बागलुङ, १४ साउन– टेलिफोन सेवा प्रदायक संस्था एनसेलले उच्च शिक्षा तथा माध्यमिक विद्यालयहमा अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न दिने भएको छ । बुधबार एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)बीच एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने समझदारी भएको हो ।
अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक÷शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्नेछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा दिईने समझदारीमा उल्लेख छ ।
यस विशेष योजनाअन्तर्गत विद्यार्थीले मासिक रु. २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी÷फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउने एनसेलले जनाएको छ । यसैगरी मासिक रु. ३५० (करबाहेक)को योजना पनि उपलब्ध छ ।





