बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गर्मी याममा छालाको हेरचाह र सुन्दरताको रहस्य

गर्मी याममा छालाको हेरचाह र सुन्दरताको रहस्य


  • कृष्ण कुमार सैजु
  • साउन २३ २०७७, शुक्रबार

सुन्दरता गहना हो, जुन मानिसको हरेक क्रियकलापसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिधा सम्बन्ध राख्दछ । त्यसैले सधैं सुन्दर हुन मन कस्लाई हुदैन र ? सधैं सुन्दरता पाईराख्न केवल चाहना मात्र भएर हुँदैन आफु जाँगरिलो पनि हुनपर्छ । सामन्यतया आफ्नो सुनदरता र निखारतालाई कायमै राख्नको लागि मेहनत गर्नैपर्छ ।
प्राय ः अरु समयभन्दा गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने हुन्छ । घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । धेरैलाई गर्मी मौसममा छालामा बढी चिल्लोपनाको समस्या हुन्छ । गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ ।
गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ । यसका साथै सन प्रोटेक्सन क्रिम पनि गर्मीमा छाला स्याहारको प्रमुख औषधी हो । त्यसकारण हरेक दिन ४ पटक प्रयोग गर्नुपर्छ । किनभने त्यो क्रिमले ३ घण्टाभन्दा बढि काम गर्दैन । बजारमा विभिन्न प्रकारको सन प्रोटेक्सन क्रिम उपलब्ध हुन्छन् । तर गुणस्तरीय उत्पादन मात्र प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गर्नुभन्दा पहिले छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ । कामकाजी महिलाहरुले भने विशेष ध्यान दिनुपर्छ । दिनभरी धुँवा धुलोमा निस्किनु पर्ने हुँदा हरेक दिन सुत्नुअघि सफा पानीले मुख धोएर नाइट क्रिम र बडी लोसन लगाउनुपर्छ ।
छालाको स्याहार गर्दा गुण, अवस्था र प्रकार अनुसार गर्नुपर्ने हुन्छ । मानव शरीरको विशेष गरेर ओइली, ड्राई र नर्मल गरेर तीन प्रकारका छाला हुन्छन् । मौसम अनुसार छालाको गुण हेरेर स्याहार गर्नुपर्छ ।
ड्राइ स्किनको हेरचाह
गर्मीमा शरीरमा पानीको कमी हुन सक्छ । यसले गर्दा विभिन्न समस्या देखिन सक्छ । जसको लागि भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु फलदायी हुन्छ । हाम्रै भान्सामा भएका सामग्रीको प्रयोग गरेर छालाको स्याहार गर्न सकिन्छ । ड्राइ छाला भएकाले कागती, टमाटर र घ्युकुमारीको पेस्ट बनाएर लगाएमा अनुहारमा चमक आउँछ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । तर प्रशस्त पानी पिउनु नै छालाको स्याहारको प्रमुख औषधी हो ।
चिल्लो छालाको हेरचाह
चिल्लो छाला भएकाहरूलाई गर्मीमा पिम्पलको समस्या देखिन सक्छ । चिल्लोपन हटाउनको लागि छालाको लागि मोइस्चराइजर नै औषधी हो । यसका साथै घरमै भएका कागती, टमाटर, एलोबेरा, दहीको पेस्ट बनाएर लगाउन सकिन्छ । कागती र दही मिक्स प्याक बनाएर हप्तामा एकपटक अनुहारमा लगाउन सकिन्छ । जसले चिल्लोपना कम गर्छ ।
नर्मल स्किनको हेरचाह
नर्मल स्किन हुनेहरुले अनुहारको चमकमा विशेष ध्यान दिनुपर्छ । समय समयमा मोस्चराइजर प्रयोग गर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । साबुन पानीले मुख धुनु राम्रो मानिदैन । यसले छालालाई फुस्रो बनाउँछ । तर दैनिक दुई पटक सफा पानीले भने मुख धुनुपर्छ । तातोपानीको बाफ लिनु राम्रो मानिन्छ । यसले छालाभित्र रहेका फोहोरलाई बाहिर निकाल्छ । स्वच्छ हावाभित्र पु¥याउने काम गर्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खानु, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउनु नै राम्रो हुन्छ ।
कस्तो सन स्क्रिन क्रिम को छनौट गर्ने ?
