सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पानीजस्तै बग्दै सडकको लगानी

पानीजस्तै बग्दै सडकको लगानी

एक बर्ष टिक्दैनन् करोडौं खर्चेका सडक


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७७, बुधबार

बागलुङ, ७ साउन– बडिगाड गाउँपालिकाको खाल देखि नजिकैको गाउँ पुग्ने सडकले गत बर्ष एक घर पुरेको थियो । चालु बर्ष दर्जन घर जोखिममा पारेको छ । जतासुकै पहिरो खसेका छन् । जतिबेला पनि घरमा क्षति पुग्न सक्छ ।
ती घर मात्र हैन, कतिपय स्थानमा खसेका पहिरोले सडकनै खोला जस्तै बनाएको छ । ढुंगा र माटोले सडक छेउका घरमा जोखिम बढाएको छ । भीमगिठे नजिकै खसेको पहिरोले मध्यपहाडी लोकमार्गमा यातायात चल्नै कठिन बनाएको छ । ती सबै पहिराहरु शाखा सडक निर्माणको क्रममा खसेका हुन् । बिना योजना, बिना नापजाँचले खनिएका ती सडकले राजमार्ग मात्र नभई धेरै घरबस्तीमा जोखिम निम्त्याएको छ ।
अघिल्लो बर्ष २ करोड लगानी जलजला र रणसिंकिटेनी सम्म पुग्ने सडकमा असार मसान्त अघि पनि १ करोड खर्च भएको छ । बर्षालागेपछि यहाँ सबारी गुडेका छैनन् । बरु दैनिक पहिरो खसेर गाउ“गाउ“ पुग्नेले पैदल यात्रा गर्नुपर्छ । गाउँपालिकाको एक मात्र गौरबको आयोजना भएकोले गत बर्ष २ करोड, त्यस अघिका बर्ष बार्षिक एक करोडको दरले खर्च भैरहेको छ । दशक अघिनै ट्रयाक खुलेकोले मर्मत र चौडा पार्न मात्र उक्त बजेट खर्च भएको हो । यहाँका अन्य ग्रामीण सडक पनि अहिले पूर्ण ठप्प छन् ।
‘लकडाउनको समय भएपनि सडकले बस्ती छुनुपर्छ भनेर काम लगाइयो, अहिले अधिकांस स्थानमा पहिरो खसेर हैरान बनाएको छ’ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘धेरै बजेट सडक मर्मतमा खर्चेर सकिएको छ, हामीलाई भूगोलले साथ नदिंदा धेरै खर्च व्यहोर्नु पर्छ ।’ झण्डै २५ किमी ट्रयाक खुलिसकेको यो सडकमा बर्षेनी गरेको लगानी बग्ने गरेको छ । सुख्खा समयमा सामान्यजस्तो लाग्ने यो सडक बर्षातमा क्षत बिक्षत हुने गरेको हो । सडकबाट बगेर आउने बाढीले मध्यपहाडी लोकमार्ग पनि पटक पटक अबरुद्ध बन्दा थप खर्च बढीरहेको छ । माथिल्ला घुम्तीबाट खस्ने पहिरोले तल्ला घुम्तीहरु भत्काएको छ । सडकमा नाली नकाटेको र रिटेनिङ पर्खाल नभएकोले बर्षेनी यो जोखिम मोल्नुपरेको पाइजा बताउँछन् ।
‘कसरी सुरक्षित बनाउने भनेर केही स्थनमा संरचना बनाएका पनि छौं, तर भूगोलको कठिनाइले बर्षातमा सधैं सास्ती भैरहेको छ’ उनले भने, ‘घुम्ती सुधार गर्ने र पानीको निकास दिगो बनाउने योजना पुरा नहु“दा सास्ती बढेको हो ।’ केही खण्डमा पक्की नाली बनाएर पानी तर्काउन थालेको उनले बताए । सिंगो सडकको खण्डमा गाउ“पालिकाको बजेटले धान्न नसकेकोले प्रदेश र संघिय बजेटको खोजी भएपनि पाउन नसकेको उनले गुनासो गरे ।
असार लागेपछि अध्यक्षले आफ्नै घर पुग्न पनि जिप चढ्न पाएका छैनन् । पैदलै जानुपर्दा उनकै घर पुग्न तीन घण्टा लाग्छ । तत्कालिन जिबिसले पनि बर्षेनी यो सडकमा लगानी गथ्र्यो । अहिले पनि गाउँपालिकाको सबैभन्दा धेरै बजेट लगानी भैरहेको छ । तर ग्रेड नमिलेको, साँघुरा घुम्ती र भीरैभीरको बाटो भएकोले जोखिम मोल्नु परेको स्थानीयले बताए । सडकमा हिड्नेले मात्र होइन, ग्वालीचौरका अधिकांस बस्तीमा पनि यो सडकबाट जोखिम बढीरहेको छ ।
