सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

किसान धाउने, केही नपाउने ?

किसान धाउने, केही नपाउने ?

बागलुङ नगरपालिकामा कृषि प्राबिधिक नहुँदा किसान हैरान


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७७, बिहिबार

बागलुङ, २२ साउन– बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा चालु वर्ष १० हजारसहित ३० हजार सुन्तलाको बिरुवा रोपिएका छन् । तीन वर्षदेखि हरेक बर्ष १० हजार बिरुवा रोपिएकोले केही वर्षमै उत्पादन दिनेछन् । धान, मकै र कोदो बाली मासेर किसानले रोपेका बिरुवामा सामान्य समस्या आएपनि हेरिदिने प्राविधिक भने कोही छैन ।
नगरपालिकामा कृषि शाखा रहने कानूनी प्रावधान छ । तर सदरमुकामकै नगरपालिकामा कृषि प्राविधिकसमेत छैनन् । दुइ वर्षअघिदेखि कृषि विकास कार्यालयकै भवनमा नगरपालिका सरेको छ । तर कृषिको प्राविधिक नराख्दा किसानहरु निराश छन् । तरकारी खेतीदेखि फलफूल र माछापालन समेत गर्नेले सामान्य सल्लाह सुझाव लिने ठाउँ पनि पाएका छैनन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका सुन्तला जोनमा समावेश छन् । तर, जोनको कार्यालय भने म्याग्दीमा छ ।
सिगानाजस्तै बागलुङका धेरै पालिकामा कृषिका धेरै प्रकारका फसल रोपिएका छन् । व्यवसायिक उत्पादन गर्न खोज्दा उनीहरुले प्राविधिक सल्लाहसमेत पाउन सकेका छैनन् । ताराखोला, जैमिनी र बरेङमा अलैची, बडिगाडमा किवी र गलकोटमा अदुवा लगाएका किसानले सामानय सेवा लिने ठाउँ नभेटेको गुनासो गरे । ताराखोलादेखि पश्चिम ढोरपाटनसम्मको भूगोल आलु जोनमा समावेश छ । त्यसको कार्यालय बडिगाडमा छ । तर किसानले सामान्य समस्या पर्दा सेवा नपाउने समस्याले हैरान भएको वडा नं. ८ का अध्यक्ष राजन जिसीले बताए ।
‘कृषिको विकास गर्ने हो भने कम्तिमा एक अधिकृतसहितको कृषि प्राविधिकहरु रहेको शाखा बनाउनु पर्छ’ उनले भने, ‘नगरपालिकाले अन्य क्षेत्रमा धेरै कर्मचारी करारमा राख्दा कृषिलाई कहिले पनि सम्झेन ।’ कार्यपालिकामा पटक पटक आवाज उठाएर पनि सुनुवाई नभएको उनले गुनासो गरे ।
जिसीको बारीमा पनि झण्डै २ सय सुन्तला छन् । सबै खेतीको माया मारेर लगाएको सुन्तलाबाट आम्दानी भैरहेपनि सामान्य समस्या पर्दा प्राविधिक नपाएर पर्वत पुग्नु परेको गुनासो गरे । ‘ज्ञान केन्द्रको कार्यालय खोज्दै पर्वत पुग्नुपर्छ, सामान्य समस्याको समाधान दिने अबस्था पनि किसानलाई दिन सकिएन’ उनले गुनासो गर्दै भने, ‘कृषिप्रधान देशमा कृषि कार्यालय हटाएर के गर्न खोजिएको हो बुझ्नै सकिन ।’
पात पहेलो भएर झरेपनि प्राविधिकले अर्को जिल्लाको कार्यालय धाउनु परेको उनले बताए । सिगानामा मात्रै झण्डै ४ हजार रुख सहितको व्यवसायिक सुन्तला उत्पादन भैरहेको थियो । अबको दुइ बर्षमा १५ हजार बिरुवामा सुन्तला फलाउने र चार वर्षमा ३० हजारमा फलाउने लक्ष राखिएको उनले बताए ।
नगरपालिकाले करारमा ५० बढी कर्मचारी राखिसकेको छ । लेखा, प्राविधिक, प्रशासन र स्वास्थ्य शाखामा समेत धेरै कर्मचारी भर्ना भैसकेका हुन् । तर कृषि शाखामा भने कर्मचारी नभएका हुन् । किसानले रोपेका बिरुवा ३० प्रतिशतसम्म मर्ने गरेको भन्दै रोप्ने बिधि सिकाउनेदेखि पानी र मलको मात्रा बारेपनि सिकाउने कोही नभेटेर निरासा बढेको जिसीको भनाई छ ।
बागलुुङको सिगाना र काठेखोलाको बिहुँका किसानले व्यवसायिक सुन्तला खेती गरिरहेका हुन् । सुन्तला बेचेर यी गाउँमा २ करोडको दरले रकम भित्रिन्छ । आगामी दिनमा १० करोडसम्म कमाउन सक्नेगरी तयारी भएको हो । किसानकै अगुवाईमा कमाईको तयारी भैरहेपनि नगरपालिकाको ध्यानाकर्षण गराउन संचारक्षेत्र सक्रिय बन्नुपर्ने जिसीले सुझाव दिए ।
नगरप्रमुख जनकराज पौडेलले भने मन्त्रालयले पठाउने भन्दै ढिलाइ गरेकोले नियुक्ती रोकिएको बताए । ‘फागुनमा आउने भनेका कर्मचारी आएनन्, कोभिडपछि झन् आउने संभावना ट¥यो’ पौडेलले भने, ‘बजेट व्यवस्थापन गरेर अब भने करारकै भएपनि राख्छौं ।’ समायोजनमा अधिकृत स्तरकै कर्मचारी आउने भनेकोले कुरेको उनले बताए ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले किसानको समस्या र गुनासो आएपछि तत्काल पुगेर सल्लाह दिएपनि नियमित जान नसकिएको बताए । ‘स्थानीय पालिकामा प्राविधिक भयोभने पहिलो चरणको सल्लाह र सेवा पाएपछि किसानको गुनासो कम हुन्छ’ रेग्मीले भने, ‘विशेषज्ञ सेवाका लागि ज्ञान केन्द्र पुग्ने वातावरण पालिकाले बनाउनु पर्छ ।’ बागलुङको गाउँ गाउँका किसानले सयौं खर्चेर पर्वतको ज्ञान केन्द्र धाउने भने गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->