गर्मी याम सुरु हुनासाथ छालाको स्वास्थ्य वा अनुहारको सुन्दरताप्रति संवेदनशील र सचेत ब्यक्तिहरू उपयुक्त सन स्क्रिनको खोजीमा लाग्न थाल्छन् । सबै प्रकारका छालाको लागि उपयुक्त कस्मेटिक्स नै सन स्क्रिन क्रिम हो । तर त्यस्ता अधिकांश व्यक्तिलाई सनस्क्रिनको कार्य–प्रणाली, संरचना, बेफाइदा, उपयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानाकारी हुँदैन । ‘सहरीक्षेत्रमा मात्र नभई अचेल ग्रामीण क्षेत्रमा सन स्क्रिन लगाउने चलन बढेपनि अधिकांशलाई यसबारे ज्ञान छैन । अधिकांस प्रयोगकर्ताहरू टेलिभिजन तथा पत्र–पत्रिकाको विज्ञापनमा गरिएको दाबीलाई सही ठानेर यसको उपयोग गर्ने गर्छन् ।
नियमित रूपमा उपयुक्त सन स्क्रिन लगाउँदा सूर्यको प्रकाशको नकारात्मक प्रभावबाट छालामा देखिने खराब परिवर्तन, चाउरीलगायत बुढयौलीको समस्यालाई कम गर्न सहयोग मिल्छ । छालालाई सूर्यको हानिकारक परावैजनी विकिरणबाट जोगाउन सन स्क्रिन फाइदाजनक हुन्छ । उसो त, विश्वश्वब्यापी रूपमा सन स्क्रिनमा बढी जोड दिइएपनि हाम्रो मुलुकमा पश्चिमीमुलुकहरूको दाँजोमा यसको त्यति आवश्यकता छैन ।
हालको वायुमण्डलीय प्रदूषणले ओजोन तह पातलो भइसकेका मुलुकहरूमा सूर्यको खतरनाक परावैजनी किरणको जोखिम बढी हुने गर्छ । सँगै मुलुकको उच्च पहाडी र हिमाली भेगमा जाँदा सनस्क्रिनको उपयोगले छालामा कडा सूर्यको प्रकाशले देखिने समस्याबाट जोगिन सकिन्छ । यसैले हाम्रो मुलुकमा सामान्य व्यक्तिले कम मात्रामा सन स्क्रिनको प्रयोग गर्नु उपयुक्त हुन्छ । उसो त सूर्यको प्रकाशप्रति बढी संवेदनशील वा एलर्जी भएकाहरूको लागि भने सनस्क्रिनको निरन्तर प्रयोग आवश्यक मानिन्छ । सन स्क्रिनमा पैसा खर्चेर मात्र छालाको सुरक्षा हुन्छ भन्ने छैन । मध्यान्न घाममा निस्किँदा छाता ओढ्नु पनि सन स्क्रिनको राम्रो विकल्प हुन सक्छ । यसले पनि घाममा हुने खतरनाक किरणबाट जोगाउन सक्छ । यस्तै, चर्कोघाममा हिँड्दा सुतीको सलले मुख छोप्नुसमेत सन स्क्रिनको राम्रो विकल्प हुन्छ । यसो गर्दा परावैजनी किरणसँगै तातो हावाले छालामा पार्ने दुष्प्रभावलाई कम गर्छ । उपयुक्त सन ग्लास र गगल्सले समेत आँखा र छेउछाउको भागमा घामले पार्ने नकारात्मक असरबाट जोगाउँछ । अमेरिकन एकेडमी अफ डर्मेटोलजीका अनुसार, सूर्यको प्रकाशमा हुने परावैजनीकिरण ‘ए’ लामो समयसम्म हाम्रो छालामा पर्दा फोटो एजिङ र क्यान्सरसँग सम्बद्घ छ ।
सन स्क्रिनका प्रकार
सन स्क्रिन फिजिकल सन ब्लक र केमिकल सन ब्लक गरी दुई प्रकारका हुन्छन् । फिजिकल सन ब्लकमा म्याग्नेसियम अक्साइड, टाइटेनियम डाइक्साइड, म्याग्नेसियम सिलिकेट, आइरन अक्साइड, जिंक अक्साइड, रेड भेटनरी पेट्रोलियम र काओलिन आदि मिसाइएको हुन्छ । यसमा अपारदर्शी तत्वको कणहरू हुन्छ जसले छरिएका प्रकाशलाई परावर्तित गर्छ । सूर्यको प्रकाशप्रति भौतिक अवरोध उत्पन्न गर्ने भएकोले यसलाई अवरोधक क्रिमसमेत भनिन्छ । यसलाई बजारमा सन ब्लक क्रिम भनेर चिनिन्छ । यसको फाइदा के होभने, यसले परावैजनी किरण ‘ए’ र ‘बी’, देखिने किरण र अवरक्त (इन्फ्रारेड) किरणलगायत सबैजसो किरणलाई रोक्छ । सनस्क्रिन लगाउँदा रियाक्सन हुने इतिहास बोकेका र संवेदनशील छाला भएका व्यक्तिहरूको लागि