बागलुङ, १६ साउन– बागलुङको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आधार कृषि, पर्यटन, व्यवसाय र व्यापार हो । लामो लकडाउनको मारमा परेका यहाँका पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ व्यवसाय सरकारको निर्णयसँगै विहिबारदेखि सञ्चालनमा आएका छन् ।
लकडाउन खुलेपनि पहिलेजस्तो चलायमान अवस्था भने आउन सकेन । धार्मिक पर्यटक धेरै आउने बागलुङमा लकडाउनको असर निकै गहिरोसँग परेको छ ।
गण्डकी प्रदेशमा चर्चामा रहने गरेका यहाँको कालिका भगवती मन्दिर, पञ्चकोट, शालिग्राम संग्राहलयलगायतका धार्मिक पर्यटकीय स्थलहरु भक्तजनका लागि खुल्ला गरिएको भएपनि दर्शनार्थी आएका छैनन् । ‘लकडाउन खुल्यो तर मन्दिर सुनसाननै छ’ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने ‘मन्दिरमा निर्धक्क प्रवेश गर्न डराएको जस्तो देखियो ।’
लकडाउन खुलेपनि कोरोनाको संक्रमण बढिरहेको र त्यसको उचित व्यवस्थापन हुन नसकेका कारण मानिसहरु निर्धक्क बाहिर हिँडडुल गर्न डराएको उनको टिप्पणी छ । मन्दिरको दर्शन गरी बागलुङ घुम्ने भनेर यहाँका व्यवसायी तथा पर्यटनसँग सम्बन्धित व्यक्तिहरुका सम्पर्कमा रहेपछि सबैको एउटै प्रश्न छ ‘कत्तिको ढुक्कसँग आउन सकिन्छ ?’
साउनको महिना भएकाले सोमबार र विदाको दिनमा यहाँका धार्मिक पर्यटकीय क्षेत्रमा दर्शनार्थीको उल्लेख्य उपस्थिती हुनुपर्ने हो तर विगतको जस्तो अहिले छैन । खेतीपातीको समय सकियो । खेतमा धान र बारीमा कोदो, मकै, आलुलगायतका खेती गरेका यहाँका किसान बजार झरेका छैनन् । अत्यावश्यक कामबाहेक बजार कोही नआएको व्यवसायीहरु बताउँछन् ।
बागलुङका होटल तथा रेष्टुराँ व्यवसायीको आधार पर्यटन हो । सरकारी तथा गैह्र सरकारी संघ संस्थाले सञ्चालन गर्ने सभा, सेमिनार, गोष्ठी र तालिमजस्ता कार्यक्रमहरुबाट गर्जो टार्दै आएका थिए । व्यवसय खुल्ला गरेको भएपनि भीड र धेरै मानिस जम्मा हुनेखालका कार्यक्रममा रोक लगाईएकाले खोल्नका लागि मात्रै होटल तथा रेष्टुराँहरु खुलेका व्यवसायीहरु बताउँछन् ।
‘मुस्ताङ, मुक्तिनाथ जाने, ढोरपाटन र पञ्चकोट घुम्नेहरुको बास हुन हाम्रा होटलहरु’ होटल तथा रेष्टुँरा व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भने ‘नत सभा सेमिनार, नत धर्म गर्न र घुम्न हिँडेका आउँछन्, ढोका त खुले तर कारोवार हुने छाँट छैन् ।’ व्यवसाय सञ्चालनका लागि लामो दुरीका सवारी, आन्तरिक हवाई उडानलगायतका क्षेत्रमा लगाईएको रोक हटेपछि मात्रै सहज हुने राजभण्डारीले बताए ।
चार्डपर्वको समयमा सबैखाले व्यवसायमा सकारात्मक प्रभाव हुन्थ्यो । जनैपुर्णिमा, तीजजस्ता पर्वहरु नजिकिँदासमेत कपडा तथा फेन्सीको कारोवार र सुन तथा खाद्यान्न सबैखाले व्यवसायको कारोवार स्थिर रहेको उनीहरुको भनाई छ ।
लकडाउनकै समयमा यहाँ निर्माण सम्पन्न भएको विश्वकै लामो झोलुंगे पुलले समेत आन्तरिक पर्यटक आकर्षित गर्ने आशा थियो । तर, पुल सञ्चालनमा ल्याउँदा पनि अझै केही महिना पर्यटकको आकर्षण हुने छाँट नदेखिएको खड्काले बताए ।
बागलुङमा रहेका झण्डै तीनदर्जन बढी सामुदायीक घरबास, प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र र व्यवसायीक केन्द्रहरु चार महिनादेखि सुनसान अवस्थामा छन् । आन्तरिक रुपमा चलेका साना सवारीको माध्यमबाट अत्यावश्क कामको लागि ओहोरदोहोर गर्नेबाहेक स्वस्फुर्त घरमै बस्नेहरुको संख्या कोरोनाले बढाएको छ ।





