पर्वत, ११ साउन–गत जेठ ३१ गते राती पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा बस्तीमाथिबाट आएको पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भयो । घट्नाले सिंगो देश नै शोकमा डुब्यो । पहिरो कसरी गयो ? र, दुर्लुङको जमिनको अबको अवस्था के छ ? भन्ने बारेमा पत्ता लगाउन खानी तथा भूगर्भ विभागबाट भूगर्वविदहरुको टोली नै दुर्लुङमा आयो ।
टोलीले सडक निर्माणका क्रममा जमिन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याँकिदा तथा साइड ड्रेन (नालीहरू) व्यवस्थित नहुँदा पहिरो गएको निष्कर्ष निकाल्यो । टोलीले विकासे परियोजना संचालन गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी गाउँ बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने सुझाव पनि दिएको छ ।
माटो र भौगोलिक अवस्थाको बारेमा अध्ययन गरेको टोलीले दुर्लुङको पहिरो आसपासमा रहेका १० घरलाई अझै पनि सुरक्षित स्थानमा सार्न नसके थप बर्षाका कारण थप क्षति हुन सक्ने भनी आफ्नो अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा आएको पहिरोको विषयमा अध्ययन गरेको भूगर्वविदको टोलीले आफ्नो अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको हो ।
अध्ययनले पहिरो जाँदाको दिन करिब ३ घण्टासम्म लगातार मुसलधारे वर्षाको कारण भिरालो जमिनमा पहिरो उत्पत्ति भई सतहको माटो र रुख बिरुवा समेत बगेको तथा केही तलको समथर स्थानमा छोटो समय थुनिन गई एक्कासि विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्तीमा पहिरोले बगाएर ल्याएको गेग्रान थुप्रिई २ घरमा क्षति पुग्नुको साथै आसपासका १० घर उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ ।
‘पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आंकलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।’ अध्ययनको नेतृत्व गरेका भूगर्वबिद शिवकुमार बास्कोटाले भने, ‘पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ ।’
प्रतिवेदनमा काफलबोट\काउलेका ७ घर र खेतसहितको जमिन अस्थिर भई तलतिर बिस्तारै सर्ने क्रममा रहँदा घरहरू ढल्केको तथा चर्केको अवस्थामा पाइएकोले त्यो ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ । ढकालबारीदेखि नुवारखोलासम्मको ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्वविद बास्कोटाले बताए । उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ ।
भूगर्भविद्को रिपोर्टका आधारमा पहिरोबाट पूर्ण क्षति भएका २ तथा आसपासका १० घर, काफलबोट÷काउलेका ७ घर र ढकालवारिदेखि नुवारखोलासम्म रहेका घरहरू सुरक्षित स्थानमा सार्न सहरी विकास मन्त्रालय मार्फत काम हुने छ । त्यसै गरी पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइन्जिनियरिङको कामलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत थप अध्ययन गरी अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।





