बागलुङ, ९ साउन – स्थानीय तह गठनपछि बालिएको सडक बत्तिको बागलुङ नगरपालिकाले २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ ।
नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक बर्ष २०७६÷०७७ को प्रगती समीक्षामा उक्त जानकारी दिएको हो । अघिल्ला बर्षहरुको तुलनामा बक्यौता घटाउने क्रम चलिरहेको छ । तिर्न बाँकीमध्ये संस्थागत रुपमा सबैभन्दा धेरै नगरपालिकाकै रहेको हो ।
जनप्रतिनिधि आउनुअघिको बक्यौता स्थानीय विकास मन्त्रालयले तिरेको थियो । स्थानीय सरकार भएकोले अबको बक्यौता भने पालिकाहरुलेनै तिर्नुपर्ने प्रावधान छ । प्राधिकरणको बागलुङ बितरण केन्द्र प्रमुख शिवनारायण गोशलीका अनुसार, टोल विकास संस्थामा मीटर राखेर सबैले तिर्ने व्यवस्थापन मिलाइदिन नगरप्रमुखसँग आग्रह गरेको बताए । नगरप्रमुखले रकम तिर्नेबारे चासो भने नराखेको उनले बताए ।
त्यसबाहेक ढुंगागिटीको कारोवार गर्ने दुइवटा क्रसर उद्योगले पनि बक्यौता तिरेका छैनन् । बक्यौता नउठेको र लकडाउनको कारण काममा अवरोध आएपछि अघिल्लो वर्ष लक्षको ९६ प्रतिशत राजश्व संकलन गरेको केन्द्रले असार मसान्तमा ९३ प्रतिशत मात्रै संकलन गरेको गोशलीले बताए ।
सरकारी कार्यालयहरुमा धेरै बक्यौता रहने गरेकोमा केही वर्षदेखि घट्दो दरमा रहेको उनले जानकारी दिए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले अघिल्लो वर्षको १२ लाख बक्यौता भएको जानकारी पाएको बताए । ‘उक्त रकम के कसरी लागेको हो, स्पष्ट आधार ल्याउनुहोसु भनेका थियौं, त्यसपछि माग्नु भएको छैन’ उनले भने, ‘केन्द्रीय सरकारबाट आउने अनुदानबाट तिर्ने गरिएकोमा केही बर्षदेखि रोकिएको हो ।’ यो बक्यौताबारे प्राधिकरण र संघिय मामिला मन्त्रालयबीच छलफल गरेर तिर्ने उनले बताए ।
गोशलीका अनुसार, अघिल्ला वर्षसहित असार मसान्तसम्म २ करोड ९८ लाख ७२ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ । बक्यौता नतिरेकालाई कालो सूचीमा राखिएको छ । केन्द्रले गत वर्षसम्म ९७ जनालाई कालोसूचीमा राखेकोमा असार मसान्तमा ८९ जनालाई कालोसूचीमा राखेको छ । केहीले बक्यौता तिरेर कालो सूचीबाट आफ्नो नाम हटाएका छन् । उनका अनुसार, व्यक्तिबाट मात्रै ७ लाख ५९ हजार रुपैयाँ उठ्न बाँकी छ । जिल्लामा २६ हजार ८ सय ७० घरधुरीमा मीटर जोडेर बिद्युत आपूर्ति गराएको छ ।
केन्द्रले एक बर्षमा १ दशमलब ४७ प्रतिशत विद्युत चुहावट पनि घटाएको छ । अघिल्लो वर्ष १५ दशमलब ७८ प्रतिशतको चुहावटलाई गत बर्षको असारमा आइपुग्दा १४ दशमलब ३१ प्रतिशत पु¥याएको हो । एक बर्षभर समयमा महसुल नतिरेका ३ सय २४ जना ग्राहकको लाइन काटेर २० लाख ६१ हजार जरिवाना समेत असुल गरिएको हो ।
केन्द्रले चालु वर्षभित्रै बुर्तिवाङसम्म राष्ट्रिय प्रसारण लाइन पु¥याउने लक्ष राखेको छ । उक्त लक्ष भेट्नका लागि विद्युत पोल गाँडिएको छ । तार टांग्ने र बुर्तिवाङ तर्फ मीटर जडानका काम तत्काल थाल्ने गोशलीले जानकारी दिए ।
हाल मोदीबाट सिधै धौलागिरीका सबै स्थानमा बिद्युत वितरण हुँदा लाइन जाने खतरा बढेकोले बागलुङका बिभिन्न स्थानमा सब–स्टेशन बनाएर लाइन काटिने खतरा कम गर्न लागिएको हो । हाल निर्माणाधिन खुर्कोट सबस्टेशनबाट ३३ केभी प्रसारण लाइन बिस्तार गरेर यो समस्या समाधान गर्ने उनले बताए ।
केन्द्रले बागलुङ, गलकोट, बलेवा, कुश्मीसेरा र बुर्तिवाङमा महसुल संकलन केन्द्र संचालनमा ल्याएको छ । त्यस्तै सदरमुकामसहित बलेवा, मुलपानी स्थित पावरहाउन, बिहुँ, गलकोट र बुर्तिवाङमा नोलाइट सेवा संचालन गर्ने उनले बताए ।
हाल रहेका रामरेखा र हरिचौरका सबस्टेशनलाई बढाएर ६ वटा बनाएपछि मात्रै लाइन काटिने समस्या समाधान हुने समेत बताइएको छ । रामरेखाको सव–स्टेशको समेत क्षमता बढाएकोले लाइन काटिने समस्या समाधान भएको भन्दै हावाहुरी र वर्षातले रुख ढल्दा मात्रै लाइन काटिने गरेको उनले दाबी गरे ।





