बागलुङ, १० साउन– खेतबारी बाँझो, युवा विदेशमा ! काम गर्ने जनशक्तिको अभाव र उव्जनीमा किसानको विश्वास कम भएकै कारण कृषिजन्य उत्पादन निर्यात गर्ने गलकोट नगरक्षेत्रमा अहिले तरकारीसमेत बाहिरी बजारबाट आउँछ ।
‘खेतीयोग्य जमिन प्रसस्तै छ तर उव्जनी घटेको छ’ नगरप्रमुख भरत शर्मा ग्रह्रेले भने ‘अब हामी उत्पादन बढाउनेतिर लागेका छौं ।’
कोरोना कहरले देश फर्केका युवाको परिचालन गरेर कृषिजन्य उत्पादन बढाउने योजना नगरपालिकाले बनाएको छ । नगरले युवाहरु आँफैमा कृषि प्रतिको उत्प्रेरणा जगाउने योजनामा छ । कृषिमा आत्मनिर्भर बनाउन ‘मेरा लागि म आफै उब्जाउँछु’ कार्यक्रम तयार भएको छ । ‘नगर प्रमुख रोजगार कार्यक्रम’ र महिलासँग उपप्रमुख रोजगार कार्यक्रम’लाई सदुपयोग गर्ने योजना नगरको छ । ‘जमिन हुने किसानले बाँझो नराखुन्, कम्तिमा आँफुलाई चाहिले अन्न र तरकारी आँफैले उत्पादन गरुन्’ गैरे भन्छन् ‘आयात प्रतिस्थापन नै निर्यातको आधर बिन्दु हुनेछ ।’
नीति तथा कार्यक्रममै कृषिलाई प्राथमिकतामा राखेर स्वरोजगारमुलक उत्पादनमा लगाउने योजना नगरले बनाएको छ । ‘नगरप्रमुख रोजगार कार्यक्रम’ २८ लाख बजेटको हो । ‘महिलासँग उपप्रमुख रोजगार कार्यक्रम’लाई ४० लाख बजेट छ । अंकका हिसाबले सानो देखिने बजेटबाट परिणाम प्रभावकारी निकाल्ने योजना रहेको नगर प्रमुख रेनुका काउचा बताउँछिन् ।
सातौँ नगरसभाबाट आगामी दुई वर्षमा तरकारीमा आत्मनिर्भर, पाँच वर्षमा मासु तथा मासुजन्य पदार्थमा आत्मनिर्भर गराउने योजना बनाएको नगरले वडास्तरमा ‘मेरा लागि म आफै उब्जाउँछु’ कार्यक्रम सञ्चालनमा ल्याउने छ । लक्ष प्राप्तीका लागि यो कार्यक्रम प्रभावकारी हुने नगरका प्रवत्ता हिमबहादुर भण्डारीले बताए ।
आफ्ना लागि आवश्यक अन्न, तरकारी तथा माछा मासुजन्य पदार्थ आफै उत्पादन भएमा मात्र कृषिमा आत्मनिर्भर गर्न सक्ने उनको धारणा छ । सामुहिक तथा सहकारीमार्फत खेती गर्ने, दरमखोलाको असला माछा संरक्षण गर्ने, विदेशवाट आएकालाई रोजगारी सृजना गर्ने काममा प्रोत्साहन गर्ने नीति लिएको प्रमुख गैरेले बताए ।
किसानलाई उत्पादनका आधारमा अनुदान, प्रबिधि मैत्री कृषि प्रणाली, तालिम गोष्ठी र अनुभव आधार प्रदानका आधारमा उत्पानसँग युवा जोड्ने योजनामा नगरपालिका छ । ‘देशमै तिलोत्तमा नगरपालिका र मुसीकोट नगरपालिकाका प्रयास राम्रा छन् भन्ने सुनेको छु’ गैरे भन्छन् ‘उहाँहरुका अनुभव हेरेर थप योजना र विधि बनाउँछौं ।’ गलकोटले युवालाई व्यवसायीक बनाउँदै कृषिमा आत्मनिर्भर हुने योजना अघि सारेको छ ।





