फाईल तस्विर
बागलुङ, ६ साउन– कालीगण्डकी नदिको अबैध दोहन गरिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका-८ खनियाघाटबाट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । कालीगण्डकी नदिको पश्चिम किनारामा बाढीको अनुगमनमा पुगेको बागलुङ प्रहरीको टोलीले नदी दोहन गरिरहेको देखेपछि पर्वत प्रहरीलाई खबर गरेको थियो । खनियाघाटका स्थानीय समेतको सक्रियतामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अबैध उत्खनन् गर्नेलाई पक्राउ गरेको विषयमा पर्वत प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ ।
तत्कालै घटनास्थलमा पुगेको पर्वत प्रहरीको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको खबर गृह मन्त्रालयसम्म पुगेको छ । ‘नदिजन्य पदार्थको अबैध उत्खनन्मा संलग्नहरु प्रहरीले समातेको साथीहरुले जानकारी गराएपछि गृह सचिवलाई जानकारी गराएको छु’ बागलुङका प्रतिनिधिसभा सदस्य डा.सूर्य पाठकले भने ।
तर, पर्वत प्रहरीले भने कसैलाई पनि नियन्त्रणमा नलिएको दाबी गरेको छ । ‘हाम्रो टोली त्यहाँ पुगेको हो तर पक्राउ परेको विषयमा जानकारी छैन’ पर्वत प्रहरी प्रमुख विश्वराज अधिकारीले भने ‘पक्राउ परेको भए हामीलाई जानकारी हुनुपर्ने हो ।’
बागलुङ प्रहरीसँग कालीगण्डकी किनार पुगेका बागलुङका अधिबक्ता राम शर्माले दोहन गर्ने पक्राउ परेको पुष्टि गरे । ‘हामीले पक्राउ गरेको देखेका हौ,ं पछि के हुँदैछ जानकारी भएन’ शर्माले भने ‘पर्वत प्रहरीलाई जानकारी नभएको विषय शंकाको बिषय हो ।’





