बागलुङ, १८ साउन– वर्षौं पहिले कालीगण्डकीले खोँच बनाएपछि छोडेको बगर । हिउँदमा सुख्खा जमिन, छेउछाउका चिलाउने र बाँसका रुखले मान्छेलाई नै गिज्याउँथे । वर्षात्को समयमा सिरुको घारी लाग्ने । काँस बढेर सेताम्मे हुन्थ्यो हिउँद । माटोको मक्कल तर खेतीपाती गर्न बाँदरको बिगबिगी । बागलुङ नगरपालिका–१४ नारायणस्थानको नेपाने गाउँका स्थानीयले सोचेकै थिएनन् गाउँ गुल्जार बन्ला भनेर ।
समथर जमिन भएकोले पानी पुग्ने ठाउँमा धानखेती र घरगोठ छेउछाउका पाटामा बारी बनाएर कोदो मकै लगाउँथे । छेउछाउको जमिन भने हिउँदमा गाईवस्तुको चरण र वर्षाको समयमा घाँसे मैदान थियो । खानेपानीको समेत अभाव रहेको नेपानेमा सिंचाईका लागि पनि पानीको अभावनै थियो ।
‘वर्षाको पानी संकलन गरेर कयौं वर्ष धान रोपियो’ स्थानीय प्रेम प्रसाद पौडेल विगत सम्झदै भन्छन् ‘खेती लगाए पनि आकाशकै भर पर्नुपथ्र्याे ।’ खेतीपातीको लागि सिंचाई नभएको जमिन सिरुको घारी हुनुको विकल्प थिएन । नेपानेका स्थानीयले आफ्नो जग्गाको विकल्प त नखोजेका होईनन् तर भेटेका थिएनन् ।
अहिले नेपाने गुल्जार छ । ताराबहादुर बस्नेतको गाई फारामले नेपानेमा दुध उत्पादन गर्छ । गणेश खड्का र प्रेम खड्काले संयुक्त रुपमा चलाएको पंक्षी फारामले मासुका लागि कुखुरा उत्पादन गरिरहेको छ । धौलागिरी पोलिटेक्निकल इन्टिच्युटले खाली भएको गाउँ भरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले यो इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अहिले व्यवसायीक सिप सिक्ने र प्राविधिक शिक्षामा यहाँका युवापुस्ताको आकर्षण बढेको छ । त्यसैले उनीहरु बाहिर जान छोडेको पौडेल बताउँछन् । दि क्लिफ प्रा.लि.ले सञ्चालनमा ल्याएको रिसोर्टका कारण नेपानेको मुहार फेरिएको छ ।
‘हिजो तरकारी किनेर खाने हामी अहिले तरकारी बेच्छौं’ नेपानेकै खोपलाल खत्रीले भने ‘गाउँमा केही छैन भनेर विदेशिएका युवा फर्केका छन् ।’ गाउँमा खुलेका रोजगारीका अवसरले स्थानीय धेरैलाई गाउँ फर्काएको हो । कालीगण्डकीमाथि बञ्जीजम्पका लागि नेपाने कुश्मा जोडेर पुल बनेको छ । त्यहिँ पुल बनाउने दि क्लिफ नामको कम्पनीले नेपानेमा २३ रोपनी सिरुघारी हुने जमिन लिएर रिसोर्ट चलाएको छ ।
‘रिसोर्टमा हाम्रो वडाका दर्जन बढिले रोजगारी पाईसके’ वडा अध्यक्ष चक्रबहादुर खत्री भन्छन् ‘अहिले अवस्था बद्लिएको छ ।’ रिसोर्ट तयार भएपछि त्यस आसपासमा बनाइएका संरचनाले गाइवस्तु चर्ने चौरमा पर्यटक डुल्ने बनाएको खत्री बताउँछन् ।
रिसोर्ट छेउको पिंङ खेल्न र बन्जी जम्पको पुल तरेर दैनिक १ सय ५० भन्दा धेरै आन्तरिक पर्यटक नेपाने पुग्ने गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । ‘बञ्जी सञ्चालनमा आएको छैन्, पिङ खेल्न र पुल घुम्न पर्यटक आउनुभएको छ’ कार्कीले भने ‘सामान्य शुल्क तिरेर यि सबै देख्न र घुम्न पाईन्छ ।’
धौलागिरी पोलिटेक्निकल इन्स्टिच्युटसँग विद्यार्थी र शिक्षकसमेत गरेर झण्डै २ सय जना नेपानेमा बस्छन् । उनीहरुले दैनिक प्रयोग गर्ने दुध, तरकारी, मासु फलफुलजस्ता उत्पादनसँग नेपानेका स्थानीय जोडिएको वडाध्यक्ष खत्री बताउँछन् । ‘विद्यार्थी शिक्षक आँफैले पनि उत्पादन गर्छन्, गाउँको पनि बिकेको छ’ उनले भने ‘सबै संरचनाले हामीलाई फाईदै भयो ।’
कोराना कहरका कारण बञ्जी सञ्चालनमा नआएको र रिसोर्ट तथा फार्महरुमा समेत प्रसस्त काम नरहेकाले तत्कालका लागि रोजगारीका अवसर कम छन् । महामारीको कहरपछि स्थानीय ५०÷६० जना प्रत्यक्ष रोजगारीसँग जोडिने उनले बताए । ‘लगानी बाहिरबाट भित्रिएको छ, काम यहाँ चलेको छ’ उनले भने ‘हामी त स्थानीय हो नि भनेर नेपानेका भद्र महिला सबैले रोजागरी पाउने वातावरण बनेको छ ।’ युवाहरुले चलाएका गाई तथा पंक्षी फार्मले रोजगारीको सिर्जना गरेकाले नेपानेले मुहार फेरेको उनको भनाई छ ।





