आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोरोना नियन्त्रणमा सबैको साथ

कोरोना नियन्त्रणमा सबैको साथ


  • दुर्गा भण्डारी
  • साउन २२ २०७७, बिहिबार

छिमेकी मुलुक चीनको बुआन शहरमा डीसेम्बर अन्त्यतिर कोरोना संक्रमितको संख्या बढ्दा कोराना भाईरसबाट मृत्यु हुँदासम्म प्रताडित हुनुपर्छ भनेर कोही नेपालीले सायदै सोचेका थिए । नेपालमा कोरोना आइपुग्दासम्म नियन्त्रणमा आउला अथवा बिज्ञानले यसको खोप पत्ता लगाउँला भन्ने आशा थियो । कोरोना संक्रमित शहरबाट नेपाली विद्यार्थी ल्याउँदासमेत समुदाय सशंकित बनेको थियो । शुरुका बेलामा कोरोनाबाट एक दुई जना संक्रमित हँुदा पनि कोरोनालाई हाउगुजी जस्तो बनाइयो । कोरोनाबाट मृत्यु हुनेहरुको शव व्यवस्थापनमा समेत चुनौति थपियो । समुदायले शव दाहसंस्कार गर्न नदिनेसम्मको अमानवीयता प्रदर्शन भयो । आजसम्म देशैभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक्काईस हजार नाघेको छ । पूर्ण रुपमा निको हुनेको संख्या १५ हजार एक सय ५६ छन् । मृत्यु हुनेको संख्या ६० पुगेको छ । संक्रमितको संख्या अहिले ह्वात्तै बढेको छ । दिनमै तीन सयभन्दा बढी संक्रमित देखिएका छन् । विश्व समुदाय नै कोरोना भाइरसबाट आक्रान्त बनेको छ । नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएपछि नियन्त्रण गर्न कठिन अवस्था आएको छ । कोरोना नियन्त्रणमा चुनौति थपिदैछ । कोरोनाका कारण अर्थतन्त्र धरासायी हुदैछ । यतिबेला नेपाल सरकारका अगाडी थुप्रै चुनौति छन् । कोरोना नियन्त्रण गर्दै नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउने र सत्ता जोगाउने नेपाल भारत सीमा विवाद सल्टाउने ।
कोरोना भाइरसबाट कम भन्दा कम क्षति हुन जोगाउन सरकारले चैतकै शुरुदेखि असार अन्तिमसम्म लकडाउन ग¥यो । यसबाट नेपालको अर्थतन्त्र त डामाडोल भयो नै तर एकैपटक ठूलो मानवीय क्षति हुनबाट जोगियो, मुलुक । लकडाउनले कोरोनाबारे समुदायस्तरमा सतर्कतासमेत बढ्यो । सरकारको क्षमता अनुसार त्यो रणनीतिले काम राम्रै ग¥यो । त्यतिबेला खुल्ला छोडेको भए समुदायस्तरमा सरेर भयाभह हुने अवस्था आउने थियो । यसै बिचमा सरकारले स्वास्थ्य सामाग्री, उपकरणहरु र औषधीहरुको खरिद गरेको छ । बिगतमा सरुवा रोगसम्बन्धी कुनै तयारी नभएको अहिले आफ्नो क्षमताले भ्याएसम्म तयारी व्यवस्थापनमा जुटेको छ । सरकारी अस्पतालहरुको स्तरोन्नति, सम्भव भए सम्म स्थानियतह र जिल्ला जिल्ला अस्पताल निमार्णमा बजेट बिनियोजन सघन उपचार कक्ष लगायतका ब्यवस्था गरिएको छ । कुनै जटिल अवस्थाको रोगको उपचार गर्न केन्द्रमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । सो सेवाहरु प्रदेश मै नागरिकहरुले पाउन थालेका छन् । अघिल्लो सरकारको पालामाभन्दा यसपटक स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ । लकडाउनको अवधिमा सरकारले राम्रै गृहकार्य गरेको हुँदा संक्रमण समुदायस्तरमा सर्न पाएको थिएन । बाहिरबाट आएका संक्रमितहरुको लाई क्वारेण्टिनमा राख्ने, पीसीआर टेस्ट गर्ने गरियो । संक्रमितहरुलाई आईसोलेसनमा राख्ने काम स्थानिय सरकारले आफ्नो ढुकुटीमा भएका श्रोतको प्रयोग गर्दै राहत बितरणको काम पनि ग¥यो । कतिपय संक्रमितलाई एम्बुलेन्स चालकले आइसोलेसन वार्डसम्म लैजान नमान्दा जनप्रतिनिधि÷वडाध्यक्ष समेतले मोटरसाइकलमा राखेर उपचार गर्न लगेको कुरा बिर्सन हँुदैन । कतिपय जनप्रतिनिधि संक्रमित भएका पनि छन् । यतिन्जेलसम्म तेस्रो मुलुक र भारतबाट आएकाहरु मात्रै संक्रमित थिए । साउन महिनादेखि