पोखरा, १५ साउन – पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालनको तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको हो । पहिलो चरणमा वडा नम्बर १, ५, ८, १०, १३, १६, १७, १९, २६ र २७ मा यो अभियान सञ्चालन गरिनेछ ।
अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ । मुल समितिको बिहीबार भएको बैठकमा अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेम सुझाव समेत संकलन गरिएको छ ।
बैठक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फोहोर मध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौशी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए । पुन प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नै पर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने बताए ।
बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घर, घरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिना भित्रमा फोहोर मैला व्यवस्थापन, मूल्य लगायतका मापदण्ड निर्माण गरी स्वकृतिको लागि महानगरमा सिफासिर गर्ने निर्णय गरेको छ ।
अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मुल समिति र सचिवालय समिति गठन गरी फोहोर मैला व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको मुल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिइन् । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ । बैठकमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सबैको साथ, सहयोग र सुझावलाई समेटेर अभियानलाई अगाडि बढाइने बताए ।





