सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हराए ठेउले खोलामा माछा

हराए ठेउले खोलामा माछा


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७७, आइतबार

बागलुङ, ४ साउन – खोलामा बाढी आएपछि छेउछाउका खेतमा रोपाई सकेर लगाएको पानीको कुलोहुँदै खोलाका माछा खेतका गह्रामा पुग्थे । अघिल्लो साँझ आकाश बादलिएको देखेपछि कुलोको मुहानमा थापेको बाँसको ढडिया भोलिपल्ट बिहान कहिल्यै रित्तो फर्काउनु परेन् । असारको अन्तिम सातादेखि साउनको पहिलो दुई हप्ता माछा खुव भेटिन्थे ।
बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेराका प्रेम पौडेलले पुराना दिन सम्झिँदै भने–‘बिहान उज्यालो हुँदा ठेउलेखोला छेउको तल्लाखेतमा थापेको ढडिया लिन तँछाड–मछाड गर्दै पुगेको हिजोजस्तो लाग्छ तर अहिले त कहाँ माछा पाउनु !’ जैमिनीको अधिकांश भूभाग समेटेर बग्ने ठेउले खोलामा बाढी आउँदा अहिले माछा आउँदैनन् ।
बाढी आउँदा माछा छेउछेउमा पु¥याउने ठेउलेले अहिले सडक बनाउँदा फालिएको माटो र स–सना ठुंगा बोकेर आउँछ । त्यहिँ पाँगो माटोले किसानले दुख गरेर रोपेको धानसमेत पुरीदिन्छ । केही बर्षअघिसम्म माछाका लागि प्रचलित ठेउलेखोलामा पछिल्लो समय माछा देख्न छोडिएको छ ।
‘अहिले ढडिया थापेपनि माटो र ढुंगाले भरिन्छ, माछा देख्नै नौलो छ’ पौडेलले भने ‘बाल्यकालमा भलछोपेका माछा अहिले आँफैलाई कहानी भए ।’ उचित संरक्षण नहुादा ठेउलेखोलाका माछा संकटमा परेको स्थानीय बताउँछन् । हिउँदमा माछा मार्न बिषको प्रयोग र खोलाको मध्ये भागमा बनेको जलबिद्युत आयोजनाको ड्यामले माछा हराएको कुश्मीशेरा बजारका व्यवसायी टंक आचार्यले बताए । ‘तीन बर्ष पहिला खोलाको मुहानतिरै बिष हालेछन्, माछा खोलाभरी मरेका भेटिए’ आचार्यले भने ‘भुरासमेत मरेकाले माछा देख्नै कठिन छ ।’
कालीगण्डकीबाट भलबाढीको समयमा ठेउलेखोला पस्ने माछाको लागि बिद्युतको ड्याम बाधक बनेकाले माछा हराएको उनको तर्क छ । कुश्मीशेरा बजार छेउमा ठेउलेखोला जलबिद्युत आयोजनाले ड्याम बनाएर बिद्युत उत्पादन भैरहेको छ । ड्यामभन्दा तल पर्ने खोलाको भाग हिउँदको समयमा सुख्खा रहने गरेको छ ।
पछिल्लो समय ठेउलेसँग जोडिएका साना खोलाबाट बगेर आएका केही माछाहरु भेटिने गरेको भएपनि पहिलेजस्तो पर्याप्त माछा नरहेको आचार्यले बताए । कुश्मीशेरा बजारमा होटल व्यवसाय गरेर बस्ने आचार्यले माछा खोज्दै आउने ग्राहक सम्झँदै भने ‘माग त अहिले पनि उस्तै छ तर माछा पाईंदैन् ।’
नेपालको कानुनअनुसार बिष वा बिद्युतिय मेसिनको प्रयोग गरेर माछा मार्न पाईंदैन । स्थानीयले बिषकै कारण माछाको बिउँ मासिएको गुनासो गरिरहेका भएपनि प्रहरी चौकी कुश्मीशेरासँग भने ठेउले खोलामा माछा मार्न बिषय प्रयोग भएको उजुरी र कारवाही गरेको कुनै तथ्यांक छैन । ठेउले खोलामा असला, कत्ले, बाम लगायतका माछा प्रसस्त भेटिन्थे । जैमिनी क्षेत्रमा आलो माछा प्रतिकिलो ९ सयदेखि १३ सयसम्ममा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->