समेत फिजिकल सन ब्लक उपयोगी हुन्छ । तर यो कस्मेटिक्सको दृष्टिकोणले अनाकर्षक हुन सक्छ किनकी यसमा अव्यवस्थित किसिमको प्राकृतिक रंग हुन्छ । फिजिकलसन ब्लक छालासम्बन्धी अनेक रोगमा समेत उपयोग गरिन्छ । केमिकल सन ब्लकमा डाइभेन्जोइल मिथेन, पारसोल, एमिनो वेन्जोयट्ससिनामेट्स, सलिसिलेट्स, क्याम्फर डिरेभेटिभ्स हुन्छ । यीमध्ये डाइभेन्जोइल मिथेन र पारसोलले मात्र परावैजनी किरण ‘ए’ लाई अवशोषित गर्न सक्छन् । अरूले परावैजनी किरण ‘बी’ लाई अवशोषण गर्छन् । केमिकल सन ब्लक गन्ध र रंगहीन हुन्छ । त्यसैले यसलाई बढी कस्मेटिक मानिन्छ । तर यो धेरै प्रकारको सम्पर्कले हुने छाला रोगसँग सम्बद्घ छ । यसैलेर ासायनिक सन ब्लक दुई वर्षमुनिका बालबालिकामा उपयोग गर्नु हुँदैन । सन स्क्रिनको प्रभाव छालामा त्यो रहुन्जेलसम्म मात्र रहन्छ । त्यसैले सन स्क्रिन घरबाहिर निस्कनुभन्दा कम्तीमा आधा घन्टा पहिले लगाउनुपर्छ । अनुहार धोएपछि वा धेरै बढी पसिना निस्केपछि सनस्क्रिनको प्रभाव घट्दै जान्छ ।
क्रिम लोसन वा जेल
सुक्खा छाला भएकाहरूले क्रिम वा लोसनका रूपमा रहेको सन स्क्रिन उपयोग गर्नुपर्छ । चिल्लो छाला भएकाहरूले जेलका रूपमा रहेको सन स्क्रिन लगाउनु फाइदाजनक हुन्छ । तर जेलको रूपमा भएको सन स्क्रिन पानीमा आधारित भएकोले तुरुन्त पसिनाले पखालिने समस्यासमेत देखिन सक्छ ।
के हो एसपीएफ ?
सन स्क्रिनमा उल्लेख भएको एसपीएफ सूर्यको किरणबाट बचाउको क्षमता बुझाउने मानक शब्द हो । कुन सनस्क्रिनले कुन स्तरसम्म बचाउ गर्छ भन्ने कुरा यसले बताउँछ । त्यसैले सन स्क्रिन क्रिम वा लोसनछान्दा त्यसमा एसपीएफ लेखिएको छ कि छैन भनेर ख्याल गर्नुपर्छ । एसपीएफ छालामा दुई मिलिग्राम प्रतिवर्ग सेन्टिमिटर सन स्क्रिन लगाएपछि छालामा बिमिरा लगायतका रियाक्सन उत्पन्न गर्न आवश्यक परावैजनी किरण ‘बी’को अनुपात हो । एसपीएफ १० को अर्थ यदि कुनै व्यक्तिलाई सूर्यको प्रकाशमा रहँदा १० मिनेटपछि छालामा बिमिरालगायतका समस्या देखिन्छ भने यही समस्या सूर्यको प्रकाशमा रहँदा सन स्क्रिन लगाएको ५०मिनेटपछि मात्र हुने गर्छ ।
सूर्यको प्रकाशबाट पर्याप्त सुरक्षाका लागि एसपीएफ १५ वा योभन्दा बढीको सन स्क्रिन उपयुक्त हुन्छ । तर यो पश्चिमाहरूको गोरो छालाका लागि बढी उपयुक्त हुन्छ । हामी नेपालीको छालाको रंग गहुँ गोरो वा कालो हुने भएकाले हाम्रा लागि एसपीएफ ६ मा उपयुक्त हुन्छ । सन स्क्रिन र सन ब्लकले सूर्य किरणको हानिकारक प्रभावबाट हाम्रो छालालाई जोगाउँछन् । परावैजनी किरणका दुई प्रकार (ए र बी) मध्ये ए बढी खतरनाक हुन्छ । यसले छालामा दीर्घकालीन हिसाबको नकारात्मक प्रभाव पार्ने गर्छ । यस्तै, परावैजनी किरण बी छालामा घामले गर्दा हुने डढाइ र फोटोएजिङका लागि जिम्मेवार मानिन्छ । सन स्क्रिनले परावैजनी किरण बीलाई धेरै कम छान्छ भने सन ब्लकमा हुने जिंक अक्साइडले गर्दा यसले परावैजनी किरण ए र बी दुवैबाट बचाउ गर्छ ।
घरभित्र पनि सन स्क्रिन
हामी प्राय ः घाममा निस्कन लाग्दा मात्र सन स्क्रिन लगाउँछौं । परावर्तित सूर्यको प्रकार र कृत्रिम प्रकाश समेतमा विकिरण हुने भएकाले घरमा रहेका बेला समेत सन स्क्रिन लगाउनु फाइदाजनक हुन्छ ।
सन स्क्रिन कसरी छान्ने ?
