पर्वत, १४ साउन– गत जेठ ३१ राती ९ जनाको ज्यान लिन गरी कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीका पहिरो पीडितलाई पर्वत मञ्च हङकङले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा पर्वतबाट हङकङमा रहेका तथा नेपालका विभिन्न ठाउँबाट गएकाहरूले ११ लाख २५ हजार रुपैयाँ पठाएका हुन् ।
पीडित परिवारका सदस्यहरूलाई पर्वत मञ्च हङकङका प्रतिनिधि एवं चारभञ्ज्याङ तमु समाज, हङकङका निवर्तमान अध्यक्ष गङ्गाबहादुर गुरुङ र कुस्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले सहयोग हस्तान्तरण गरेका थिए । आर्थिक सहयोग सङ्कलन अभियानको नेतृत्व गरेका पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ रकमसँगै पठाएको लिखित सन्देशमा हङकङबासीबाट सङ्कलन गरेको सहयोग रकम प्रत्यक्ष रूपमा पीडित परिवारसम्म पु¥याउन पाउँदा खुसी लागेको बताएका छन् ।
वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार दुर्लुङका पहिरो पीडितलाई हालसम्म देश तथा विदेशबाट झन्डै डेढ करोड रुपैयाँ जति राहत स्वरूप सहयोग आएको छ। आफूहरूले नगरपालिका मार्फत एकद्वार प्रणालीबाट सहयोग सङ्कलन गर्न खोजे पनि त्यो भने सफल नभएको उनको भनाई छ ।
कार्यक्रममा ९ जना मृतकमध्ये तुलबहादुर थापा र मिना थापाको छोरा सम्राट थापा र विविशा थापाका बुबा अमरबहादुर थापालाई जनही ४ जना मृतकको ४ लाख ६० हजार रुपैयाँ, दीपा थापा र विवेक थापाको जनही २ जनाको गरी २ लाख ३० हजार रुपैयाँ, कमला विक, जेनिश विक र प्रमिशा विकको जनही ३ जनाको विकास विकलाई ३ लाख ४५ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
साथै, सामान्य क्षति भएका ६ जना भुवन गिरी, नन्दी गुरुङ, पशुपति थापा, उजेली शर्मा, हस्तदेवी पाध्या र विनोद सार्कीलाई १५ हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ राहतस्वरुप आर्थिक सहयोग वितरण गरिएको थियो ।





