सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महिनादिन देखि सडक बन्द पेट्रोलियम पदार्थको अभाव

महिनादिन देखि सडक बन्द पेट्रोलियम पदार्थको अभाव

संकटसँग संघर्ष गर्दै मुस्ताङ


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७७, बिहिबार

तस्विरः निरज थकाली/ठिनी

बागलुङ, १५ साउन– जमिनको बाटो बाढीले बगाएको २६ औं दिन भयो । आकाशको बाटोसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ र अत्यावश्यक वस्तु तथा सेवाको उपलव्धता सामान्य समयमा जस्तो छैन् ।
सबै विकल्प बन्द भएपछि जिल्लामा उपचार हुन नसक्नेगरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले मुस्ताङबासीलाई पिरोल्न थालेको छ । हिमालपारीको जिल्ला मुस्ताङका सर्वसाधारणलाई यसवर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका मुस्ताङका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको विक्री वितरणमा समस्या भोग्नु परेको छ ।
गत असार १९ गते भीषड वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्र्तगत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि मुस्ताङ पुग्ने सडकमा अर्को ठुलो बज्र प¥यो ।
‘हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौं, नदिको किनार छुनेगरी गहिरिएको छ’ प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले भने ‘घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरी पहिरो खस्यो ।’ मुस्ताङ प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छभने कतै सडकका कल्भर्टनै छैनन् । ‘एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्’ उनले भने ‘वर्षा रोकिँदा साथ काम त थालेका छौं, बनाएको केहीबेरमै बगाएको छ ।’
सडक सम्पर्क टुटेको मुस्ताङमा हवाईसेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए । पछिल्लो केही दिन यता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले मुस्ताङ पूर्ण रुपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद भएको छ ।
सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ‘खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न’ मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र प्रसाद तुलाचनले भने ‘तेल, ग्यास छैन् ल्याउने बाटो छैन् ।’
मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । ‘बजारमा अनुगमन गरेर तेल खोज्दा ६ व्यारेल मात्रै पाईयो’ प्रजिअ अर्यालले भने ‘कम्तिमा म्याग्दीको सिमासम्मको सडक चले तेलको समस्या टर्ने थियो ।’
सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेहरुलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीले बताए । ‘किसानका बारीमा आलु खन्ने बेला भयो, गाजर पनि राम्रो फलेको छ’ थकालीले भने ‘बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।’ सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उनले बताए । मुस्ताङको आलु पोखरा, काठमाण्डौ लगायतका ठुला शहरहरुमा निर्यात हुन्छ ।
‘भण्डार गरेर राख्दा किसानलाई फाईदा हुँदैन, गाजर कुहिने सम्भावना छ’ उनले भने ‘यो वर्ष आलु, गाजरमा गरेको लगानी खेर जानेमा किसान चिन्तित छन् ।’ ठाउँ ठाउँमा भत्किएको सडक मर्मत गर्न समय लाग्ने उनले बताए । स्थानीय सरकारले मात्रै सडक मर्मत गर्नसक्ने अवस्था नरहेकाले समयमा प्रदेश र केन्द्र सरकारले समय ध्यान दिनुपर्ने उनको भनाई छ ।
‘भदौदेखि स्याउ विक्रीका लागि तयार हुन्छ तर बाटो बन्ने छाँट छैन’ थकालीले भने ‘स्याउ पनि रोकियो भने मुस्ताङलाई ठुलो क्षति पुग्छ ।’ मौसम सफा भए जहाजमा आउजाउ महंगो भाडा तिरेर गर्न सकिने भएपनि किसानको उत्पादन निर्यातमा भने समस्या हुने उनको गुनासो थियो । खराब मौसमका कारण मुस्ताङका सर्वसाधारण अत्यावश्यक आवतजावतका लागि चार्टर गरेका हेलिकप्टरसमेत बिचमै रोकिने गरेको उद्योग बाणिज्य संघका अध्यक्ष तुलाचन बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->