पोखरा, १५ साउन– अन्नपुर्ण केबलकार प्रालिले गएको वैशाखमा पोखरा–१८, सेदीफाँटदेखि सराङ्कोटसम्म पुग्ने केबलकारको प्राविधिक परीक्षण गर्ने तम्तयार अवस्थामा थियो । चैत्र महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरि नेपाली नयाँ वर्ष २०७७ मा परिक्षण गरि पर्यटकको लागि खुलाउने तयारी थियो । चिनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको कारणले योजना ठप्प हुनपुग्यो । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले राष्ट्रिय गौरव योजना अन्तर्गत रहेको उक्त केबलकारको ९५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
केबलकार सञ्चालनमा ल्याउनको लागी लठ्ठा र गोन्डुला (बट्टा) राख्न बाकिँ छ । जापानी प्रविधिमा बनेको उक्त केबलकारको लागी लठ्ठा र बट्टा राख्ने प्राविधिक जापानबाट नै आउनेछन् । लकडाउनको कारण विमानस्थल बन्द हुँदा प्राविधिक टोली भने आउन सकेका छैनन । ‘केबलकारका लागि सम्पूर्ण सामान आइपुगेको छ, अब सबै जडान गर्ने काममात्र बाँकी रहेको छ । भित्र तारको लठ्ठा हालिसकेर बट्टा जडान गरी प्राविधिक परीक्षण गर्नमात्र बाँकी छ’, निर्माण कम्पनी सञ्चालक मध्येका एक तीर्थराज त्रिपाठीले भने । ३४ वटा बट्टा ( गोण्डला) क्षमता भएको केबलकारका लागि तत्काल ५० प्रतिशत मात्र बट्टा राखिनेछ । प्राविधिक परीक्षणमा १८ वटा मात्र बट्टा राखिने र एउटा सामान बोक्नका लागि प्रयोग गरिनेछ भने अन्य १७ वटाले यात्रु बोक्नेछ । ‘हामीले सुरुवातमा १८ वटा मात्र गोन्डला राख्नेछौं, पछि यात्रुको चाप बढ्यो भने थप गोन्डला राख्नेछोै’ त्रिपाठीले भने । जापानबाट ३ जनाको प्राविधिक टोली आउने तयारी भएपनि लकडाउनको कारणले नआउँदा ४ महिनादेखि काम ठप्प भएको हो ।
जापानबाट आउने प्राविधिक टोलीले केबलकारको सुपरभिजन गरेपछि केबलकार सञ्चालनमा ल्याइनेछ । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा ८ जनाको सिट क्षमता रहनेछ । माथिल्लो स्टेशनमा (सराङकोट) भवनसहित स्काइहेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर रहेका छन् । तल्लो स्टेशनमा (सेदी) पार्किङ, गार्डेनसहितको संरचना निमार्ण भएका छन । स्टेशन निर्माण गर्ने विषयमा पहिला स्टिल फेब्रीकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखेपनि पछि आरसीसी (कंक्रिट) मोडलमा निमार्ण गरिएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन,जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रतिघण्टा १ हजार ५ सय पर्यटकलाई सेवा दिनसक्ने क्षमताको केबलकार निर्माण भएको उनको भनाइ छ । केबलकारबाट फेवातालको किनार सेदीबगरदेखि ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ ।





