पर्वत, ६ साउन– पर्वत सदरमुकाम कुस्मा बजारमा सोमबार सिमसिमे पानीमा भिज्दै भएपनि लाखे नाचिरहेको थियो । लाखेलाई मुकुण्डो लगाएका केही बालबालिकाहरुले जिस्क्याउँदै र भाग्दै थिए । लाखेनाचमा सहभागी भएका दर्शकलाई बर्षाको कुनै वास्ता थिएन । यो रामाईलो अबको २ महिनासम्म रहन्छ ।
भूते औँसीसँगै पर्वत सदरमुकाम कुस्मा बजारमा बसोबास गर्दै आएका नेवार समुदायले आफ्ना परम्परागत र सांस्कृतिक ७ प्रकारका जात्राहरू पनि सुरु गरेपछि जात्राहरुको रमाइलो भएको हो ।
भूते औँसीको दिनबाट जात्रा प्रारम्भ भई कृष्ण जन्माष्टमीमा समापन हुने गरी सोमबारबाट बजारमा हरेक दिन जात्रा निकाल्न थालिएको जात्रा निकाल्दै आएको नेवा सांस्कृतिक समूहका अध्यक्ष शिव श्रेष्ठले बताए । ‘हामीले मान्ने भूते औँसी कहिले साउनमै पर्छ कहिले भदौमा पनि पर्छ । भूते औँसीकै दिनबाट हाम्रा सांस्कृतिक जात्रा र भगवानका चरित्र देखाउने गरेका छौँ ।’ उनले भने, ‘पौराणिक समयमा अस्पतालहरू थिएनन् । त्यो बेलामा मान्छे बिरामी हुँदा भूतले तर्साएको मानिन्थ्यो रे, भूत बनाएर जात्रा निकाले पछि भूत खुसी पारिन्थ्यो रे ।’
नेवा सांस्कृतिक समूहका सदस्य तथा स्थानीय गुरुकुल एकेडेमीका शिक्षक राम श्रेष्ठले पनि भूते औँसी र जात्राको सम्बन्ध पौराणिक समयसँग जोडिएको बताए । प्राचीन समयमा कुनै ठाउँमा भूतले महामारी ल्याएको र भूतलाई खुसी पार्न जात्रा निकालेपछि भूत खुसी भई रोग निको भएको भन्ने किंवदन्ती आफूहरूले सुन्दै आएको बताए। तर जात्राको मनोरञ्जनात्मक पक्ष पनि बलियो भएको उनको भनाई छ । ‘त्यो बेलामा अहिलेको जस्तै रेडियो, टिभी, गीत, चलचित्र, इन्टरनेट केही थिएनन्। आयु लामो बनाउन मनोरञ्जनको महत्व छ । यी जात्राले मनोरञ्जनको महत्त्व पनि दर्साएका छन्।’ उनले भने, ‘जेठ, असार र साउनको बेलामा रोपाई हुन्छ, मानिसहरू थाकेका हुन्छन् । उनीहरूको कामको पिडालाई कम गर्ने उपायका रूपमा पनि यो पर्वलाई लिन सकिन्छ ।’
स्थानीय ७० बर्सिया भीमकुमारी श्रेष्ठका अनुसार कुस्मामा वर्षौँदेखि भूते औँसी, लाखे नाच, रोपाईँजात्रा, गाईजात्रा, बाघजात्रा, हनुमानजात्रा र कृष्णलीला देखाउने गरिएको छ । भूते औँसीमा भूतलाई बजारमा डुलाएपछि साँझ नदी वा खोला किनारमा लगेर सेलाउने गरिन्छ । लाखे नाच नागपन्चमीबाट सुरु भई जनै पूर्णिमामा सकिन्छ । जनैपूर्णिमाको भोलिपल्टबाट रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा, हनुमानजात्रा र कृष्णलीला क्रमिक रूपमा देखाउने गरिन्छ । अन्तिम दिन कृष्ण जन्माष्टमीको दिनमा झाँकी सहित कृष्णलीला देखाउँदै बजार परिक्रमा गरेपछि जात्राहरू सकिन्छन् ।
नेवारका प्राचीन कला र संस्कृतिको संरक्षण गर्न कुस्मामा नेवा सांस्कृतिक समूह सक्रिय रहँदै आएको छ । समूहले जात्रा देखाउने क्रममा बजारमा केही रकम पनि उठाउँदै आएको छ भने त्यो रकमले समस्यामा पारेकाहरुलाई राहत तथा उद्धारको काम गर्दै आएको छ । समूह मार्पmत नै नेवार समुदायका बालबालिकालाई जम्मा पारेर आफ्ना परम्परागत कलाका बारेमा जानकारी गराउँदै जात्रा तथा अन्य नाच प्रदर्शन गर्न पनि सिकाउने गरिएको छ ।





