फाईल तस्विर
पोखरा, २२ साउन– गएको आइतबार उपभोक्ता अधिकार मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले फेसबुकमा लेखे, ‘तरकारीको मूल्य किन यसरी बढेको रै’छ ?’
हुन् पनि, कहिले लकडाउन त कहिले बाढीपहिरोले बाटो अवरुद्ध भएको बहानामा तरकारीको मूल्य अस्वभाविक रुपले बढेको थियो । कोइरालाले फेसबुकमा पोष्ट् गर्ने बित्तिकै उपभोक्ताका लगालग प्रश्नहरु आए । अस्वभाविक रुपमा मूल्यबृद्धि भएको गुनासोसहित कारबाही गरिनुपर्ने माग फेसबुक कमेन्टमा गरिएका थिए । कोइरालालाई दवाव प¥यो । उनी कारण खोज्न लागे । उपभोक्ता अधिकार मञ्चले गरेको बजार अनुगमनमा मूल्यको निश्चित मापदण्ड नतोकिँदा बजार मूल्यमा एकरुपता आउन नसकेको निष्कर्ष निस्क्यो । ‘यहाँको उत्पादन कम भयो । इन्डियाबाट पनि यो बीचमा तरकारी आएन । उल्टै यताबाट गयो’, उनले भने, ‘यहाँको उत्पादन कम भयो र इन्डियाबाट पनि नआउँदा मूल्यबृद्धि भएको देखिन्छ । तर, यो मुल्यबृद्धि हुनुपर्नेभन्दा अलि बढी नै भएको छ । अस्वभाविक रुपमा बढाएको देखिन्छ ।’
बाहिरबाट सामान भित्रिन नपाउँदा स्थानीय उत्पादनहरुले आफ्नो मूल्य बढाएको उनको भनाई छ । आयात खर्च बढी हुँदा मूल्य बढे पनि अस्वभाविक मुल्य बृद्धि भएको उनले सुनाए । ‘ढुवानी खर्च बढेको हुनाले पनि मूल्य बढेको छ । तराईको उत्पादन क्षेत्र डुबानमा परेको छ । पहाडमा पहिरोले नष्ट बाढीपहिराले पनि नष्ट गरेको छ । तर, मौकामा चौका हानेको हामीले पाएका छौं’, उनले भने । जस्तो कि चिनीको खरिद मूल्य ८३ रहेकोमा त्यसकोे बिक्री मूल्य बढाएर ९३ पु¥याइएको उनले सुनाए । ‘हामीले यो नगर्नु भनेर भनेका छौं । रोकेका छौं जहाँजहाँ गएका छौं, त्यहाँ रोकेका छौं । जान नसकेको ठाउँमा मुल्यमा एकरुपता कायम गर्न भनेका छौं’, उनले भने ।
५८ रुपैयाँमा किसानबाट खरिद गरेको आलूको मुल्य ६३ मा होलसेलले दिने गरेकोमा खुद्राकहाँ पुग्दा ७० देखि ७२ सम्म पुग्ने गरेको उनले सुनाए । कतिपय बस्तुको खरिद मूल्य नै बढी देखिए पनि केहीमा मौका छोपेको पाइएको उनले जिकिर गरे । तरकारीमा एकचोटी कायम गरेको मूल्य एक महिनासम्म कायम राख्न नसकिने हुनाले पनि समस्या परेको उनले सुनाए । ‘तरकारीको मूल्य आज कायम गरेर एक महिनासम्म उही रहन्नँ । यो त एकदुई दिन भित्रमा पनि फेरिन सक्छ’ उनले भने, ‘यसले पनि समस्या पारेको छ ।’
तरकारिको अस्वभाविक बजार मुल्यबृद्धि रोक्न कृषि उपज बजारलाई दैनिक मुल्य तोक्न निर्देशन दिएको उनले बताए । यसले उपभोक्ता मारमा नपर्ने उनको धारणा छ । ‘हामीले तरकारीको मूल्य दैनिक अपडेट गर्न भनेका छौं, तपाईंहरुले आफ्नो बस्तुकोे मूल्य हरेकदिन बिहानै ५ बजे बोर्डमा राखिदिनुहोला, हरेक २४ घण्टामा राखिदिनुहोला भनिएको छ’, उनले भने, ‘ताकि उपभोक्ताले त्यो मूल्य जानकारी पाउन् र उनीहरुले खुद्रा किन्दा होलसेलमा यति थियो, खुद्रासँग किन्दा किन बढ्यो भनेर प्रश्न गर्न पाउन् ।’तरकारीको मूल्यलाई डिजिटल बोर्डमा राख्न पृथ्वीचोकको कृषि उपज बजार पनि राजी भएको उनले सुनाए । हरेकदिन मुल्य अपडेटको लागि फेसबुक पेज पनि तयार पारेर अपडेट दिन निर्देशन दिइएको उनले सुनाए । ‘मान्छेले हेर्नुप¥यो । उपभोक्तासम्म जानकारी पु¥याउन एउटा फेसुबक पेज बनाउने र हरेकदिन त्यसमा पनि अपडेट गर्ने, मान्छेहरुको आ आफ्नो हातमा मोबाइल छ । हरेक दिन बस्तुको मूल्य हेरेर लिन सक्छ’, उनले भने, ‘यदि मूल्य अस्वभाविक लाग्यो भने त्यो बिक्रेतालाई प्रश्न गर्नुप¥यो । बिक्रेताले नमाने हामीलाई खबर गर्नुप¥यो, हामी तत्काल कारबाहीमा उत्रिन्छौं ।’बिक्रेताले बिल दिने प्रचलन नहुँदा पनि समस्या परेको उनले बताए । बिल लिन दिने गर्दा बिक्रेताले खरिद गरेको मूल्य र बिक्री गरेको खुद्रा मूल्यबीचको आधिकारीक प्रमाण पाउन सकिए पनि बिल नदिदा मूल्य बृद्धि भएको थाहा हुँदाहुँदै पनि कारबाहीमा उत्रिन नसकिएको उनले बताए । ‘कतिमा किनियो, बेचियो भन्ने प्रमाण हामीसँग छैन । त्यसले गर्दा मुखले भनेको भरमा कारबाही गर्न प्रमाण जुट्दैन । बिल पनि अनिवार्य गर्न भनेका छौं’, उनले भने ।





