पर्वत, ८ साउन– पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा निर्माणाधिन बृहत लिफ्टिङ खानेपानी आयोजना बाढी पहिरोका कारण जोखिममा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण झण्डै १३ करोड रुपैयाँको लागतमा निर्माणाधिन आयोजना जोखिममा परेको हो ।
बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पु¥याएको छ । खानेपानीका संरचनाको संरक्षणका लागि लगाईएको पक्कि पर्खालसमेत बाढीले बगाएको वारीबेनी बृहत लिफ्टिङ खानेपानी आयोजनाका सल्लाहकार नगेन्द्र थापाले बताए ।
आयोजना स्थलको माथिपट्टी भूपि शेरचन राजमार्ग स्तरोन्नतीका कारण पहिरो झरिरहेको र अत्याधिक वर्षासँगै कालस्गण्डकीमा आएको बाढीले आयोजना जोखिममा परेको वारीबेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए ।
२०७२ सालदेखि निर्माण सुरु गरिएको आयोजना नेपाल सरकारको सहलगानी कार्यक्रमअन्र्तगत सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भैरहेको छ । आयोजनाको कुल लागत १२ करोड ४३ लाख ७४ हजार रहेको छ । यसमा सरकारको ८ करोड ७० लाख ६२ हजार र उपभोक्ताको ३ करोड ७३ लाख १२ हजार सहभागिता छ ।
आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९ सय ५४ घरधुरी लाभान्वित हुने छन् । कालीगण्डकीको पानी शुद्धिकरण गरेर लिफ्टिङमार्फत उपभोक्ताका घर घरमा खानेपानी पु¥याउने आयोजनाको लक्ष छ ।
पूर्वाधारको काम अन्तिम चरणमा पुगेको आयोजनामा बाढी र पहिरोले क्षति पु¥याएका कारण आयोजना सञ्चालनमा आउन थप समय लाग्ने रेग्मीले बताए । जलजलाको वडा नं. २, ३, ४ वारीबेनी, लामाखेत, पर्बत बगरमा एक घर एक धारा खानेपानी पु¥याउने उद्देश्यले निर्माणधिन आयोजना अन्तिम चरणमा पुगेको थियो । बाढीपहिरोले करोडौंका संरचनामा क्षति पु¥याएकाले व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।
खानेपानी आयोजनासँगै रहेको जुगेधारा खेल मैदानमा समेत बाढीले क्षति पु¥याएको छ । प्रदेश सरकारको एक गाउँपालिका एक खेलमैदान कार्यक्रमअन्र्तगत निर्माण भएको उक्त खेलमैदान कालीगण्डकीको कटानमा परेको हो ।