‘धेरै बर्षात भएको बेला माथिबाट पहिरो खस्छ की भनेर डराउनुपर्छ’ स्थानीय होटल व्यवसायी ज्ञानेन्द्र गलालले भने, ‘पहिरो खस्यो भने बस्ती सखाप पार्छ ।’ केही बर्ष अघि पनि यहाँ पहिरो खसेर दर्जनौ घर पुरिएका थिए । धेरै मानिसको ज्यान गएको थयो । ‘सडकको ट्रयाक खुलेदेखि अहिले सम्म कति करोड खर्च भयो भन्ने लेखाजोखा छैन, तर लगानीको उपलब्धीपनि देखिएको छैन’ जलजलाका भूपाल श्रीषले भने, ‘गाउ“पालिकाको काममा जा“दा सधैंको सास्ती छ । पैदल गएपनि घण्टौं हिड्नुपर्छ, सडकले पैदल बाटोपनि बिग्रेका छन् ।’ सडकको ट्रयाक खुलेपछि पैदल बाटाहरु क्षतबिक्षत भएको उनले बताए ।
गाउँपालिकाको मुख्य सडक भएकोले जलजला, ग्वालीचौरको केही खण्ड, रणसिंकिटेनी र शिसाखानी सम्म पुग्न यही सडकमा हिड्नुपर्छ । अति आबस्यक काम नभए सम्म बजार झर्नपनि स्थानीय डराउने गरेको श्रीषले बताए । स्थानीयले बर्षातमा नुन, तेल र खाद्यान्न चाहिएमा पिठ्यु“मै बोक्न बाध्य छन् । गर्भवती महिला, बुढाबुढी र बिरामीले यो सडकमा यात्रा गर्दा सबैभन्दा धेरै सास्ती खेपेको रणसिंकिटेनीकी माया बलालले बताईन् ।
‘हामी त बजार झरेर बसेका छौं, गाउँमा बसेकाले बर्षातमा कति दुःख पाउ“छन्, बताउन सक्दिन’ बलालले भनिन्, ‘कम्तिमा एउटा सडक राम्रो भैदिए स्वास्थ्य उपचार र खाद्यान्न ढुवानीमा सहज हुन्थ्यो ।’ भलबाढी पसेर खेतीपातीपनि बर्षेनी बिनास गरेको उनले बताइन् । हरेक बर्ष डोजर लगाउने प्रवृत्ती अन्त्य गरेर पक्की संरचना बनाउने भनेपनि साना घुम्ती भएकोले चौडा पार्न खोज्दा पहिरोको समस्या बल्झेको उपाध्यक्ष अमरबहादुर श्रीषले बताए ।
‘सडकमा संरचनाबढी बनाउने लक्ष राखेकोले तुलनात्मक कम क्षति छ’ उनले भने, ‘जोखिम भने घटेको छैन ।’ अधिकांस सडकमा डोजर लगाएर खन्ने क्रम कम गर्नुपर्ने उनले बताए । सडक योजनामा बजेट परिचालन गर्दा रिटेनिङ पर्खाल, नाली र कजवे सँगै डिजाइन गरेर मात्र खन्नुपर्ने उनले बताए ।
यो गाउँपालिकाले वडा नं. ८ को भेडिखोर र किटेनी सहित पुरानोगाउँ सम्म सडक लैजान अझै लगानी गरिरहेको छ । सडकको ट्रयाक पुरा नहुँदै क्षति बढीरहेकोले संरक्षणका योजना पनि स“गै ल्याउन स्थानीयले सुझाव पनि दिएको श्रीषले बताए । केही दिनदेखिको बर्षातले सिगाना देखि बरेङ हुँदै गुल्मी जोड्ने सडक, मालढुंगादेखि भैरबस्थान जाने सडक, कुश्मीसेरा देखि बरेङ जाने र अन्य धेरै ग्रामीण सडकमा पनि दर्जनौ पहिरोले जनजीवन सास्ती बनाएको छ । ती सडकमा गरिएका लगानीपनि समयमा सदुपयोग नभएपछि हैरानी खेप्नुपरेको स्थानीय बुझाइ छ ।
‘असारको झरी सुरु भएपछि सडक खन्न थालिन्छ, त्यसैले अहिले बग्ने हो’ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘स्थानीय तहको बजेटमा बन्ने सडक हिउ“दमा बनाउन सकेमा रकम पनि बच्ने, पहिरो पनि थामिने हुन्छ ।’ केन्द्र सरकारकोझै बजेट कुरेर बस्ने भए स्थानीय सरकारको औचित्य नभएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->