आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पत्रकारका तत्कालका तीन चूनौती

पत्रकारका तत्कालका तीन चूनौती


  • दिल शिरीष
  • साउन ६ २०७७, मंगलबार

कोरोना भाइरस (कोभिड–१९)को महामारीको प्रभाव त समग्र क्षेत्रमा छ । ठप्प प्रायः भएको अर्थतन्त्रले धिमा गति लिदैछ । अरु क्षेत्रहरु पनि पुरानो दैनिकीमा फर्कन प्रयासरत छन् । यद्यपी पुरानै लयमा फर्किन कति महिना या वर्ष लाग्ने हो ? त्यो अनिश्चयको भुमरीमा छ । कोरोना संकट र सकसको प्रत्यक्ष असर अरु ठाउँमा आंशिक देखिएको छ । त्यो पुरा देखिन समय पनि लाग्ला । तर, कोरोनाको असर पत्रकारितामा छरपष्ट देखियो । जसको प्रत्यक्ष मारमा श्रमजिवी पत्रकार परिरहेका छन् । कोरोना भाइरसकै कारण अहिले देशभरमा ७ सय बढि पत्रिका बन्द भइसकेको तथ्यांक छ । २ हजार बढि पत्रकारको जागिर रोजीरोटी खोसिएको छ । यो समस्या र संख्या दैनिक बढ्दो क्रममा छ । जिल्लादेखि प्रादेशिक र केन्द्रसम्म कार्यरत श्रमजिवी पत्रकारको यो संकट र सकसमा पत्रकार र पत्रकारिताको चौतर्फी प्रभावकारी भूमिका खोजिरहेको सरकार, नागरिक समाज र अरु सरोकारवाला निकाय भने बेखबरजस्ता देखिन्छन् ।
पहिलो चूनौती
जुन पत्रकार, सञ्चारकर्मी र सञ्चार गृहले अरु अन्याय, समस्या र संकटमा परेकाहरुको समाचार सम्प्रेषण गर्थे । आज तीनै सञ्चार गृहद्धारा पत्रकार, सञ्चारकर्मी अपमानपूर्वक निकालिएका छन् । न्यनुतम पारिश्रमिकमा पनि कटौती गरिएको छ । कोरोना कारण देखाएर धेरै ठाउँमा आधा तलब मात्र दिइएको छ । तलबमा समाचार सम्प्रेषण गरेका संवाददाता रहेकाहरुलाई स्ट्रिन्जर बनाउने खबरहरु आउन थालेका छन् । जिल्ला संवाददाताहरुलाई अहिलेका लागि समाचार नमाग्न भनेका प्रादेशिक ब्युरोका दुखान्त जवाफसहित दुर्दान्त कथाहरु सुनिएका छन् । यस्तो घटनाको परिदृश्य केन्द्रमा बिग मिडिया भन्नेदेखि जिल्लाका सानातिना मिडियामा प्रष्ट देखिन थालेका छन् । जुन संस्थाको गरिमा, प्रतिष्ठा र ब्राण्ड स्थापित गर्न जीवनको उर्जाशिल समय, वर्ष, सीप, कला कौशल खर्चिएको छ, त्यही संस्थाबाट आज संकटमा बिभिन्न बहाना बनाएर जर्बजस्त निकाल्ने कार्य भइरहेको छ । यो नेपाली समाज र पत्रकारिताका लागि दुर्भाग्यपूर्ण क्षण र घटना हो ।
यो कठिन संकटको कठघरामा उभिरहँदा हामी पत्रकारहरुमाथि एउटा संगीन प्रश्न ठडिएको छ– ‘अरुको समस्या, अन्याय, अत्याचारमा बोल्ने–लेख्ने पत्रकार आफ्नै समस्यामा मौनता साँध्ने कि आवाज बुलन्दित गर्ने ? आजको समय र परिवेशमा हामी सबै यही प्रश्नको सेरोफेरोमा एक अग्निपरीक्षामा सामेल छौ । कतिपयले सञ्चार संस्थाको ज्यादतीको बिषयमा खुलेर बोल्न र बहस गर्न थालेका छन् । तर, कैयन पत्रकार आफ्नो प्रतिष्ठामा आँच आउने भयले आफै माथिको अन्याय चुपचाप मुकदर्शक बनेर बेहोरिरहेका छन् । यस संकट र समयमा हामीले प्रथमत ः संयमित भएर कदम चाल्नुपर्ने देखिएको छ । दोस्रो, अधिकांश सञ्चार उद्यमी मालिकहरुले पत्रकार कटौटी या कर्मचारी निकाल्ने बहाना खोजिरहेकाले कमजोर भुमिका होइन, यस बेलामा अझ बढि पेशागत हिसाबले जिम्मेवार, दक्ष र प्रभावकारी भुमिका र दायित्व निर्वाह गर्नुपर्ने चूनौती छ ।
