
बागलुङ, ९ साउन– सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकहरु अवरुद्ध भएपछि बागलुङ बजारमा दुधको अभाव भएको छ । तीनदिन यता सडक अवरुद्ध हुँदा दुधको ढुवानी रोकिँदा बजारमा अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा ठाउँ ठाउँमा झरेको पहिरोका कारण काठेखोला गाउँपालिकाबाट बागलुङ बजारमा बिक्रीवितरणका लागि आउने दुध रोकिएको छ । सडकको अन्य विकल्प नभएका कारण काठेखोलाको बिहुँ, भिमापोखरा लगायतका ठाउँका किसानले उत्पादन गरेको दुध रोकिएको संघका अध्यक्ष दिपक गौतमले बताए ।
यस्तै, कालिगण्डकी करिडोरसमेत पहिरोकै कारण अवरुद्ध हुँदा जिल्लाको दक्षिण क्षेत्रको दुध ढुवानी रोकिएको छ । दक्षिणका बलेवा, कुश्मीशेरालगायतका क्षेत्रका किसानले उत्पादन गरेको दुध ढुवानीमा समस्या भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ ।
बलेवाबाट झोलुङ्गे पुलमार्फत पर्वत सदरमुकाममा केही दुध ढुवानी भएको भएपनि बागलुङ बजारमा दुध आएको छैन । ‘सहकारीले ल्याएको दुध बेचिन्थ्यो, तीन दिन भयो दुध आएको छैन’ मिलन डेरीका सञ्चालिका हिरादेवी शर्माले भनिन् ‘पोखराबाट दुध ल्याएर बेच्नुपर्ने अवस्था आईसक्यो ।’
ढुवानी रोकिएपछि किसानको दुध खेर गएको छभने बजारमा उपभोक्ताले दुध पाएक छैनन् । ‘थोरै दुध हुनेले त मोही बनाएर ध्घू निकालेका छन्’ बागलुङ पशु स्रोत विकास फार्मका अध्यक्षसमेत रहेका गौतमले ‘फार्मको दुध खोलामा बगाउनुको विकल्पै छैन ।’
बागलुङ बजारमा दैनिक ३ हजार ५ सय देखि ४ हजार लिटर सम्म दुधको खपत हुने गरेको छ । त्यो मध्ये झण्डै २ हजार ५ सय लिटर दुध किसानहरुले बनाएका सहकारी मार्फतनै बजारमा वितरण हुनेगरेको गौतमले बताए । ‘बाटो खुलाउने अझै छाँटकाँट छैन्, पानी परिरहेकाले पहिरो झरेको झरै छ’ गौतमले भने ‘जनतन एक हजार लिटर दुध मात्रै पछिल्लो तीन दिन यता बजारमा बिक्री भएको छ ।’
मध्यपहाडी लोकमार्गको बोक्सेमा गएको पहिरो पञ्छाउने काम भैरहेको भएपनि पहिरो झरिरहेकाले थप समस्या भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरको पहिरो पञ्छाइनसक्दै पहिरो थपिने गरेकाले सवारी आवतजावतमा समस्या छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध भएर दुधको ढुवानीमा समस्या हुँदा सबैभन्दा धेरै मर्कामा व्यवसायीक किसानहरु परेका छन् ।
अभावको मौका छोपेर सदरमुकाममा रहेका केही डेरी पसलहरुले उपलव्ध भएको थोरै दुधसमेत दहि बनाएर राखेका छन् । दुधभन्दा दहिको मुल्य बढी पर्ने भएकाले ठुला डिलरले दही बनाउँदा साना डिपोहरुमा दुधको अभाव भएको सञ्चालकहरुको गुनासो छ ।





