पर्वत, २१ साउन– मिर्गौलामा समस्या भएपछि त्यसलाई निको पार्न गर्नुपर्ने नियमित डायलाइसिस सेवाका लागि पर्वतका बिरामीहरु पोखरा र काठमाण्डौँ जानुपर्ने बाध्यता थियो। छिमेकी जिल्ला बागलुङमा डायलाइसिस सेवा उपलब्ध भएको भएपनि पर्वतका बिरामीहरुलाई त्यता जान अपायक लाग्ने भएकाले महंगो मूल्य तिरेर पनि पोखरा र काठमाण्डौँ जानुपरेको हो ।
मिर्गौलाको डायलाइसिस गर्न पोखरा, काठमाडौँ लगायतका ठाउँमा धाउन बाध्य पर्वतवासीले अब भने सदरमुकाम कुस्मामा रहेको पर्वत अस्पतालमै डायलाइसिस गर्न पाउने भएका छन् ।
सोमबार जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङकी अमृता शर्माको मिर्गौलाको पहिलो पटक परीक्षण रूपमा डायलाईसिस गरेर सुरुमा सेवाको परीक्षण गर्ने गरी डायलाइसिस थालिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । ‘पर्वत अस्पतालले प्रदान गर्ने सेवामध्ये यो नै अति महत्त्वपूर्ण सेवा हो ।’ उनले भने, ‘सोमबार अमृताको मिर्गौलाको डायलाइसिस गरिएको छ। मङ्गलवार मोदी गाउँपालिकाका २ जनाको गरिँदै छ ।’
१५ बेड क्षमतामा सञ्चालन भएको अस्पतालले डायलाइसिस सेवा सञ्चालन गर्न कठिन हुने भए पनि जिल्लाका गरिब र विपन्नता भएका बिरामीहरूले उपचारका लागि लाखौँ रुपैयाँ जुटाउन नसक्दा ज्यान गुमाउनुपरेको अवस्थाका कारण धेरै मिहिनेत गरेर चुनौती सहित सेवा सञ्चालन गरिएको पहाडीले बताए ।
अस्पतालमा ४ वटा अत्याधुनिक मेशिनबाट डायलाइसिस सेवा सुरु गरिएको हो। मिर्गौलाको डायलाईसिस गर्नुपर्ने जिल्लाका धेरै बिरामीहरू पोखरा जान्छन् त्यहाँबाट कोही काठमाडौँ र अन्य सुविधायुक्त सहरमा जाने गरेका छन्। बाहिरी जिल्लामा उपचारको लागि जाँदा आफन्तकोमा बसेर उपचार गराउनेहरूलाई आर्थिक भार कम परे पनि होटेल खर्च, यातायात लगायतको असुविधा भएकाहरू सबैभन्दा बढी मर्कामा परेका थिए । जिल्लामा नै सेवा पाउने भएपछि डायलाईसिसकै लागि काठमाडौँ रहेकी कुस्मा नगरपालिका ४ की एक जना बिरामी मङ्गलवार नै थप उपचारका लागि जिल्लामा फर्किन लागेकी छिन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार मिर्गौला डायलाईसिस सेन्टरमा ६ जना स्टाफ नर्स, २ जना मेडिकल अफिसर र १ जना प्राविधिक खटाएर २४ सै घण्टा सेवा प्रदान गर्ने तयारी थालिएको छ । तत्कालका लागि ४ ओटा मसिनबाट डायलाईसिस सुरु गरिए पनि आवश्यकताको आधारमा मेशिन थप गर्न सकिने पनि उनले बताए ।
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा नै समावेश भई आएको यो सेवाको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेपछि डायलाइसिसका लागि आवश्यक उपकरण सहित तालिम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा सुरु गरिएको हो । झन्डै १ करोड ३० लाखको लगानीमा सञ्चालनमा आएको उक्त सेन्टरबाट दैनिक ६ जना बिरामीको नियमित डायलाइसिस गर्न सकिनेछ भने ४ वटा मसिनबाट दुई सिफ्ट गरेर १२ जना बिरामीलाई जाँच सेवा दिन सकिनेछ ।
केही दिनसम्म परीक्षणको रूपमा सेवा दिएर औपचारिक उद्घाटन गरेपछि सेवालाई थप प्रभावकारी बनाउने अस्पतालको तयारी छ । जिल्लामा नै डायलाइसिस सेवा सुरु गरेको थाहा पाएपछि १५ जना मिर्गौला पीडितहरू सम्पर्कमा आइसकेको अध्यक्ष पहाडीले जानकारी दिए । सरकारले मिर्गौलाको डायलाइसिसलाई निःशुल्क गराएको छ । तर यसका लागि केही विधि पुरा गरेर सरकारबाट कार्ड लिएपछि मात्र निःशुल्क सेवा पाउन सकिन्छ । डायलाइसिसका लागि जाँदा सरकारले दिएको कार्ड लिएर गएपछि डायलाईसिसमा संलग्न चिकित्सक र अस्पतालका लागि बिरामीले कुनै पनि शुल्क तिर्नु नपर्ने तर औषधि भने बिरामी स्वयंले बेहोर्नुपर्ने पनि पहाडीले बताए ।
पर्वतमा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामीको यकिन तथ्यांक छैन । पर्वत अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्दा मिर्गौलामा समस्या देखिँदा अन्यत्र रिफर गरिएका बिरामीको तथ्यांक अस्पतालले राख्ने भए पनि आफ्नै तरीकाले सिधै बाहिरी जिल्लामा जानेहरू कति छन् भन्ने थाहा छैन । तर मिर्गौलाको उपचार गर्न नसकेपछि आर्थिक सहयोगको अभियानहरू भने धेरै नै चल्ने गरेका छन् ।





