बागलुङ, ७ साउन – विश्वकै दोश्रो अग्लो बन्जीजम सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङ बलेवामा निर्माण गरेको नेपालकै अग्लो र नमुना गुलेली विधिको पिङ बुधबारबाट सञ्चालनमा आएको छ। कालीगण्डकी नदिको खोँचमा निर्माण भएको बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।
जमिनबाट १२ मिटर अग्लो गरी बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ, तर यो खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ, अनि पिङ मचिन्छ ।
पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको छ । पिङ खेल्न प्रतिब्यक्ति २ सय रुपैयाँ लाग्ने सञ्चालक कार्कीले बताए ।
विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको यो कम्पनीले अन्य गतिविधि समेत गर्ने जनाएको छ । यो क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको सञ्चालक कार्कीले बताए ।





