आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

ईः अर्थात् एक आशालाग्दा युवा

ईः अर्थात् एक आशालाग्दा युवा


  • दिवस गुरुङ
  • साउन १९ २०७७, सोमबार

श्रावण १० गते । साँझ सात बजेको समय । परेवाका जोडीहरु गुडमा फर्किसकेका हुन्छन् । यता केही तन्नेरी जोडीहरु भने भर्खर जम्न थाल्छन् नजिकैको बेन्चमा । छेवैमा छ मामाको चिया पसल । त्यहीँ कोही सुकुल त कोही मुडामा बसी चिया पिउनेको छुट्टै जमात बन्छ । निमार्णाधिन अवस्थामै छन् भुकम्पले भत्काएका नौ ताले दरबार अनि संग्राहलय । सडकमा थापिएका अस्थायी स–साना पसलमा हुने किनबेचको दिनभर भीड पातलिदैँ गएसँगै सुनसान बनेको डबलीमा फेरि रौनक थपिन्छ, प्रश्नेल नेपाल ब्यान्डको सांस्कृतिक कार्यक्रमले । मादल अनि गीतारको धुनसँगै विभिन्न देशभक्तिका सन्देश बोकेका गीतहरु गुन्जिन्छन् । अनि प्रेमिल बन्छ वसन्तपुरको माहोल । मानिसहरुको उपस्थिति बाक्लिदै जान्छ । नजिकै छन् त्रिपाल टाँगेर बनाइएका दुई अस्थायी टहराहरु । एकमा छन् १५ दिनदेखि सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ का अभियान्ता ईः अनि अर्कामा छन् उनको यस अभियानमा समर्थन गर्दै अनसनरत युवाहरु । १५ दिनदेखि न खाना, न पानी, हरेक दिन १ पोका सलाइन पानीको भरमा छन् उनी । कमजोर बनेको छ शरीर तर उनी यति सजिलै हार्ने पक्षमा छैनन् । उनी हार्नु भनेको सिंगो नेपाल अनि नेपाली जनताहरुले हार्नु हो । यति सजिलै आम जनताको स्वास्थ्यसँग सरकारलाई खेलवाड गर्न दिने पक्षमा छैनन् । साँझ परेसँगै उनी न आँखाहरु उघार्न सक्छन्, न बोल्न नै । पहिलो सत्याग्रहको १२ औं दिन अर्थात् असार २२ गते सरकारसँग गरिएको १२ बुँदे सम्झौता १ हप्तामै कार्यान्वयन गरिने भनिएता पनि सरकार लाचार बनिरह्यो । त्यही सहमति कार्यान्वयन गरी समयमै कोरोना रोकथाममा सरकारको तदारुकता देखाउन दोस्रो पटक १५ औं दिनदेखि सत्याग्रहमा रहेका उनै हुन्, २५ वर्षिय ईः ।
फरक परिवेशमा हुर्केका थिए उनी । सानैमा विदेशिएका थिए उनका बुबा । कहिले मावली त कहिले घरकै हजुरबाको सामिप्यमा हुर्किदै गए । उनले विस्तारै समाज बुझ्न थाले । फरक थियो उनको बुझाई । अनि लाग्यो, आफ्नो अन्तरमनको आवाजलाई न्याय दिलाउन समाजले निर्धारित परिधि वा बन्धनबाट मुक्त हुनुपर्छ । परिवार त्यागेको मात्र दश वर्षभन्दा बढी भइसक्यो । सँगै उनले आफ्नो नाम र जात पनि त्यागे र आफैले नाम राखें ईः ।
सेन्ट जेभियर्समा कक्षा दशको सुरुमै उनले विद्यालयबाट राजिनामा दिए । विद्यालयको घोकन्ते शिक्षाबाट उनी आजित भइसकेका थिए । कक्षा कोठाको चार पर्खालभित्र सीमित बन्धनमा रटेर पढ्नुभन्दा खुल्ला आकाशमा प्रकृतिमाझ पढ्ने उनको हुटहुटी जाग्यो । अनि उनले विद्यालय जान नै छोडिदिए । अनि सुरु भयो उनको अनौपचारिक शिक्षा ।
राजावादी राजनीतिक पृष्ठभुमिमा हुर्केका थिए उनी । पढाई छाडे पश्चात उनी राजनीतिमा लाग्ने संकल्प गरे । कमल थापालाई भेटेर पार्टीमा समावेश गराउन उनले अनुरोध गरे तर सानै उमेर भएकाले थापाले मानेनन् । तर उनी जर्बजस्ती राप्रपाका विभिन्न कार्यक्रममा सहभागी हुन थाले । प्रायः विभिन्न गाउँहरु कुना–कन्दराहरु चहार्दै राजनीतिक चेत बाँड्दै हिँडे । करिब दुई वर्ष मरिमेटी पार्टीमै लागे । राजनीतिक विचार र मुल्य मान्यताको त्यस सीमित बन्धनबाट उनी अघाए र एक्कासी एक दिन उनले पार्टी छाडे । अनि जाग्यो उनमा नेपालको कुना–कन्दरा चहार्ने भोक । त्यो पनि पैदल यात्राबाटै ।