दोस्रो चूनौती
जतिबेला समाज या मुलुकमा समस्या, संकट या विपत् आउँछ । त्यहाँ पत्रकार र पत्रकारिताको आवश्यकता र भुमिका जरुर हुन्छ । यसकारण वर्तमान संकटमा कोरोना संक्रमण जोखिमका बीच पनि पत्रकारले फ्रन्टलाइनमा उभिएर नागरिकप्रतिको दायित्व अविचलित निर्वाह गरिरहेको दुनियाँमाझ जगजाहेर छ । यसका अलवा यहीं समयमा समाजका अरु बेतिथीमा पनि पत्रकार र पत्रकारिताले अझ बढि भुमिका खेलोस् भन्ने अपेक्षा पनि यस अवधिमा प्रकट भएको छ । धौलागिरीकै सवालमा पनि कालीगण्डकी नदी उत्खनन्, अरु स्थानीय तह, आयोजना, योजनाको अनियमितता र घटनाका बिषयमा पत्रकारिताले सशक्त आवाज बुलन्दित गर्नुपर्ने धारणा र सुझाव चोक, चिया पसल र सामाजिक सञ्जालमा प्रकट भएको छ । यो सुझाव या अपेक्षा पत्रकार र पत्रकारिताप्रतिको भरोसा र विश्वासकै उपज हो । यसर्थ यसलाई ठाडो जवाफ दिएर होइन, सकारात्मक रुपमा ग्रहण गरेर पत्रकार अघि बढ्नुपर्दछ । उसो त यहाँ अवैध नदी उत्खनन्सहित अन्य बेतिथी मनोमानीबिरुद्धका कलम र आवाज मुखरित नभएका होइनन् । पत्रकारले त समय समयमा यसका बारेमा निरन्तर रखबारी गरिरहेकै छन् । बरु पत्रकारले यो सवाल उठाउँदा, प्रत्यक्ष परोक्ष धम्की आउँदा यहाँका नागरिक समाज, सुशासन, जवाफदेहिताको खोजी गर्ने जमात स्थानीय सरकार, प्रहरी प्रशासन र अरु सरोकारावालालाई ध्यानाकर्षणसहित जिम्मेवार बनाउन कति अग्रसर भए ? सामाजिक सञ्जालमा छिटफुट देखिने स्टाटसबाहेक यो पाटो अनुत्तरित छ । यसमा पनि थप बहस र चिन्तन आवश्यक छ । पत्रकारले कोरोना संकटसँगै आफ्नो पेशागत जीवन धरापमा, चौतर्फी समस्या र सकस भएपनि पत्रकारिताप्रतिको समाजका अनेक अपेक्षा पुरा गर्न पेशागत उत्तरदायित्व कुशलतापूर्वक बहन गर्नुपर्ने अवस्थामा छौ ।
तेस्रो चूनौती
सामाजिक सञ्जाल मिडिया होइनन् । तर वर्तमान समयका प्रभावकारी माध्यम हुन् । अहिलेको डिजिटल अनलाइनहरुको भिजिटरको तथ्यांक हेर्ने हो भने पनि सिधै गुगलमा गएर अनलाइन लगअन गर्नेभन्दा सामाजिक सञ्जाल फेसबुक, ट्विटरको माध्यमबाट समाचार हेर्ने र पढ्ने बढि छन् । यो पत्रकारका लागि राम्रो माध्यम त हुँदै हो । राम्रो स्रोत पनि भएको छ । तर, सामाजिक सञ्जाल त्योभन्दा खतरा पत्रकारभन्दा पनि अघि सूचना सार्वजनिक गर्ने माध्यम पनि बनिरहेको छ । यसले खास पत्रकारलाई स्वभाविक झक्झकाएको छ ? सही समयमा सही सूचना दिन हर समय अलर्ट रहन बाध्य बनाएको छ । सामाजिक सञ्जालको खराब पाटो भने यसले सिर्जना गर्ने अफवाह या भ्रम हो । त्यसलाई तथ्य चिर्ने भनेको पत्रकारिताले हो । त्यसमा पनि हाम्रै दायित्व र जिम्मेवारी बढि रहन्छ ।
