बागलुङ, ६ साउन– कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चका बिषयमा कार्यपालिका सदस्यहरुबाटै प्रश्न उठ्न थालेपछि बागलुङ नगरपालिकाले आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ ।
कोरोनाको रोकथाम तथा नियन्त्रण सम्बन्धि क्रियाकलाप सञ्चालनका लागि नगरले स्थापना गरेको प्रकोप व्यवस्थापन तथा कोभिड कोषको आम्दानी खर्च विवरण पहिलोपटक सोमबार सार्वजनिक गरिएको हो । नगरपालिकाको व्यवस्थापनमा स्थापना भएका क्वारेन्टाइन, मजदुर तथा बाहिरबाट आउनेहरुको उद्धार, लकडाउनको समयमा वितरण गरिएको राहत लगायतका शिर्षकमा भएको आम्दानी र खर्चको बिबरण सार्वजनिक गरिएको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
नगरको आन्तरिक स्रोत र बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरुको सहयोगमा नगरको कोषमा १ करोड २० लाख ५० हजार ५ सय ४५ रुपैयाँ आम्दानी भएको लेखा अधिकृत जब्बर बहादुर भण्डारीले बताए । जसमध्ये हालसम्म ७० लखा ३९ हजार ७ सय ५१ रुपैयाँ खर्च भएको र ५०लाखभन्दा धेरै रकम कोषमा मौज्दात रहेको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
नगरले सबैभन्दा धेरै खर्च राहत वितरणमा गरेको छ । चार चरणमा गरिएको राहत वितरणका क्रममा ३० लाख ५० हजार ४०० रुपैयाँ खर्च भएको उल्लेख छ । जसमध्ये राहतका लागि पेश्की लिएका वडा नं. ५ र १० का सचिवहरुले पेश्की फछ्र्यौट गरेका छैनन् भने बाँकी सबै रकम खर्च भैसकेको छ ।
२० लाख ७५ हजार ४ सय १६ रुपैयाँको स्वास्थ्य सामग्री खरिद, १० लाख ८६ हजार ८८१ रुपैयाँ क्वारेन्टाईनको व्यवस्थापनमा खर्च भएको छ । एम्बुलेन्स तथा हेल्थ बुथ, इन्धन, गाडी भाडालगायतका शिर्षकमा बाँकी रकम खर्चेको नगरले बिबिध खर्चमा मात्रै २ लाख ५१ हजार ३ सय ९५ रुपैयाँ खर्चेको उल्लेख गरेको छ ।
प्रकोप व्यवस्थापन र कोभिड कोष एकै ठाउँमा रहेकाले दैविक प्रकोपमा परेकालाई राहत र उद्धार लगायतका शिर्षकमा भएको खर्चसमेत विवरणमा समेटिएको छ । २ लाख ५७ हजार २ सय ५४ रुपैयाँ बिभिन्न दैविक प्रकोपमा परेकालाई राहत तथा उपचारमा खर्च भएको उल्लेख गरिएको छ ।
नगरपालिकाले आफ्नै व्यवस्थापनमा सञ्चालनमा ल्याएको आईसोलेसनमा भएको खर्चको बिबरणभने सार्वजनिक गरेको छैन् । कोषबाट नभई कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत आईसोलेसनको खर्च भुक्तान भएकाले नगरको आम्दानी खर्चको बिबरणमा उक्त खर्च समाबेश नगरिएको भण्डारीले जानकारी दिए ।