सन् २०१५ मा मधेस दन्किएको थियो मधेस आन्दोलनको आगो । राष्ट्रिय एकता अनि आम नेपालीलाई एकताको सुत्रमा बाध्ने हेतुले उनले त्यही वर्ष हुलाकी राजमार्गहुँदै मेचीदेखि महाकालीसम्म एकताको सन्देश बाँड्दै पैदलयात्रा गरे । विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटे । यस यात्राले थप नेपाल घुम्ने भोक जाग्यो उनमा । अनि सन् २०१७ को मध्यदेखि २०१८ को मध्यसम्म उनले नेपाललाई तीन फन्को मारे । २१९ दिन पैदल यात्रामै बिताएँ । करिब ६००० कि.मी. पैदलबाटै नेपालको माटो स्पर्श मात्र गरेनन्, फरक ठाउँ, परिवेश अनि त्यहाँको यर्थाथ दुःख पीडा उनले मज्जाले छामें, अनुभव गरे अनि सामाजिक सञ्जालमार्फत अरुलाई बाँड्थे ।
विस्तारै उनी सामाजिक मुद्दाहरु माथि आवाज उठाउन थाले । उनलाई युवाहरु नजागेसम्म देश माथि उठ्न नसक्ने मनमा लागिसकेको थियो । चीनको युवान प्रान्तबाट कोरोना महामारी विश्वभर फैलिदै गयो । जनवरी २३, २०२० मा नेपालमा पनि पहिलो संक्रमित भेटिएता पनि नेपाल सरकार अनि नेताहरु नेपाललाई कोरोना फ्रि–जोन बनाउने चक्करमै लागिपरेका थिए । विस्तारै अरु देशहरुमा भुसमा आगो सल्केझै कोरोना केही हप्तामै महामारीको रुप लिन थाल्यो । हरेक दृष्टिकोणले सम्पन्न शक्तिशाली राष्ट्रहरु कोरोना सामु घुँडा टेके । यता नेपालमा भने पर्यटनमन्त्रीले पर्यटन वर्षलाई यथावत अगाडि बढाउने अडानमा देख्दा उनी छक्क पर्थे । विभिन्न देशको यर्थाथ अवस्था र उनीहरुको गरेका लापरवाहीबारे उनले अध्ययन मात्र गरेनन्, नेपालमै यस्तो अवस्था आउन कतिबेर नलाग्ने उनको निष्कर्ष थियो ।
नेपालमा पनि दोस्रो कोरोना संक्रमित देखिएसँगै चैत ११ गतेबाट लकडाउन लागू भयो । विस्तारै नेपालमा संक्रमित थपिदै गए । सरकार भने यसको चेकजाँच अनि रोकथामका लागि तदारुकता देखाउन सकेन । भारतमा रोजगारका शिलशिलामा गएकाहरु फर्कदा महिनौं बोर्डरमै रोकिए । विदेशबाट नेपाल फर्कन इच्छुक ल्याउन सरकारको कुनै सक्रियता देखिएन । महामारीको समयमा भ्रष्टचार अनि राजनीतिक खिचातानीमा लिप्त सरकारको विरोध उनले सामाजिक सञ्चालबाट गर्न थाले । शब्दमार्फत आक्रोश पोख्थे । ‘मार्चतिर पब्लिक हेल्थ विज्ञहरुले सरकारलाई पि.सि.आर.को दायरा बढाउनुको विकल्प नरहेकाले यसको वृद्धि गर्न सरकारसँग माग गरेको थियो,’ उनले थपे, ‘हामीेले पनि यसलाई सुनुवाई होस् भनेर स्वास्थ्यमन्त्रीलगायत उच्च तहमा भएकाहरुलाई एस.एम.एस पठाउन थाल्यौं तर सरकारबाट कुनै प्रतिक्रिया नै आएन । सरकार मौन रहिरह्यो ।’
हरेक जिल्ला जिल्लामा पि.सि.आर मेसिन राख्ने, आर.डि.टी.लाई पूर्ण रुपमा रोकेर पि.सि.आर.को दायरा बढाउन, क्वारेन्टिनको स्तरमा सुधार र फ्रन्ट लाइनमा खटिएकाहरुका लागि पिपिई व्यवस्था गर्न सरकारसँग कोरोना माहामारी रोकथाम कोषमा पुग्ने रकम नभएको हैन । उनलाई लाग्छ, सरकारलाई यो राम्रो अवसर थियो, जनताको आशा जित्ने तर सरकार लाचार बनिरह्यो । ‘विभिन्न ज्वालन्त मुद्दाहरु जस्तै एमसीसी वा नक्साका लागि सबैको आवाज उठेपनि जीवन–मरणको अवस्था सृजना हुन सक्ने कोरोना रोकथामका लागि कतै आवाज नै उठेन,’ उनले गुनासो पोख्दै भने, ‘आफ्नै देशको जनताको स्वास्थ्यसँग खेलवाड गर्ने सरकारसँग छिमेकी मुलुकले मिचेको सिमाना फिर्ता गर्छ भनेर हामी कसरी ढुक्क हुन सक्छौं ? देश भनेको केवल भुगोल मात्र हैन । त्यहाँ रहेका जनताहरु पनि हुन् । त्यसैले सरकारलाई झक्झकाउन म लगायत टोलीले सडक आन्दोलन गर्ने निर्णय ग¥यौं ।’