समाचार त आउँछन् ? त्योभन्दा घण्टौ पहिले सामाजिक सञ्जालमा सूचना आयो भने के होला ? हाम्रा समाचार कामयावी नहुन सक्छन् । हामी र हाम्रो पत्रकारिताका माथि स्वभाविक प्रश्न उठ्न सक्छन् । यसर्थ यो पत्रकारका लागि स्रोत त हुँदै हो । तर, त्योभन्दा बढि पत्रकारको एउटा गम्भीर चूनौती पनि हो । यसमै अझ अर्को गम्भीर सवाल के छ भने हामी लेख्ने गरेका समाचार पहिलेजस्तो जे दियो, त्यो पढ्नुपर्ने या एकहोरो सुन्नुपर्ने बाध्यता छैन । विगतको एकोहोरो सञ्चार प्रविधि र सामाजिक सञ्जालको तिव्र विकाससँगै बद्लिएको छ । हाम्रा समाचार सामग्रीमा सत्यतथ्य जाँच गर्ने र कमजोरी भए तत्काल सामाजिक सञ्जालमार्फत खबरदारी गर्ने अवसर र सामथ्र्य पाठक, दर्शकलाई छ । यसले पत्रकारलाई अझ बढि सुझबुझपूर्ण हिसावले जिम्मेवार भएर भुमिका निर्वाह गर्नुपर्ने ठाउँमा पु¥याएको छ । अरुलाई खबरदारी गर्ने पत्रकार सञ्चारकर्मी पनि आफ्ना पाठक, दर्शकको निगरानीमा हुनुपर्छ भन्ने हेक्का हर समयमा राख्न सकियो भने हामी पेशागत जीवनमा चुक्नुपर्दैन ।
र अन्त्यमा,
अहिलेको कोरोना भयावहमा फ्रन्टलाइनमा खटिएर पनि जोगिएर काम गरेका पत्रकार अब आफ्नो पेशागत सुरक्षाको चूनौतीसहित अनिश्चयको भुमरीमा छन् । यो हर श्रमजिवी पत्रकारका लागि चूनौतीपूर्ण क्षण हो तर पुरै निराशा भएर पत्रकारिताबाटै आत्मसमर्पण गर्ने या पलायन हुनुपर्ने अवस्था होइन । एउटा जिम्मेवार नागरिक या पत्रकारले संकटमै बढि भुमिका, जिम्मेवारी र अवसर खोज्छ र त्यो प्राप्त पनि गर्छ । हामीसँग अहिले समस्या र संकट मात्र होइन, थप सिर्जनशिल भएर काम गर्नेहरुका लागि नयाँ नयाँ अवसरले पनि पर्खिरहेको छ । यो बेला अझ बढि पेशागत रुपमा जिम्मेवार, उत्तरदायी र धैर्यवान भएर कोरोना संकटले निम्ताएका या भोलीका दिनमा ल्याउन सक्ने पेशागत जीवन र भविष्यको संकटसँग मुकाबिला गर्न मानसिक रुपमा तयार बनौ । तर, जहाँ रहे पनि सामाजिक उत्तरदायित्वसहितको भुमिका निर्वाह गर्न कत्ति नचुकौ । यसबेला नेपाल पत्रकार महासंघजस्ता संस्थाले खेल्ने भुमिकाले पत्रकारको पेशागत अधिकार सुरक्षित गर्न सम्भव हुने सबै प्रयास महासंघले गरिरहेको छ, गर्नेछ । अहिलेको समयमा सञ्चार माध्यमलाई नै बढि जिम्मेवार र उत्तरदायी बनाऊ । सञ्चार संस्थाको संकटमा साथ दिएका पत्रकारलाई अहिलेको संकटमा नहटाउन बरु अझ बढि भुमिका, साथ दिन पहल र समन्वय गरौ । मुख्यत ः आँफु र आफ्नो भुमिका संस्था र समाजका लागि अपरिहार्य छ भन्ने स्थापित गरौ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->