एएडीका अनुसार, मेलोनोमालगायत छालाको क्यान्सरसंग जुध्ने महत्वपूर्ण औजार हो सन स्क्रिन । प्रत्येक पाँचमा एक अमेरिकीलाई छालाको क्यान्सर विकसित हुने गरेको छ । नेपालीहरूमा यो क्यान्सर पश्चिमाको दाँजोमा निकै कम त छ, तर यसको विस्तारबारे खासै अध्ययन भएको भने छैन । एएडीले उपभोक्तालाई बोर्ड स्प्रेक्टम सन स्क्रिन लगाउन प्रस्तावित गर्छ । यसको अर्थ के होभने, बोर्ड स्प्रेक्टम सन स्क्रिनले परावैजनी किरण ए र परावैजनी किरण बी बाट जोगाउँछ । यी परावैजनी किरणले क्यान्सर उत्पन्न गर्न सक्छ ।
अनुहारको छालाको चमक बढाउन केही प्राकृतिक तथा घरेलु विधि
सौन्दर्य परमात्माको स्वरूप हो । सधैं केही श्रम तथा व्यायम गरिरहनु नै सौन्दर्य प्राप्तिको राम्रो उपाय हो । यसो भन्दैमा जतिबेला पनि बजारमा पाइने कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्नु हुँदैन । अनुहारको छालाको चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ एवं कान्तिमय बनाउन दिनहुँ पाँच मिनेट समय दिनुपर्छ ।
भिटामिन इ क्याप्सुल
यसले चाउरीपनालाई टाढा राख्न सहयोग गर्दछ । तीनवटा भिटामिन इ क्याप्सुललाई एउटा कचौरामा हाल्नुहोस् र त्यसमा दुई चम्चा दही, आधा चम्चा मह र आधा चम्चा कागतीको रस मिसाउनुहोस् । राम्रोसँग फिटेर यो प्याकलाई अनुहारमा लगाउनुहोस् र १० मिनेटसम्म छोड्नुहोस् । त्यसपछि फेसलाई हल्का मसाज गरेर पानीले धुनुहोस् ।
मुसुरोको दाल ः मुसुरोको दाललाई मोटो धूलो बनाई डब्बामा राख्ने, यही मुसुरोको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ ।
काँक्रा ः चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।
गोलभेंडा ः अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छभने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।
बेसार ः काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।
आलु ः आँखा वरिपरि कालो घेरा छभने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।
मह ः महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छभने सधैं राती दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।
अण्डा ः अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ । छाला सुख्खा छभने अण्डाको पहेंलो भागलाई साताको दुईपटक अनुहारमा लगाउने । छाला चिल्लो छभने अण्डाको सेतो भाग लगाउने । सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो हुन्छ ।
मेवा ः मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । मेवाको लेप केही महिना लगाउने होभने छालाको दाग हराउँछ ।
कागती ः छाला सुख्खा छभने कागतीको रसमा थोरै तर मिसाईअनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।
दही ः दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ । छाला चिल्लो छभने दुई चम्चा दहीमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।
केरा ः सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना नियमित गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।
तुलसीको पात ः तुलसीका पातलाई कागतीको रसमा मिसाएर पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरी समाप्त हुन्छ ।
बदाम ः बेलुका आधा कप दूधमा दुई–तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने । यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । यसबाट छाला मुलायम, चम्किलो देखिन्छ भने छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।
चना ः चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धुनुपर्छ । यो उपाय अपनाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ ।
जौ ः जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०–१५ मिनेटपछि सफा गर्दा चायाँपोतो हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।
पानी ः पानी एक सर्वगुण सम्पन्न तरल पदार्थ हो । पानीलाई निश्चित मात्रामा उचित समयमा पिउनाले पनि अनुहारको निखारपन बढाउँछ । दिनमा कम्तीमा पनि १२–१३ गिलास पानी पिउनु राम्रो हुन्छ ।
साथै, अनिद्रा र तनावबाट पनि टढै रहन उपयुक्त हुन्छ । माथि उल्लेखित विधिहरू सबै प्राकृतिक भएकोले कुनै एक विधिलाई न्युनतम २१ दिनसम्म निरन्तर प्रयोग गेर्नुहोला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->