पोखरा, २२ साउन – तनहुँ आँबुखैरेनी गाउँपालिकाका उच्च जिम्मेवारीमा रहेका एक कर्मचारीमा साउन १८ गते कोरोना पुष्टि भयो । त्यसपछि गाउँपालिकाले तीन दिन कार्यालय नै वन्द गर्यो र संक्रमित कर्मचारीका सम्पर्कमा रहेका २६ जनाको पीसीआर परीक्षण गर्यो । तीमध्ये एकै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी २१ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका ७, १४ र ८२ वर्षका पुरुष र एकजना ७२ वर्षीय महिला छन् । उनीहरु सबै संक्रमित कर्मचारीका परिवारका सदस्यहरु हुन् । पोखरा-८ मा बस्दै आएका ती कर्मचारीको ५ जना आफन्तको स्वाब परीक्षणका लागि दिइएकोमा एकजनाको रिपोर्ट भने नेगेटिभ आएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले वताए ।
यी सहित गण्डकीमा बिहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ब्यास नगरपालिका ४ बस्ने २७ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको छ । पर्वत मशाशिला गाउँपालिका-४ का ४० वर्षीय एक पुरुष, गोरखामा पालुङटार-८ का ३९ वर्षीय एक महिला र स्याङजा फेदीखोलाका २ जना पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म १ हजार ५ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