लकडाउन खुलेको छ । यसबीचमा समुदायस्तरमा पनि कोरोना संक्रमण बढेको खवर आएको छ । वास्तवमा नेपाल र भारतको सीमानाका औपचारिक रुपमा बन्द छ । तर हाम्रो भारतसँगको खुल्ला सीमाका कारण लुकीछिपी ओहोरदोहोर भइरहेको छ । सीमा क्षेत्रमा बिहार, उत्तर प्रदेश र पश्चिम बंगालमा कोरोना संक्रमितहरु बढेकाबढ्यै छन् । जसले गर्दा नेपालको तराई क्षेत्रका शहरहरु कोरोना हटस्पट बन्दै गएका छन् । कोरोना नियन्त्रणका लागि सरकार एक्लैको प्रयासले सम्भव हुँदैन । सरकार नागरिक सबै राजनैतिक शक्तिहरुको साथ चाहिन्छ । के सत्ता पक्ष, के बिपक्ष यो महासंकटका बेलामा सरकारबिरुद्ध उचालेर केही गरेन भन्नुभन्दा रचनात्मक सल्लाह दिने र खवरदारी गर्ने काम गर्नुपर्छ । कोरोना नियन्त्रण गर्न, जनचेतना अभिवृद्धि गर्न सरकारसहित नागरिक सबैले अपनत्व लिँदै काम गर्नुपर्छ ।
यो महासंकटका बेला कोरोना नियन्त्रण गर्न सरकारले अझै राम्रो काम गर्न सक्थ्यो र सरकारको क्षमता पनि पर्याप्त नै थियो । तर, यो बीचमा सरकार स्वयंले ठूला ठूला संकटको सामना गर्नुप¥यो । ५६ वर्ष देखि भारतले मिच्दै आएको र नेपालको नक्सामा छुटेको भूभाग सहितको नक्सा प्रतिनिधि सभाबाट जारी गर्नेतर्फ सरकार लाग्नुप¥यो । लिपुलेक क्षेत्रका नाभी, कुटी र गुञ्जीका ३३५ बर्गकिलोमिटर भूभाग मिचेर चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको केही दिनपछि नेपालले सो नक्सा जारी गरेको थियो । आफूले सैनिक अखडा राखेको भूभागको नक्सा नेपालले आफ्नो हो भनेर यसरी जारी गर्छ भन्ने भारतले सोचेको पनि थिएन । नेपालले राष्ट्रियता जोगाउदा भारतलाई झड्का लाग्यो । यसपछि यो सरकारले नक्सा जारी गरेको निहँुमा पार्टी भित्रैका नेताहरु नै सरकारको नेतृत्व परिवर्तन गर्न कस्सिएका छन् । भाँडभैलो केही मत्थर भए पनि विवादको दीर्घकालीन समाधान भने हुन सकेको छैन । कोरोना महामारीमा सरकारलाई सहयोग गर्ने, पार्टी च्यानलबाट सरकारको राम्रो कामको प्रचार गर्नुपर्नेमा, सरकारले गर्न लागेको काममासमेत बाधा पु¥याउने कार्य नेतृत्वबाटै भएको छ । वास्तवमा कोरोना नियन्त्रणमा लागि विश्वका ठूला ,शक्तिशाली र स्वास्थ्य बिज्ञान, सेवामा अब्बल ठहरिएका मुलुकमा समेत कोरोना नियन्त्रण प्रभावकारी हुन सकिरहेको छैन । हाम्रै छिमेकी देश भारतमा भद्रगोल छ । भारतमा संक्रमितको संख्या २० लाख र मृत्यु हुनेको संख्या ४० हजार पुगिसक्यो । दिनमै एक हजारको हाराहारीमा मृत्यु हुने गरेको छ । संक्रमितमध्ये जटिल अवस्थाका बिरामीलाई समेत स्वास्थ्य सेवा पु¥याउन सकेको छैन । तर नेपालमा अहिलेसम्म कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गइसकेको अवस्था छैन । लकडाउन खुल्ला गरे पछि संख्या बढेको र समुदायस्तरमा समेत कोरोना पुगेको भनिएको छ । कोरोना नियन्त्रण गर्न राज्यलाई सबै क्षेत्रको सहयोगको खाँचो रहेको छ । कोराना संक्रमित बढ्दै गए पछिल्लो समय सरकारले नागरिकको स्वास्थ्यभन्दा ठूलो केही होइन भनेर जिल्ला र क्षेत्र विशेषमा लकडाउन र सिल्ड गर्न पनि सक्ने भनेको छ । सरकार पार्टी र नागरिक अगुवाहरुले कोरोना नियन्त्रण गर्न संवेदनशील अवस्थामा धैर्यधारण गर्नुपर्छ । एकातिर कोरोना नियन्त्रण भएन भन्ने र अर्कोतर्फ नियन्त्रण गर्न प्रभावकारी कार्यक्रमको विरोध गर्ने अवस्था आउनु हुँदैन । सरकार, पार्टी, सबै राजनीतिक दल र नागरिक समाज मिलेर नागरिकहरुमा जनचेतना काम गर्नुपर्छ । यो महामारीका बेला जोस र होसका साथ सबैले काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->