यस्तो अवस्थामा सडकमा आन्दोलनमा आउन त्यति उचित पनि थिएन, परिस्थितिले । तर बाध्य बनाएको थियो सरकारले । उनले इन्स्टाग्राममा पहिला सडकमा आउन इच्छुकहरुबारे बुझे । ४०० जनाले आउने प्रतिक्रिया दिए । ‘उनीहरुलाई ‘कोभिड १९ नेपाल – इनफ इज इनफ’ फेसबुक पेजमा एड गरे । विस्तारै लाखौं यस अभियानमा जोडिदै गए । ५०÷६० जना मात्र अपेक्षा गरेपनि बालुवाटारअघि मौन विरोध ¥यालीमा सयौं सहभागी भएका थिए । सरकार भीड देखेर डरायो । अनि नियन्त्रण गर्न शक्तिको प्रयोग गरियो, धेरैलाई समातेर पनि लगेका थिए,’ उनले भने ।
विस्तारै यो आन्दोलन नेपालभर फैलियो । पहिलो चार दिनमा मात्र देशभर करिब ९० भन्दा बढी विरोध कार्यक्रमहरु आयोजना भयो । हजारौं सडकमा उर्लिए । धेरैलाई यो अभियान कुनै बाहिरी शक्ति वा एजेन्डले निर्देशित छ, भन्ने आरोप उनी लगायत टोलीले नखेपेका हैनन् तर यो स्वतःस्फुर्त युवाहरुको आवाज भएको उनी ठान्छन् । सरकारलाई सडकबाटै झक्झकाउँदा पनि कुनै सुनुवाई नभएपछि अन्तिम विकल्पका रुपमा उनले सत्याग्रह बस्ने निर्णय गरे । उनलाई साथ दिदैं धेरै पछि जोडिदै आए ।
उनको सत्याग्रहको बुझाई– सरकारलाई सत्य बुझ्नलाई आग्रह ठान्छन् । असार १२ गते उनीलगायत अन्य सत्याग्रहीहरुले पाटन दरबारको परिसरमा सत्याग्रह सुरु गरेका थिए । ‘न यो सरकारको पक्षमा हो न त विपक्षमा नै । सिंगो बौधिक जमात भनौदाहरुले पनि मौन बसिरहे । यो सुतिरहेको सिंगो देशलाई ब्युँताउनका लागि थियो । वास्वतमा बौद्विक सत्यले मात्र मुक्ति दिलाउन सक्छ,’ उनी भन्छन् । १२ औं दिनमा उनी र अर्का सत्याग्रही पुकार बलले सरकारसँग गरेको १२ बुँदे सहमति एक हप्तामा कार्यान्वयन हुने गरी सम्झौता भएता पनि १४ दिन पुगिसक्दासम्म सरकारले केही प्रतिक्रिया देखाएन । अनि उनले दोस्रो सत्याग्रह वसन्तपुर दरबार परिसरमा श्रावण ३ गते सुरु गरे । पन्ध्र दिन भइसक्दा पनि सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । सुगर अनि ब्लड प्रेसर तलमाथि भइरहेको छ । कुनै पनि बेला उनलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था सृजना हुन सक्छ ।
आफ्नो जिम्मेवारबाट पन्छिएको सरकारलाई झक्झकाउने उनी र उनको टोलीलाई धन्यवाद दिनुको सट्टा सरकार उनीहरुको आवाजलाई दबाउन खोजिरहेको छ । उनीहरुलाई जेल कोचिरहेका छन् । तर यति सजिलै दबिने छैन, यो आवाज । किनकि यो आवाज केवल उनी र उनको टोलीको मात्र हैन, सिंगो नेपालीहरुको हो । समयमै यसको सुनुवाइ नभए सरकार र सिंगो नेपालले ठूलो मूल्य चुकाउनु पर्नेछ । हामीले कस्तो प्रतिनिधिहरु उठाएर सरकार बनायौं भन्ने यसबाट प्रष्ट हुन्छ । आफ्नो स्वास्थ्यको जोखिम मोलेर कैयौं नेपालीहरुको स्वास्थ्यका लागि बुलन्द आवाज बनेका ईः सबैका लागि प्रेरणाका स्रोत हुन् । उनीबाट सबैले धेरै सिकुन् । छिट्टै सरकारको ध्यान जाओस् अनि कार्यान्वयन गरुन् १२ बुँदे सहमति ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->