमा सबै कुरा बुझ्न थालिएको बताएका छन् ।





