
बागलुङ, १८ साउन– नेपाल–चीन कुटनीतिक मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठको अवसरमा चीनले नेपाल पक्षलाई आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
शनिबार मुस्ताङको कोरला नाकामा द्विपक्षीय सुरक्षा अधिकारी सहभागी भएर दिवस मनाएका छन् । कार्यक्रममा चीनपक्षबाट कोरला नाकामा खटिएका चिनियाँ सुरक्षा अधिकारी, सशस्त्रका डिएसपी निमा र जनपथका दोर्जे तेन्जिङ सहभागी थिए ।
वर्षगाँठको अवसरमा नेपाल पक्षले चीन पक्षका सुरक्षा अधिकारीलाई चीन सरकारले गर्दै आएको सहयोग र सद्भावको प्रशंसा गर्दै प्रशंसा–पत्रसहित नेपाली ढाकाटोपी र खुकुरी उपहार दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।
यस्तै, दिवसकै अवसरमा चीनपक्षले पनि नेपाल पक्षलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चीन पक्षले सीमा नाकामा खटिने नेपाल पक्षको बिओपी प्रहरीलाई दंगा नियन्त्रण तथा व्यवस्थापन गर्ने राइट कन्ट्रोलका सामग्री उपलब्ध गराएको बिओपीका कमान्डर सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल–चीन पक्षका सुरक्षा अधिकारीले करिब २ घण्टा छलफल गरेका थिए । छलफलमा दुबै देशको कुटनीतिक संम्वन्धलाई प्रगाढ तुल्याउन आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएको प्रजिअ अर्यालले जानकारी दिए ।





