आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

श्रमजीवीहरुको पेशाको सुरक्षा

श्रमजीवीहरुको पेशाको सुरक्षा


  • शिवशरण ज्ञवाली
  • साउन ७ २०७७, बुधबार

पत्रकारितालाई हतारिएको साहित्य भनिन्छ । पत्रकारिताको समयसीमाले सोच्ने फुर्सद दिदैन । परिष्कार परिमार्जनको अवसर दिँदैन । रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताले यो हतारलाई अझ द्रुत गराइदिएको छ । निमेष निमेषमै सूचनाका भोकाहरु यी माध्यम सुन्ने हेर्ने गर्दछन् । दिनभर खोज लेख अनि साँझ अबेर सम्पादन संशोधन गरेर राती प्रकाशनमा पठाउने काम प्रेस पत्रकारितामा हुन्छ । यो सजिलो काम हुँदै होइन । परीक्षामा उत्तर लेख्न परीक्षार्थीलाई सधै गारो हुन्छ । कहाँबाट सुरु गरु र कहाँ अन्त्य गरु कि बिचमा थुप्रै कुराहरू छुटिरहेका हुन्छन् । हलबाट बाहिर निस्कँदा चुकचुक् गर्नुपर्ने कुराहरु थुप्रै भेटिन्छ । समाचार लेख्नहरुको कथा व्यथा पनि यही नै हो । चुकचुक् कम्प्युटरको किबोडको आवाज जस्तै चलिरहेको हुन्छ ।
सिर्जनासँग विद्यार्थी शिक्षक साहित्यकारले बाहेक पत्रकारहरु पनि खेल्छन् । उनीहरुको लेखन यथार्थ उतार्न केन्द्रित हुन्छ । साहित्यको लालित्यभन्दा घटनाको यथार्थ र गहिराइको खोजी पत्रकारहरु गर्दछन् । घटनाको सपाट प्रस्तुति नेपाली पत्रकारिताको सबैभन्दा ठूलो कमजोरी हो । उदाहरणका लागि तत्कालीन माओवादी र एमाले बीचको सहकार्य र एकताको सन्दर्भ । सत्ताधारी दलले विपक्षीसँग काँध मिलाउने सुइँको मिडियाले थाहै नपाउनु बडो अजीबको कुरा थियो । अपवाद छाड्ने हो भने पत्रकारिताको अवस्था यही हालतबाट गुज्रिएको छ । न मिसन पत्रकारिता छ न खोज पत्रकारिता छ । पत्रकारिताको सदुपयोगभन्दा दुरुपयोग बढी छ । यी तमाम कमजोरीहरुका बाबजुद पत्रकारिताले कही न कही कतै न कतै आवाजहीनहरुका आवाजलाई सम्बोधन गरेको पाइन्छ । त्यही जगमा नेपाली पत्रकारिताको धरातल खडा भएको छ ।
पत्रकारिता अलि फरक व्यवसाय हो । जसले विज्ञापन दिन्छ उसले सञ्चार माध्यमको खासै उपयोग गर्दैन । जसले पत्रपत्रिका पढ्छ उसले पत्रकारिता व्यवसायमा आर्थिक योगदान दिदैन । तर अप्रत्यक्ष योगदान सन्चार माध्यमको उपयोगितामा नै निर्भर गर्दछ । जुन सञ्चार माध्यम बढी लोकप्रिय हुन्छ उसले नै बढी विज्ञापन पाउँछ । विज्ञापन त सन्चार माध्यमको जीवनको एक महत्वपूर्ण आधार हो । त्यो आधारको निर्माण सम्पादकीय पक्षमा भर पर्दछ । सम्पादकीय गुणको सिर्जना सम्पादक पत्रकारहरुबाट हुन्छ । सम्पादक पत्रकारबिना पत्रकारिताको कल्पना पनि गरिदैन । तर ती श्रमजीवी हुन् । मालिकले लगानी गर्दछ । उसको ध्यान मुनाफामा नै केन्द्रित हुन्छ । तसर्थ ऊ सम्पादकीय स्वतन्त्रताको हस्तक्षेपका ओर्लन्छ । थौरै पत्रकार सम्पादकले मात्रै आफ्नो पेशत्व जोगाएका हुन्छन् । धेरैमा मालिक सम्पादक हुन्छन् । उनीहरुमा पत्रकारिताका मर्मभन्दा पनि मुनाफा मुख्य बनेको हुन्छ । त्यसकारण उनीहरु कतै राजनीतिक आड लिन्छन् त कतै व्यापारिक आड लिन्छन् । चाहे मोफसलका साना सञ्चार माध्यम हुन् या कथित मूलधारे र मै हुँ भन्ने ठूला सञ्चार माध्यम नै किन नहुन् दुवैको नियत र नियति यही कुराको वरिपरि छ ।
कोरानाको विश्वव्यापी संकटबाट निस्सासिएको मान्छे अझै यो अजीव राक्षसबाट कति पीडित हुने हो अनुमानित गर्न सक्ने कुरा रहेन । ठूलाठूला वैज्ञानिक र दर्शन निरन्तर असफल छन् । यसको सबैभन्दा बढी मार सीमान्तकृत समुदायले नै खाएको छ । ठूलाठूला नेता, व्यापारी, धनाढ्यहरू त अपवादबाहेक यो रोगको मारमा खास परेका छैनन् । गरिब मजदुरहरु नै बढी पीडित हुनुपरेको छ । शारीरिक, आर्थिक आदिआदि हिसाबले नै यो वर्ग पीडित छ । यो संकटको बेला सञ्चार माध्यमहरुले पनि एक खालको कठिनाइ भोगिरहेका छन् । श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण किसिमले सूचना सम्प्रेषण गरिरहेका छन् । स्वयं पत्रकारहरु कोराना पीडित बन्न पुगे । कोही पनि व्यवस्थापकले यस्तो अवस्थाको सामना गर्नु परेन । तर आज उल्टै श्रमजीवीहरुलाई अवकाश दिएका समाचार आएका छन् । उनीहरुलाई अन्यायपूर्ण तवरले बिदा गर्नुलाई जायज मान्न सकिन्न । कसरी उनीहरुको पेशागत सुरक्षा गर्ने भन्ने व्यवस्थापनले सोच्नु आवश्यक छ । त्यसो भयो भने मात्रै पत्रकारिता जोगिन्छ । केवल मुनाफाका हिसाबले सोचिदा पत्रकारिता जोगिदैन । श्रमजीवीहरुको पेशागत सुरक्षामा मेरो ऐक्यबद्धता छ । शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->