सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ज्यालादारीको भरमा विद्युत वितरण केन्द्र

ज्यालादारीको भरमा विद्युत वितरण केन्द्र

केन्द्रले ३१ जना ज्यालादारी कर्मचारी राखेर काम चलाउँदै आएको छ


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७७, मंगलबार

बागलुङ, २० साउन– दरवन्दी अनुसार कर्मचारीको नियुक्ति हुन नसक्दा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र करार सेवा तथा ज्यालादारी कर्मचारीको भरमा चल्दै आएको छ । प्राधिकरणले समयमा दरवन्दी अनुसारका कर्मचारीको नियुक्ति गर्न नसक्दा वितरण केन्द्रले करार र ज्यालादारीमा कर्मचारी राखेर नियमित सेवा दिदै आएको हो ।
वितरण केन्द्र बागलुङ शाखाको कार्यालय, ५ वटा महशुल संकलन केन्द्र र ६ वटा नो–लाईट/फ्युज सेवा केन्द्रबाट केन्द्रिय प्रसारण लाईनको काम हुँदै आएको छ । ५१ जना प्राविधिकको दरवन्दी रहेको केन्द्रमा २१ जनामात्रै प्राविधिक छन् । २७ जनाको दरवन्दी रहेको लेखा÷तथा प्रशासन शाखामा १४ जनामात्रै कर्मचारी रहेको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए ।
केन्द्रले ३१ जना ज्यालादारी कर्मचारी राखेर काम चलाउँदै आएको छ । करारमा १६ जना नियुक्त भएका छन् । ‘प्राविधिक शाखामा ४१ प्रतिशत मात्रै कर्मचारी छौं, ज्यालादारीका साथीहरु धेरै हुनुहुन्छ’ गोशलीले भने ‘प्रशासन र लेखाको काममा समेत करारका साथीहरु खट्नुभएको छ ।’
लामो दुरीको प्रसारण लाईन रहेको जिल्लामा प्राविधिक जनशक्ति कम हुँदा नो–लाईट सञ्चालनमा सस्या हुने उनले गुनासो गरे । ८२ जनाको दरबन्दी रहेको केन्द्रमा ३५ जना मात्रै स्थायी दरवन्दीका कर्मचारीले काम गरेका छन् । केन्द्रले सेवाक्षेत्र विस्तार गरिहरेकाले कर्मचारीको थप समस्या हुने जनाएको छ । यसैबर्ष बुर्तिवाङमा नयाँ विद्युतिकरण गर्नेगरी सो क्षेत्रमा नो–लाईट र महशुल संकलन केन्द्र स्थापना भैसकेको छ । केन्द्रिय प्रसारण लाईन नभएका ढोरपाटन, बडिगाड, ताराखोला, जैमिनी, काठेखोला र बरेङका गाउँपालिकामा विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
‘९५ प्रतिशत काम सकिएको छ, यसबाट ३ हजार घरधुरी लाभान्वित हुनेछन्’ उनले भने ‘ग्राहक संख्या बढ्दा कामको चाप स्वभाविक हिसाबले बढ्छ ।’ नियमित महशुल संकलन हुने बागलुङ वितरण केन्द्र, महिनाको दुई पटक महशुल संकलन हुने गलकोट संकलन केन्द्र, महिनामा एक पटक महशुल संकलन हुने बलेवा र कुश्मीशेरा संकलन केन्द्र र नयाँ सञ्चालनमा आएको र बुर्तिबाङ संकलन केन्द्रमा आवश्यकता अनुसार दरवन्दीका कर्मचारी छैनन् ।
कर्मचारी अभावका कारण प्रसारण लाईनको रुख बिरुवा हटाउने, पोल तथा प्रसारण लाईनको मर्मत, फ्युज जाँदाको समयमा फ्युज राख्न समय लाग्नेलगायतका समस्या हुने गरेका छन् । सबै कामको लागि ज्यालादारीमा कर्मचारी लिएर काम गर्नुपरेको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->