पर्वत, ३ साउन– पर्वत ः पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीको मलामी डाँडा स्थित पानी ट्याङ्की नजिकै श्रीमती र छोराको बन्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।
कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार अन्दाजी ५५÷६० वर्षीय विष्णु सुनारकी श्रीमती बिजुला र उनका अन्दाजी १४÷१५ वर्षीय छोरा सचिन सुनारले बन्चरो प्रहार गर्दा विष्णु गम्भीर घाइते भएका हुन् । ‘विष्णुका बुबा छविलालले बुहारी र नाति मिलेर मेरो छोरो मारे लौन बचाउन प¥यो भन्दै साईकलचोक बजारमा आएर गुहार मागेपछि हामी तत्कालै घटनास्थलमा पुगेका थियौँ ।’ उनले भने, ‘घाइते विष्णुलाई श्रीमती र छोराले बन्चरोले हानेको रहेछन्। घाइते भएको ठाउँमा रक्ताम्य छ । तत्कालै २ जना प्रहरी आएपछि एम्बुलेन्समा हालेर उपचारको लागि सदरमुकाम पठाएका छौँ ।’
वडाध्यक्ष लामिछानेका अनुसार विष्णुमाथि आक्रमण गरेकी श्रीमती बिजुला र छोरा पनि सामान्य घाइते भएका कारण घटनामा संलग्न तीनै जना घाइतेहरूलाई एउटै एम्बुलेन्समा राखेर उपचारको लागि पर्वत अस्पतालमा लगिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार घाइते विष्णु अहिले सामान्य बोल्ने अवस्थामा रहेका छन् भने घटनामा संलग्न बिजुली र सचिनको अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले घटनामा संलग्न ३ जना नै अस्पतालमा भर्ना भएको र अहिले उनीहरूको उपचारको काम भइरहेकोले घटना किन र कसरी भयो भन्ने बारेमा केही पनि नखुलेको बताए ।





